अर्थपूर्ण जीवन

हामी मानिसको आयु परमेश्वरले तोकिदिनुहुन्छ। हामी कति उमेरसम्म बाच्नेछौं कसैलाई थाहा छैन। साथै हामी कति लामो समय बाँच्दछौं भन्दा पनि हाम्रो जीवन कतिको अर्थपूर्ण भएको छ त्यो महत्वपूर्ण हुँदछ। किनभने एक व्यक्ति सयौं वर्ष बाँच्ला तर अर्थहीन जीवन जिउँछ भने के फाइदा भयो र? बरू छोटो जीवन तर अर्थपूर्ण जीवन यहि नै बढि मूल्यवान होइन र? अनि हामी हरेक मानिसको जीवन येशू ख्रीष्टमा नै अर्थपूर्ण हुँदछ। साँच्चै अकिनाको जीवन यस्तै प्रकारको जीवन थियो – छोटो तर अर्थपूर्ण!
अकिनाले यस पृथ्वीमा १३ वसन्तहरू मात्रै पार गरीन् तर उनले त्यस अवधिमा ख्रीष्टको लागि कति योगदान दिइन् त्यसको महत्व अपार छ। उनले कति समय यस पृथ्वीमा जिइन् त्यस कुराले उनको जीवनको सार्थकतालाई परिभाषित गर्दैन तर उनले ख्रीष्टको लागि प्रवाह गरेकी साक्षीले उनको जीवनको सार्थकता मात्रै होइन, तर सामर्थ्यको पनि वयान गर्दछ।
जीवनको अन्ततिर अकिना क्यान्सर रोगद्वारा शिथिल पारिएकी थिइन्। उनको पीडाको सम्झना अझै तीतो हुन्छ। तर शरीरमा शिथिल अनि आत्मामा सामर्थी – अकिनाको यो अवस्था नै विजय होइन र? क्यान्सरले ल्याएको दुर्बलताले उनको जीवन परिभाषित हुँदैन तर येशू ख्रीष्ट प्रतिको उनको प्रेमले उनको सामर्थी जीवनको साक्षी दिँदछ। अकिनाको जीवनको सामर्थ्य र प्रभाव अद्भूत थियो। क्यान्सर जस्तो रोगले ल्याउने हर प्रकारका अनिश्चयताहरूबीच येशूमा उनको अडिग निश्चयता थियो।
हामी कति वर्ष बाँच्नुपर्छ होला? कति वर्ष बाँच्नु चाहिँ पर्याप्त हुन्छ होला? हामी सामान्य रूपमा १०० वर्षलाई आयु नाप्ने आधार सोच्ने गर्छौं तर के यो जाहेज हो? १०० वर्षको छेउछाउ नपुगी मृत्यु भएमा “अकाल”मा मृत्यु भन्ने गरिन्छ। यो गलत छ! परमेश्वरमा कुनै पनि मृत्यु “अकाल” हुँदैन। एउटा भंगेरा पनि उहाँको इच्छा विपरित मर्दैन, अर्थात् एउटा भंगेराको समेत “अकाल”मा मृत्यु हुँदैन। हामी हरेकको जीवनमा परमेश्वरको महान योजना हुँदछ, त्यसमा हाम्रो आयुको अवधि पनि पर्दछ। अकिनाको मृत्यु “अकाल”मा भएको थिएन तर जसरी उनको जीवन परमेश्वरको इच्छामा थियो त्यसरी नै मृत्यु पनि।
अकिनाको जीवनद्वारा काठमाडौं बप्तिष्ट मण्डली ‘एवेनेजर’ परिवार ठूलो रूपमा प्रभावित भएको हो। अरू धेरै मानिसहरू पनि जो उनको जीवन नजिक आए सबै ख्रीष्टतर्फ प्रभावित भएकै हुन्। म निश्चित छु, अकिनाको जीवन-गीत लामो समय गुन्जिरहनेछ। उनको सानै उमेरदेखिको ख्रीष्टप्रतिको प्रेम र जोशको कथा सुन्न र सुनाउनमा सधैं मीठास हुनेछ्। उनले ख्रीष्टको लागि गरेकी सेवाको लेखाजोखा अनन्ततामा एकदिन अवश्य प्रष्ट पारिनेछ।
एक धर्मी जनको सम्झना कति सुन्दर, अकिनाको साक्षी कति सामर्थी, अनि त्यो स्वर्गीय पुनर्मिलन कति भव्य…
प्रभुको साथमा सदाको लागि रहन गएकी अकिनाको जीवनबाट आज हामी सबैले एउटा महत्वपूर्ण पाठ सिक्न सक्छौं – लामो तर अर्थहीन जीवनभन्दा छोटो तर अर्थपूर्ण जीवन नै विजय र आशिषको जीवन हो!