प्रभावशाली बाइबलीय चर्च
प्रेरित ११:२६ मा लेखिएको छ, “…अनि चेलाहरू सबैभन्दा पहिले एन्टिओकमै ‘ख्रीष्टियान’ भनिए।” ख्रीष्टका चेलाहरूलाई पहिलो पटक एन्टिओकमा ‘ख्रीष्टियान’ नाम दिईयो; यरूशलेममा होइन तर एन्टिओकमा। एन्टिओकमा भएको स्थानीय चर्च एक प्रभावशाली बाइबलीय चर्च रहेको प्रष्ट हुँदछ। त्यस स्थानीय चर्च यति प्रभावशाली थियो कि उनीहरूको ख्रीष्टियन गवाहीले एन्टिओक शहर ढाकेको थियो। उनीहरूको ‘ख्रीष्ट जस्तो’ जीवन सबैको सामु प्रकट भएको थियो। एन्टिओकमा भएको चर्च यरूशलेममा भएको चर्च जस्तो संख्यामा ठूलो थिएन तर उनीहरूको ख्रीष्टियन आचारण र चरित्रको कारण, उनीहरू एक प्रभावशाली बाइबलीय चर्चको नमुना बन्न पुगे।
संसारभरका सबै स्थानीय चर्चहरू यस्तै ख्रीष्टको गवाहीमा प्रभावशाली हुनु प्रभुको इच्छा हो। मण्डली नै सत्यको खाँबो र जग हो। चर्च नै संसारको ज्योति र नुन हो। यस सत्यताको खडेरी भएको आत्मिक भरूभूमिको संसारमा चर्चहरूमा जीवनको पानीको श्रोत येशू ख्रीष्ट प्रचारिनुपर्दछ। कति विडम्बना यो कि धेरै चर्चहरूमा आत्मिक रूपमा तृषित र भोकाएकाहरू जाँदा केवल मनोरन्जन, नाचगान र मानवीय विचारहरूको खिचडि मात्रै पाउँछन्!
यस संसारलाई चाहिएको एन्टिओकमा भएको जस्तै प्रभावशाली बाइबलीय चर्चहरू हुन्। संसारको कुनै पनि ठाउँका मानिसहरूको साँचो जीवन परिवर्तन र रहिरने आनन्दको लागि बाइबलीय चर्चहरू अपरिहार्य हुँदछ। भौतिक पूर्वाधार, नयाँ हस्पिटल, विद्यालयहरू, कल-कारखानाले सीमित समयको लागि जीवन परिवर्तन गर्ला तर अनन्ततालाई हेर्दा ती संस्थाहरूको भूमिका न्यून रहन्छ। जब प्रभुका जनहरू एक दिन अनन्ततामा परमेश्वरको स्तुति गर्दै रहन्छन्, उनीहरूको पार्थीव जीवन कालमा उनीहरूका घर छेउ बनेका नयाँ हस्पिटल, विद्यालय, या कल-कारखानाको चर्चा हुनेछैन, कुनै महत्व हुनेछैन तर घर छेउ रहेको प्रभावशाली बाइबलीय चर्चको महत्व सम्झना भईरहनेछ।
एन्टिओकमा भएको चर्चको चरित्रहरूलाई विचार गर्दा वर्तमानका चर्चहरूको लागि अनुसरण गर्नुपर्ने नमुना पाउन सकिन्छ। एन्टिओकमा भएको चर्च किन र कसरी यस्तो प्रभावशाली बाइबलीय चर्चको रूपमा खडा भयो? यस चर्चका केहि चरित्रहरूलाई विचार गरौं –
- यस चर्च सहि सुसमचारमा आधारित र येशू ख्रीष्ट स्वयममा स्थापित चर्च थियो (प्रेरित ११:२०, २१) ।
- यस चर्च बाइबल शिक्षा र चेलापनमा बलियो थियो (प्रेरित ११:२६) ।
- यस चर्च सेवामा जोशिलो थियो (प्रेरित ११:२७-३०) ।
- यस चर्चमा आत्मिक अगुवाहरू र दान प्राप्त शिक्षकहरू थिए (प्रेरित १३:१) ।
- यस चर्चले परमेश्वरको अगुवाइ खोज्दथ्यो र उहाँको अगुवाइमा अघि बढ्दथ्यो (प्रेरित १३:२) ।
- यस चर्च सुसमचार प्रचारमा, मिसनरी पठाउनमा जोशिलो थियो (प्रेरित १३:३) ।