बाबेलको धरहरा र भाषाहरू

 बाबेलको धरहरा र भाषाहरू

मेसोपोटामियामा भएको शिनारको बेसीमा मानिसहरू भेला भए र स्वर्गसम्म पुग्‍ने धरहरा बनाउन अघि बढे। उत्पत्ति ११ अध्यायले यस घटनाको वृतान्त दिँदछ। परमेश्‍वरको फल्दै फुल्दै पृथ्वीलाई ढाक्दै जानु भन्‍ने आज्ञालाई बेवास्ता गर्दै मानिसहरू यस बाबेलको धरहरा बनाउन एकजुट भए। बाबेलको धरहराले परमेश्‍वरको विरूद्धको मानिसको अभियानलाई चित्रित गर्दछ। बाबेलको धरहराले परमेश्‍वर विरूद्धको प्रणालीको चित्रण गर्दछ, जुन प्रणाली आज पनि संसारमा छँदै छ। बाबेलको धरहराको घटना महत्वपूर्ण छ किनभने बाबेलमा परमेश्‍वरले मानिसहरूको दुष्ट अभियानलाई रद्द गर्न भाषा खलबलाइदिनुभयो। पहिला संसारमा एउटै भाषा थियो। तर परमेश्‍वरले मानिसहरूको भाषा खलबल पारिदिनुभयो र मानिसहरू बाबेलको धरहरा बनाउन छोडेर पृथ्वीभर फैलिन थाले। त्यहाँ विभिन्‍न भाषाहरूको उत्पत्ति भयो। अवश्य पनि एउटै भाषा बोल्‍नेहरू सँगै मिले र सँगै पृथ्वीका विभिन्‍न भागहरूमा फैलिएर गए; जाति जातिमा विभाजति भए।

बाबेलको धरहरा ठ्याक्कै कस्तो थियो भन्‍ने यकिन नभए पनि केहि अनुमानहरू चाहिँ गर्न सकिन्छ। उत्खननकर्ताहरूले मेसोपोटामिया भूभागमा थुप्रै धरहरा प्रकारका भवनहरू पत्ता लगाएका छन्। यी संरचनाहरूलाई ‘जिग्गुरात’ भनिन्छ। यी जिग्गुरातहरू भर्‍याङहरू भएका खण्ड खण्डका अग्लो मन्दिरहरू थिए। लगभग २५ यस्ता जिग्गुरातहरू पत्ता लगाइएका छन्। बाइबलवीदहरूले अनुमान गरेका छन् कि बाबेलको धरहरा पनि यी जिग्गुरातहरू जस्तै संरचनामा बनाइएको थियो। साथै संसारभर नै यस्ता अग्ला संरचनाहरू बनाइएको भेट्टाइएको छ। मानिसहरू फैलिँदै जाँदा विभिन्‍न ठाउँमा यस्तै संरचना बनाएको हुन सक्छ।

शुरूमा परमेश्‍वरले भाषा खलबल पारिदिनु हुँदा करिब १०० या कम भाषाहरू संसारमा थियो भन्‍ने अनुमान गरिन्छ। तर समय बित्दै जाँदा यी भाषाहरू क्रमिक रूपमा रूपान्तरित हुँदै विभिन्‍न नयाँ भाषाहरू शुरू भएको बुझ्‍न सकिन्छ। आज संसारमा करिब ६,९०० भाषाहरू बोलिन्छ। यी भाषाहरू करिब १०० ‘भाषा परिवार’ अन्तर्गत पर्दछन्। लगभग २२४२ ई. पू. तिर यस भाषा खलबलको घटना घटेको थियो। एक प्रख्यात इतिहासकार जेम्स उस्सरले भाषा खलबलको समय जलप्रलयको १०६ वर्षपछि भएको अनुमान लगाएका छन्, जतिबेला पेलेगको जन्म भयो। उत्पत्ति १०:२५ मा लेखिएको छ, “अनि एबेरको दुईजना छोरा जन्मे; एउटाको नाम पेलेग थियो; किनकि उनैको समयमा पृथ्वी बाँडियो…”। “पृथ्वी बाँडियो” भन्दा पृथ्वीको जमिन महाप्रदेशहरूमा विभाजित भएको कुरालाई जनाइएको भनेर पनि कतिले भन्छन्। तर जमिनको विभाजन जलप्रलयको समयमा नै भएको हुन सक्‍ने बलियो प्रमाणहरू छन्। त्यसैले यस “पृथ्वी बाँडियो” भन्‍नाले भाषाहरू खलबल भएको र पृथ्वीका मानिसहरू भाषा अनुसार बाँडिएको घटनालाई संकेत गरेको हुन सक्छ।

बाबेलको धरहरा परमेश्‍वरको विरूद्धमा मानिसले गरेको एकजुट अभियान थियो। त्यस अभियानलाई परमेश्‍वरले खलबल पारिदिनुभयो। फलस्वरूप, आज संसारमा धेरै भाषाहरू छन्। फेरि मानिसहरू एकजुट हुन खोज्दैछन्। मानिसहरू अझै पनि बेबिलोन प्रणालीमा जिईरहेका छन्। तर एकदिन यो “महान् बेबिलोन’ ढल्नेछ (प्रकाश १८)।

 

Loading

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *