बाइबल कलेज? किन र?
बाइबल कलेज भनेको के हो? यो किन आवश्यक छ? ए बाब्बा…बाइबल त सधैं पढिहालिन्छ नि, किन चाहियो बाइबल सिकाउने कलेज? म त धेरै पुरानो विश्वासी हुँ, मैले त लगभग सबै सिकिसकें। हरेक हप्ता मण्डली जान्छु, घरेलु संगति पनि कहिल्यै छुटाउँदिन। बाइबल कलेजको महत्त्व र अर्थ छ र?
परमेश्वरको वचन, बाइबलद्वारानै हामी परमेश्वरको इच्छा र उद्देश्य थाहा पाउँछौं। हामी मानिसहरूप्रति परमेश्वरले आफैलाई बाइबल मार्फत प्रकट गर्नुभएको छ। यो पुस्तकले हामी विश्वासीहरूको जीवन बद्लिदिएको छ। अनि संसारको सारा कुराहरू बितेर जाँदा पनि बाइबलका वचनहरूचाहिँ कहिल्यै नाश हुँदैनन्। बाइबल हाम्रो जीवनको पथप्रदर्शक हो, सान्त्वनाको श्रोत हो, सत्यताको खानि हो, हाम्रो विश्वासको आधार हो, अनि आत्मिक भोजन हो। बाइबलको महत्त्वमा त वादविवाद छैन। तर कति पल्ट बाइबलको अर्थ पूर्ण रूपले नबुझ्दा बाइबल अध्ययनको वेवास्ता भइरहेको हुन्छ।
यदि बाइबलद्वारानै हाम्रो आत्मिक जीवन बलियो र परिपक्व हुँदै जाने हो भने, बाइबलको अध्ययन र बुझाइ अति महत्त्वपूर्ण र स्वास्थ्य ईशाई जीवनको लागि अपरिहार्य हुँदछ। जबसम्म एक विश्वासीले बाइबल अध्ययनको स्वाद पाएको हुँदैन तबसम्म उसको जीवनमा बाइबल अध्ययनले उचित ठाऊँ पाउँदैन।
बाइबल कलेज यस्तो सेवाकाइ हो जुन चाहिँ एक स्थानीय मण्डलीको मातहतमा रहेर अघि बढ्दछ। त्यहाँ विश्वासीहरूलाई परमेश्वरको वचन अध्ययन गर्न र बुझ्न तालिम दिइन्छ।
कतिले जिज्ञासा गर्लान् – “बाइबलमा त बाइबल कलेजको कहिँ पनि उल्लेख भएको छैन नि? के यो बाइबलीय हो त?” यदि यस्तै किसिमको विचार राख्ने भए, के सन्डे स्कुल पनि बाइबलीय हो त? त्यसै गरी के ख्रीष्टिय पुस्कहरू लेख्नु र पढ्नु पनि बाइबलीय हो त? यी कुराहरू बाइबलमा कहिँ पनि उल्लेख भएको छैन त।
अनि फेरि अरू कसैले भन्लान् – “खोइ, कति बाइबल कलेज पढेकाहरूको जीवन परिवर्तन भएको त देखिएको छैन। बरू उल्टै बाइबल कलेज नपढेकाहरूभन्दा नराम्रो जीवन जिइरहेका छन्।”
अब यसको जवाफ त सजिलो छ। बाइबल कलेजको काम जीवन परिवर्तन गर्ने होइन। एक बाइबल कलेजले कहिल्यै पनि कसैको जीवन परिवर्तन गर्न सक्दैन। जीवन परिवर्तन गर्ने त परमेश्वर मात्रै हुनुहुन्छ। उहाँले आफ्नो वचनलाई प्रयोग गरेर यो काम गर्नुहुन्छ। एक बाइबल कलेजले जीवन परिवर्तनको लागि वातावरण बनाउन सक्छ, त्यति मात्रै हो। एक विद्यार्थी आफैले पवित्र आत्माबाट सिक्नुपर्छ। उसमा वचन बुझ्ने र अध्ययन गर्ने लालसा हुनुपर्छ। व्यक्तिमा निर्भर हुने कुरा हो यो। तथापि बाइबल कलेज पढ्ने धेरै विद्यार्थीहरूले गरेको साझा अनुभव यहि हो कि बाइबल कलेजको अध्ययनले उनीहरूको जीवन उथलपुथल भएको छ।
परमेश्वरको सारा मनसाय हामीले थाहा गर्नु परमेश्वरको इच्छा हो। पावलले एफेससमा भएका विश्वासीहरूलाइ यस्तो भने, “किनभने परमेश्वरको सारा मनसाय तपाईहरूलाई बताउनदेखि म पछि हटिनँ।” (प्रेरित २०:२७) परमेश्वरको सारा मनसाय थाहा पाउन बाइबल विस्तृत रूपमा अध्ययन गर्न आवश्यक हुन्छ। यो कार्य हप्तामा एक चोटि या दुई चोटि सभामा आएर मात्रै सम्भव छैन। आफ्नै व्यक्तिगत अध्ययन पनि ठूलो मात्रामा चाहिन्छ। एक बाइबल कलेजले यसै व्यक्तिगत बाइबल अध्ययनलाई मद्दत र उर्जा दिँदछ।
बाइबल सेवाकाइका लागि जोश मात्र भएर पनि हुँदैन। जोशको साथै पर्याप्त बाइबल ज्ञान र बुझाइ आवश्यक छ। सत्यको वचनलाई ठीक ठीकसँग छुट्याउन सक्ने हुनुपर्छ। यो हल्का कुरा होइन। मानिसको अनन्तताको विषय हो यो। संसारका मानिसहरूले संसारिक विज्ञान, गणित, इतिहास जस्ता विषयहरूको अध्ययनलाई त कति ठूलो रूपमा हेर्छन् भने, परमेश्वरको अनन्त वचनको अध्ययनले त अरू सबै अध्ययनलाई सजिलै ओझेलमा पार्दछ, पार्नु पर्दछ।
त्यसैले के बाइबल कलेज जाहेज हो? ठीक छ? आवश्यक छ? महत्त्वपूर्ण छ? पवित्र आत्मा स्वयमले तपाईलाई देखाउनुभएको होस्। तर अकाट्य सत्य यो हो कि बाइबल कलेजको अध्ययनले आज संसारभर हजारौं संख्यामा बाइबल प्रचारकहरू र सेवकहरू तयार गरेको छ। परमेश्वरले संसारभर रहेका विभिन्न बाइबल कलेजहरूलाई प्रयोग गरी ठूलो संख्यामा आफ्ना लागि खेतालाहरू तयार गर्नुभएको छ। यो यथार्थ हो!