प्रस्थान संक्षिप्त टिप्पणी (अध्याय ३१-४०)

 प्रस्थान संक्षिप्त टिप्पणी (अध्याय ३१-४०)

अध्याय ३१

परमेश्वरले मोशालाई आज्ञा दिनुभएको काम गर्न ठूलो बुद्धि र सीपको आवश्यकता पर्थ्यो।

काम अनुसारको सिपालु कारिगर परमेश्वरले नै प्रबन्ध गरिदिनुभयो। चाहिने बुद्धि, समझ, ज्ञान र सीप परमेश्वरले दिनुभयो।

विश्राम दिनलाई महत्वपूर्ण रूपमा हेर्नु भनी परमेश्वरले आज्ञा दिनुभयो। एउटा चिन्हको रूपमा विश्राम दिन इस्राएलीहरूले पुस्ता-पुस्तासम्म मान्नु पर्थ्यो।

परमेश्वरको कामको लागि परमेश्वरले नै हामीलाई चाहिने सबै कुराहरूको प्रबन्ध गरिदिनुहुन्छ।

अध्याय ३२

इस्राएलीहरू अधैर्य र अविश्वासयोग्य थिए। परमेश्वरको महानतालाई कति छिटो बिर्सिहाले र आफ्नो लागि सुनको मूर्ति बनाए। हारूनले समेत ठूलो अपराध गरे। पछि हारूनले गल्ती स्वीकार्नुको साटो बाहाना बनाउँछन्।

सुनको बाछोको पीठो पानीमा हालेर पिउन लगाइयो। आफ्नै पापले उनीहरूको हानि भयो।

इस्राएलीहरूले महान जीवित परमेश्वरको साटोमा सुनको बाछोलाई आफ्नो ईश्वर र अगुवा ठहर्याए। यो ठूलो विश्वासघात, अपराध र मूर्खता थियो। मानिसहरूको हृदयमा सुनको बाछोले यहोवा परमेश्वरको स्थान ओगट्यो। आज तपाईको जीवनमा सुनको बाछो के हो?

मानिसहरूको दुष्टताको विरोधमा परमेश्वरको क्रोध खनियो र धेरै इस्राएलीहरू मरे। मोशाको अस्वार्थी बोझ – इस्राएलीहरूको लागि बरू आफू मर्न तयार भए।

साँचो परमेश्वरको स्थान कसैले लिन सक्दैन, लिन मिल्दैन।

अध्याय ३३

परमेश्वर अधर्मी इस्राएलीहरूकहाँ उपस्थित हुन सक्नुहुन्नथ्यो। भेट हुने पाल मार्फत मानिसहरू परमेश्वरसँग भेट गर्न सक्थे। एक पापी मानिस एक पवित्र पवित्र पवित्र परमेश्वरकहाँ कसरी आउन सक्छ र? परमेश्वरले तयार पार्नुभएको उपायद्वारा मात्रै मेलमिलाप सम्भव थियो।

इस्राएलीहरूले पश्चताप गर्छन्। मोशाले परमेश्वरसँग उनीहरूको बारेमा विन्ती गर्छन्।

परमेश्वरको उपस्थिति बिना यात्रामा अघि नबढ्ने प्रण मोशाले गर्छन्। परमेश्वर बिनाको यात्रा असफल हुन्छ भन्ने तथ्य मोशाले बुझेका थिए। परमेश्वर बिनाको जीवनको अर्थ के नै छ र?

मोशा परमेश्वरसँग आमनेसामने कुरा गर्थे तर उनी त्यतिमै सन्तुष्ट थिएनन्। उनी उहाँलाई अझै चिन्न चाहान्थे, उहाँलाई देख्न चाहान्थे।

परमेश्वरको उपस्तिथि र उहाँको ज्ञानमा अझै बढ्ने तृष्णा र लालसा नै बेजोड धर्मी जीवनको प्रतीक हो।

अध्याय ३४

परमेश्वरले इस्राएलीहरूलाई सर्तसहितको वाचा प्रष्ट पार्नुहुन्छ। यदि इस्राएलीहरूले परमेश्वरको आज्ञा अनुसार जिए भने परमेश्वरको सुरक्षा र आशिषको अभाव कहिल्यै हुनेछैन। अन्य देवदेवताहरू र मूर्तिपूजाबाट अलग रहनुपर्थ्यो, र परमेश्वरलाई आफ्नो पहिलो फल र सर्वोत्तम दिनुपर्थ्यो।

परमेश्वरसँग समय बिताए पछि मोशाको चेहेरा चम्किरहेको थियो। मोशाको अनुहार चम्केको सबैले देख्न सक्थे।

परमेश्वरसँग समय बिताउँदा हामी परिवर्तन हुन्छौं र यो परिवर्तन अरूले पनि अनुभव गर्छन्।

अध्याय ३५

परमेश्वरको कामको लागि परमेश्वरले मानिसहरूलाई स्वइच्छाले भेटि ल्याओ भनी भन्नुभयो। परमेश्वरको कामको लागि दिनलाई मानिसहरूले स्वइच्छाले भेटीहरू ल्याए।

यी भेटीहरू परमप्रभुको भेटी थिए, उहाँको लागि थियो। उनीहरूले यही बुझेर दिए।

परमेश्वरले कहिल्यै जबरजस्ती गर्नुहुन्न। उहाँको कामको लागि दिने अवसर हामीलाई छ।

अध्याय ३६

कामको लागि तयार व्यक्ति पनि थियो, र चाहिने सामाग्रीहरू पनि उपलब्ध भयो। काम गर्ने व्यक्तिलाई परमेश्वरले चुनेर तयार पार्नुभयो, अनि चाहिने सामाग्रीहरू चाहिँ इस्राएलीहरूले स्वइच्छिक भेटिको रूपमा दिए। इस्राएलीहरूले यति दिए कि चाहिने भन्दा ज्यादै बढी भयो। 

सबै कुरा तयार भयो, अनि काम उत्साहसाथ शुरू भयो।

आज पनि परमेश्वरको कामको लागि तयार व्यक्ति र चाहिने आर्थिक तथा अन्य कुराहरूको आवश्यकता छ। ठूलो उत्साहको साथ दिने काममा सहभागि हुँदा, काम पनि उत्साहकासाथ अघि बढ्छ।

अध्याय ३७ र ३८

वाचाको सन्दुक – वाचाद्वारा परमेश्वरसँग मेलमिलाप

कृपा-आसन – रगतद्वारा परमेश्वरको उपस्थिति र कृपा

सामदान – आत्मिक ज्योति जसले परमेश्वतिर बाटो देखाउँछ

धूप-वेदी – परमेश्वरमा चढाइएका ग्रहणयोग्य प्रार्थनाहरु र अन्तर्विन्तीहरू

होमबलिको वेदी – सट्टा-भर्नाको मृत्यु र रगतको वलिदानद्वारा पाप क्षमा

हात-पाउ धुने बाटा – परमेश्वरको सेवामा पवित्रता अपरिहार्य छ

अध्याय ३९

परमेश्वरको आज्ञा बमोजिम महापूजाहारी र पूजाहारीका वस्त्रहरू बनाइए। अन्ततः सबै काम समाप्त भयो। परमेश्वरकै आज्ञा अनुसार सबै काम गरिएको थियो कि थिएन भनी मोशाले जाँच गरे।

असल काम गरेको हुनाले इस्राएलीहरूले आशिष पाए।

परमेश्वरको काम उहाँकै तरिकामा गर्नुमा ठूलो आशिष छ। तर आफ्नै तरिकामा गर्दा विनाश छ (२ शमूएल ६:१-११)

अध्याय ४०

जब परमेश्वरले निर्देशन दिनुभए अनुसार सबै कामहरू सकियो र निवास्थान खडा गरियो, परमेश्वरको महिमाले पवित्रस्थानलाई भरिदियो। यात्रामा परमेश्वरको साथ इस्राएलीहरूसँग रह्यो।

दिनमा बादल र रातमा आगोद्वारा परमेश्वरले इस्राएलीहरूको अगुवाइ र रक्षा गर्नुभयो।

जब परमेश्वरको काम परमेश्वरकै निर्देशन अनुसार गरिन्छ तब परमेश्वरको महिमा हुँदछ।

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *