जकरिया ११ः७ मा परमप्रभुले भन्नुभयो, “…अनि मैले आफूकहाँ दुईटा लौरा लिएँ; एउटालाई मैले ‘सुन्दरता’ नाम राखें, अर्काको नाम ‘बन्धनहरू’ राखें, अनि मैले बगाललाई चराएँ।” इस्राएलीहरूको गोठाला परमेश्वर हुनुहुन्थ्यो। उहाँले उनीहरूलाई ‘सुन्दरता’ र ‘बन्धनहरू’ (अर्थात् एकता) मा डोर्याउन चाहानुहुन्थ्यो तर इस्राएलीहरूले उहाँको गोठालोपन या अगुवाइलाई इन्कार गरे। फलस्वरूप परमेश्वरले उनीहरूलाई गोठाला गर्न छोड्ने चेतावनी दिनुभयो। जकरिया ११ अध्यायमा प्रष्ट पारिएको छ कि ‘सुन्दरता’ र ‘बन्धनहरू’को लौरा भाँचिनेछन्। परमेश्वरको सट्टामा एक मूर्ख गोठाला उठाइनेछ जसले उनीहरूको भलाइ होइन तर हानि गर्नेछ। यस खण्डमा हामी दुई गोठालाहरू देख्दछौं – परमेश्वर (असल गोठाला) र मूर्ख गोठाला।
हाम्रो गोठालो को हो? हामी सबै जनालाई गोठाला आवश्यक छ। हामी या त परमेश्वरद्वारा गोठाला गरिएका छौं या त संसार, शरीर, शैतानद्वारा। परमेश्वर मात्रै असल गोठाला हुनुहुन्छ। उहाँले नै ‘सुन्दरता’ र ‘एकता’मा डोर्याउनुहुन्छ। परमेश्वरले हाम्रो जीवनलाई सहि रूपमा अगुवाइ गर्नुहुन्छ। यी दुई लौराहरू चित्रण थिए। के हामी सुन्दरता (आशिष, अनुग्रह) र एकता (मेलमिलाप, सहौर्दयता) मा अघि बढ्न चाहान्छौं? यो परमेश्वरको अगुवाइभित्र मात्रै सम्भव हुँदछ। जसरी इस्राएलीहरूले परमेश्वरको अगुवाइलाई इन्कार गरे उनीहरूमा सुन्दरता र एकता पाइएन। इस्राएल राज्य विभाजित भयो र अन्तत कैदमा लगियो।
आज हाम्रो गोठालो को हुनुहुन्छ? हामी कोद्वारा या केद्वारा गोठाला गरिएका छौं? के हामी परमेश्वरको अगुवालाई पछ्याइरहेका छौं? आज संसारमा किन सुन्दरता छैन? किन एकता, मेलमिलाप, शान्ति छैन? के हाम्रो गोठालो परमप्रभु हुनुहुन्छ? उहाँले मात्रै हामीलाई सुन्दरता र बन्धनहरू (एकता, मेलमिलाप) मा डोर्याउनुहुन्छ।
Post Comment