अय्यूब १:६ मा शैतान परमेश्वरको सामु हाजिर भएको घटना उल्लेख गरिएको छ। के साँच्चै शैतान स्वर्गमा परमेश्वरको सामु जान सक्छ? के शैतान स्वर्गबाट फालिएको होइन र? २ इतिहास १८:१८-२२ को खण्ड पढ्दा पनि शैतान परमेश्वरको सामु हाजिर भएको संकेत मिल्दछ। यो कसरी सम्भव होला? शैतान त दुष्टता र पापको पिता हो तर परमेश्वर त पवित्र पवित्र पवित्र हुनुहुन्छ। शैतान कसरी परमेश्वरको सामु स्वर्गमा जान सक्छ?
यो साँच्चै
जाहेज प्रश्न हो। हामीले बाइबलका यस्ता बुझ्न अफ्ठ्यारा प्रश्नहरूको सधैं
बाइबलमा प्रष्ट रूपमा प्रकट भएका सत्यताहरूको आधारमा मात्रै बुझाइ राख्नुपर्दछ।
वचन बाहिरको विचार या कल्पनालाई ठाऊँ दिनुहुँदैन। शैतान परमेश्वरको सामु जाने
विषय साह्रै चाखलाग्दो विषय हो। यस विषयमा हामीलाई प्रष्ट रूपमा बाइबलमा धेरै
कुराहरू प्रकट गरिएको छैन। तर हामी यति जान्दछौं कि २ इतिहास १८ मा र अय्यूब १ को
खण्डमा प्रष्टसँग शैतान परमेश्वरको सामु उभिएको उल्लेख गरिएको छ। अझ प्रकाश १२:७-१०
को खण्डले यस विषयलाई थप प्रकट गरेको छ। प्रकाश १२:८ मा लेखिएको छ, “…न ता स्वर्गमा अब
उसो तिनीहरूको ठाउँ नै पाइयो।” साथै प्रकाश १२:१० मा लेखिएको छ, “…जसले दिनरात
हाम्रा परमेश्वरको सामु उनीहरूलाई दोष लगाउँथ्यो।” यो साह्रै चाखलाग्दो
विषय हो! तर यी खण्डहरूबाट बुझिन्छ कि शैतानलाई अहिले पनि केहि सिमीत प्रवेश
दिइएको छ र एकदिन सदाको लागि शैतान र उनका दूतहरूलाई स्वर्गमा प्रवेश बन्द गरिनेछ।
किन? कसरी? यी प्रश्नहरूको जवाफ सायद हामी अनन्ततामा मात्रै पाउनेछौ। याद गरौं “गुप्त
कुराहरू परमप्रभु हाम्रा परमेश्वरका हुन्…” व्यवस्था २९:२९।