“ख्रीष्ट जस्तै हुनु”
येशू करिब २,००० वर्ष अघि यस संसारमा मानिस बनी आउनुभयो। उहाँको पृथ्वीको जीवनबाट हामी धेरै सत्यताहरू सिक्न सक्छौं।
- येशू ख्रीष्ट नै हाम्रो उदाहरण हुनुहुन्छ।
येशू ख्रीष्ट हामी सबैको लागि उदाहरण हुनुहुन्छ। उहाँको जस्तो प्रभावशाली र नमुना जीवन अरू कसैको थिएन। “जसरी उहाँ हिँड्नुहुन्थ्यो, उसरी हिँड्नुपर्छ” (१ यूहन्ना २:६)। हामी विश्वासीहरूले उहाँका पाइलाहरू पछ्याउनुपर्छ (१ पत्रुस १:२१)। हामी परमेश्वरका देखासिकी गर्नेहरू हुनपर्छ (एफेसी ५:१)। येशू ख्रीष्ट नै परमेश्वर हुनुहुन्छ। हामीहरूले ख्रीष्टको देखासिकी गर्नुपर्छ (१ कोरिन्थी ११:१)। हामी ख्रीष्ट जस्तै हुँदै जानुपर्छ। ख्रीष्टको परिपूर्णतारूपी कदको नापसम्म बढ्दै जानुपर्छ (एफेसी ४:१३-१६)।
हाम्रो लक्ष्य ख्रीष्ट जस्तै हुनु हो। हाम्रो विचार, बोलि, र व्यवहार – सबैमा हामी येशू जस्तै हुँदै जानुपर्छ। दिन प्रतिदिन हामी ख्रीष्ट जस्तै हुँदै जानुपर्छ। यो नै हाम्रो ख्रीष्टियन जीवनको उद्देश्य हो, र हामी हरेकलाई ठूलो अवसर हो। हाम्रो जीवनलाई हेर्दा मानिसहरूले ख्रीष्ट देख्नुपर्दछ। के मानिसहरूले तपाईको जीवनबाट ख्रीष्ट देखी रहेकाछन्? के तपाई येशू ख्रीष्टको उदाहरण पछ्याउँदै हुनुहुन्छ? के तपाई येशू ख्रीष्ट जस्तै बनिँदै जाँदै हुनुहुन्छ?
- येशू ख्रीष्टलाई हेर्दै हामी उहाँ जस्तै हुँदै जानुपर्छ।
हामी कसरी येशू ख्रीष्ट जस्तै बनिँदै जान सक्छौं? जसरी हामी जसलाई धेरै हेर्छौं, जसको धेरै संगत गर्छौं, ऊ जस्तै हुँदै जान्छौं। त्यसरी नै जति हामी येशूलाई हेर्दै जान्छौं, त्यति नै हामी उहाँ जस्तै बनिँदै जान्छौं। येशूलाई हेर्दै हेर्दै हामी एक महिमादेखि अर्को महिमामा बदलिँदै जान्छौं (२ कोरिन्थी ३:१८)।
ख्रीष्ट जस्तै हुँदै जानु साँचो विश्वासीको एक चिन्ह हो। नयाँ गरी जन्मिएको ख्रीष्टियन दिनहुँ ख्रीष्टलाई हेर्दै, उहाँको संगतिमा, उहाँ जस्तै हुँदै जाँदछ। यहि हो ख्रीष्टियन उन्नति, ख्रीष्टियन वृद्धि।
- येशू ख्रीष्टलाई परमेश्वरको वचन बाइबलमा हेर्नुपर्छ।
हामी कसरी येशूलाई हेर्न सक्छौं? बाइबलले येशू ख्रीष्टलाई देखाउँछ। परमेश्वरको वचनले येशू ख्रीष्टको विषयमा बताउँछ (यूहन्ना ५:३१-४७; लूका २४:२७; २४:४४)।
विशेष गरी बाइबलका चार पुस्तकहरू – मत्ती, मर्कूस्, लूका, र यूहन्नाले येशू ख्रीष्टको जीवनीको वृतान्त दिँदछन्। यी चार पुस्तकहरूलाई सुसमचारका पुस्तकहरू भनिन्छन्। सुसमचार भन्नाले खुशीको खबर भन्ने बुझिन्छ। साँच्चै येशू ख्रीष्टको जीवनी – उहाँको जन्म, मृत्यु, गडाइ र बौरिउठाइ सबै मानिसको लागि खुशीको कुरा हो।
यी चार पुस्तकहरूले एक व्यक्ति – येशू ख्रीष्टको विषयमा लेखेका छन् तर फरक फरक दुष्टिकोणमा। मत्तीले मूख्य रूपमा यहूदीहरूलाई निशाना बनाई लेखेको देखिन्छ। उनले येशूलाई राजाको रूपमा प्रस्तुत गरेको देखिन्छ। साँच्चै येशू राजाहरूका राजा हुनुहुन्छ। तर यहूदीहरूले सोचे जस्तै उहाँ पहिलो पटक आउँदा संसारलाई राज्य गर्न आउनुभएन। मसिह बारेका सबै भविष्यवाणीहरू येशूमा पूरा भए।
त्यसैगरी मर्कूसले मूख्य रूपमा रोमीहरूलाई निशाना बनाई लेखेको देखिन्छ। उनले येशूलाई एक दासको रूपमा प्रस्तुत गरेको देखिन्छ। साँच्चै येशू सेवा गरिन होइन तर सेवा गर्न आउनुभयो।
लूकाले मूख्य रूपमा ग्रीकहरूलाई निशाना बनाई लेखेको देखिन्छ। उनले येशूलाई एक मानिसको रूपमा प्रस्तुत गरेको देखिन्छ। साँच्चै येशू सबै मानिसहरूको पापको लागि बलि हुनलाई परमेश्वर भएर पनि मानिस बन्नुभयो। उहाँ १००% परमेश्वर र १००% मानिस बन्नुभयो।
यूहन्नाले भने सारा संसारका मानिसहरूलाई मध्य नजर राख्दै लेखेको देखिन्छ। उनले येशूलाई परमेश्वरको रूपमा प्रस्तुत गरेको देखिन्छ। साँच्चै येशू परमेश्वर नै हुनुहुन्छ।
येशू ख्रीष्टको विषयमा पवित्र आत्माले बाइबलमा प्रकट गर्नुभएका सत्यताहरूलाई पढेर, हामी येशू ख्रीष्टलाई हेर्छौं। अनि उहाँलाई हेर्दै हाम्रो दौड पूरा गर्छौं (हिब्रू १२:१,२)।
के हामी दिनहुँ परमेश्वरको वचनबाट येशूलाई हेरिरहेका छौं? के हामी उहाँ जस्तै बनिँदै गईरहेका छौं?