बाइबल अध्ययन कसरी गर्ने?

 बाइबल अध्ययन कसरी गर्ने?

परमेश्वरको वचन बाइबलको प्रभावकारि अध्ययनको लागि तीन कुराहरू अपरिहार्य छन्। यी तीन कुराहरू क्रमैसँग गरिँदा बाइबल अध्ययन आशिषमय र बढि फायदाजनक हुँदछ।

  • पढ्नुहोस् (Read)
  • व्याख्या गर्नुहोस् (Explain)
  • व्यवाहरिकतामा ल्याउनुहोस् (Apply)
  • पढ्नुहोस्

सबै भन्दा पहिले बाइबलको कुनै खण्ड छानेर पढ्नुहोस्। पूरै अध्याय पढ्न सकिन्छ या केहि पदहरू पढ्न सकिन्छ। पढ्ने क्रममा तल दिइएका कुराहरूलाई विशेष ध्यान दिनुहोस्-

  • हरेक शब्दको अर्थ पत्ता लगाउनुहोस्
  • एउटै शब्द विभिन्न सन्दर्भमा प्रयोग हुँदा फरक फरक अर्थ आउन सक्छ
  • हरफलाई ध्यान दिनुहोस्। साधरणतय साहित्यमा एउटा हरफले एउटा मूख्य विचार प्रस्तुत गर्छ
  • कुन विषयलाई कति जोड दिइएको छ? कुनै विषयलाई धेरै पदहरूमा व्याख्या गरिन्छ, अनि कुनै विषयलाई एकै पदमा टुङ्गाइन्छ
  • कुनै शब्द या शब्दावली दोहोराइएको छ कि? परमेश्वरले बाइबलका पानाहरू भर्न दोहोराउनुभएको होइन, विशेष जोड दिनका लागि हो
  • कुन समय-कालको खण्ड पढ्दै हुनुहुन्छ?
  • त्यस खण्डको हरेक शब्द र वाक्यको राम्रो बुझाइ नभएसम्म दोहोर्याइ-दोहोर्याइ पढ्न अफ्ठ्यारो नमान्नुहोस्।

  • व्याख्या गर्नुहोस्

व्याख्या गर्नु भन्नाले त्यस पढिएको खण्डको वास्तविक अर्थ पत्ता लगाउनु भन्न खोजिएको हो। पढ्न त पढियो, तर अर्थ चाहिँ के हो? के भन्न खोजिएको हो? सहि व्याख्या निकै महत्वपूर्ण छ। गलत व्याख्याले गलत अर्थ ल्याउँछ र अन्तत ठूलो नोक्सानी ल्याउँन सक्छ। झूटा शिक्षाहरूको शुरुवात हुनुको कारण यहि नै हो – बाइबलको गलत व्याख्या। त्यसैले यो कार्य निकै गम्भीरताका साथ गरिनुपर्दछ। यस कार्यलाई प्रार्थनाले भिजाउनुपर्दछ। बाइबलको खण्डको अर्थ पत्ता लगाउने क्रममा तलका कुराहरूलाई विचार गर्नुहोस्-

  • सन्दर्भ – सन्दर्भ भन्नाले पढिएको खण्ड कुन सिलसिलामा लेखिएको छ भनी पत्ता लगाउनु हो। यसको लागि त्यस खण्डका अघाडिका र पछाडिका अध्यायहरू र पदहरू पढ्नु पर्ने हुन्छ। खण्डको वातावरण हेर्नुहोस् – कसले लेख्दैछ? को बोल्दैछ? कसलाई लेखिएको? कसलाई भनिएको? कहिले लेखिएको? किन लेखिएको?
  • अरू खण्डहरूसँग दाँज्नुहोस् – पढिएको खण्डमा उल्लेखित विषय बाइबलको अरू खण्डहरूमा पनि उल्लेख भएको हुन सक्छ। यदि त्यसो हो भने, ती अरू खण्डहरू पनि पढ्नुहोस्।
  • बाइबल संस्कृति – बाइबल कालिन संस्कृति, भाषा, र रहन-सहन आजको युगको जस्ता थिएनन्।
  • निष्कर्ष – यी सबै परिश्रमसाथ गरेपछि आफ्नो निष्कर्ष निकाल्नुहोस्।
  • अर्थ दाँज्नु – आफूले पाएको अर्थ या निष्कर्ष अरू विश्वासीहरू या अगुवाहरूसँग बाँढ्दै दाँज्दा पनि धेरै फाइदा हुन्छ। अझ विभिन्न अध्ययन सामाग्रीहरू र कमेन्टेरीहरूसँग दाँज्दा थप कुराहरू बुझ्न सकिन्छ।
  • व्यवाहारिकतामा ल्याउनुहोस्

व्यवाहारिकतामा ल्याउनुहोस् भन्नाले यो बुझिन्छ – पढिएको र व्याख्या गरिएको खण्डले मेरो जीवनमा कस्तो र कसरी प्रभाव पार्छ भनी मनन गर्नु। पढियो, व्याख्या पनि गरियो, र अर्थ पनि बुझियो – अनि के त? अब के गर्ने? अध्ययन गरेको कुरा व्यवहारमा नआएसम्म के नै फाइदा हुन्छ र!

बाइबल अध्ययनले जीवन परिवर्तन गर्दछ। यो जीवन परिवर्तनमा हाम्रो स्वइच्छाले ठूलो भूमिका खेल्दछ। के तपाई त्यस पढिएको खण्डले भनेझैं जिउन तयार हुनुहुन्छ? त्यस खण्डमा लेखिएका आज्ञाहरू पालन गर्न तत्पर हुनुहुन्छ?

केहि थप प्रश्नहरू विचार गर्नुहोस् –

  • मैले पढेको यस खण्डको सत्यताले मेरो र परमेश्वरकोबीचको सम्बन्धलाई कसरी असर पार्दछ? सम्बन्ध सुधार कसरी गर्न सकिन्छ?
  • यस सत्यताले मेरो र अरूहरूको बीचको सम्बन्धलाई कसरी प्रभाव पार्दछ?
  • यस सत्यताले व्यक्तिगत रूपमा मलाई कसरी प्रभाव पार्दछ?
  • अब मेरो निर्णय के हो? मैले के गर्नुपर्ने हो?
  • पाप स्वीकार गर्नुपर्ने हो कि? कसैसँग क्षमा माग्नु पर्ने हो कि? कुनै कुरा परिवर्तन गर्नु पर्ने हो कि? कुनै कुरा रोक्नु पर्ने हो कि? कुनै कुरा गर्न थाल्नु पर्ने हो कि?
  • यस खण्डको सत्यता म अरूलाई कसरी सिकाउन सक्छु होला?

सिकेको कुरा आफैमा सिमित राख्नु अपराध हो। वास्तवमा २ तिमोथी २:२ को सत्यता अनुसार यो पाप नै हो। जब हामी आफूले सिकेको कुरा अरूहरूलाई सिकाउँछौं हामी परमेश्वरको सत्यता एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण गर्दछौं। परमेश्वरले हामीलाई सिकाउन आज्ञा दिनुभएको छ (मत्ती २८:२०)।

तर आफैले पहिला सिकेको छैन भने कसरी सिकाउन सकिन्छ र? के रित्तो इनारबाट पानी आउँछ र? इनार गहिरो खन्नुहोस्! जीवनको मुहानसम्मै पुग्नुहोस्, अनि तपाईको जीवनबाट जीवनका धाराहरू बग्नेछन्, र वरपर सबैले पनि जीवन पाउनेछन् (यूहन्ना ४:१४; ७:३८)। बाइबल अध्ययन मृत्यसम्मै भइरहनु पर्दछ।

बाइबल अध्ययनले परिश्रम र समर्पणताको माग गर्दछ। हामी जति दिन्छौं, त्यही नापले पाउँछौं। बाइबल अध्ययनलाई हल्का रूपमा लिन्छौं र झारो टार्ने काम मात्रै गर्छौं भने त्यही अनुसारको कटनी गर्छौं। तर ठूलो तृष्णा र लालसासाथ मेहनत र पसिना चुहाउँदै कडा परिश्रम गर्दै बाइबल अध्ययनमा लागि पर्छौं भने त्यसै नापमा आशिष पनि पाउँछौं।

“धोकामा नपर, परमेश्वर ठट्टामा उडाइनुहुन्न; किनकि मानिसले जे छर्छ, त्यसैको कटनी पनि गर्नेछ” (गलाती ६:७)।

आउनुहोस् सारा नम्रता र सच्चा हृदयले परमेश्वरको वचन बाइबल अध्ययन गरौं! यसमा दिलो ज्यान दिऔं! यसैमा हाम्रो भलाइ छ, आशिष छ, जीवन छ!!

Related post

1 Comment

  • Good

Leave a Reply

Your email address will not be published. Required fields are marked *