बलभन्दा विश्वास ठूलो

 बलभन्दा विश्वास ठूलो

इस्राएलीहरू मिश्र देशबाट कनान देशमा आइपुग्दा, उनीहरूले कब्जा गर्ने पहिलो शहर यरिको शहर थियो। यरिको शहर ठूला ठूला बलियो पर्खालले घेरिएको शहर थियो। त्यहाँका मानिसहरू पनि ठूला र बलिया थिए। कसरी इस्राएलीहरूले यस शहरलाई कब्जा गर्न सक्थे? अवश्य पनि पर्खाल भत्काउन ठूला ठूला युद्ध यन्त्रहरू चाहिन्थ्यो। साथै एक उत्तम युद्ध योजना पनि चाहिन्थ्यो। इस्राएलीहरू सारा किसिमको हातहतियारले सुसज्जित भई तयार हुनुपर्थ्यो। तर हाम्रा परमेश्वर कति महान्! मानवीय विचार र ईश्वरीय विचारमा कति ठूलो भिन्‍नता! परमेश्वरले इस्राएलीहरूलाई सात दिन यरिको शहरको वरिपरि हिँड्न आज्ञा दिनुहुन्छ। सातौं दिनमा सात पटक हिँड्नुपर्थ्यो। अनि सातौं दिनमा यरिको शहरको पर्खाल ढल्यो; इस्राएलीहरूले यरिको शहर कब्जा गरे। (यशैया ५५ :८,९)

पर्खाललाई विभिन्‍न यन्त्रहरूले भत्काउने प्रयास नगरी बरू इस्राएलीहरू पर्खालका वरिपरि घुमेको मात्रै देखेर सायद यरिको शहरका मानिसहरू छक्क परेका थिए। कोहि कोहिले त ठट्टा पनि गरे कि? यी इस्राएलीहरू बौलाएछन् क्यारे! विश्वाससाथ अघि बढ्दा अरूहरूले पागलपनको झल्को देख्लान् तर विजय निश्चित छ। जब सम्पूर्ण पर्खाल गर्लम्म ढल्यो तब त्यहाँ कुनै शंका थिएन कि कसको कारणले त्यो पर्खाल ढलेको थियो। इस्राएलीहरूले पर्खाललाई छोएका पनि थिएनन्; उनीहरूका महान परमेश्वरले पर्खाल ढाल्नुभएको थियो। हरेक युद्धमा विजय परमेश्वरको हो; महिमा परमेश्वरको हो! पर्खाल घुम्‍ने क्रममा कति इस्राएलीहरू समेत छक्क परिरहेका थिए होलान्। यो के हो? हाम्रो अगुवा यहोशू के गर्दैछन्? परमेश्वर के गर्दै हुनुहुन्छ? पर्खाललाई घुमेर पनि पर्खाल भत्किन्छ र? यस्तो त कहिल्यै भएको छैन। कतिको विश्वास त ढलमलियो कि? विश्वास नदेखिने कुराहरूको प्रमाण हो। (हिब्रु ११:१)

बाइबलीय सिद्धान्त यो हो – बलभन्दा बुद्धि होइन तर बलभन्दा विश्वास ठूलो हो!

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *