यात्रा साह्रै लामो छ
- Short Devotion
- October 7, 2024
- 0

१ राजा १९:७ मा लेखिएको छ, “…उठ र खाऊ, किनभने तिम्रा निम्ति बाटो साह्रै लामो छ।” यस खण्डमा एलिया रानी इजबेलबाट भाग्दै छन्। भर्खरै कर्मेल डाँडामा परमेश्वरको सामर्थ्य अद्भूत रूपमा प्रकट भएको थियो। परमेश्वरलाई गुहार्नुको साटो एलिया उजाडस्थानतिर भागे। आफ्नो ज्यान जोगाउन भाग्दा भाग्दै उनी थकित भए, अनि उनी परमेश्वरलाई आफ्नो प्राण लिनोस् भनी भन्छन्। तर परमेश्वरले उनलाई भन्नुहुन्छ ‘तिम्रा निम्ति बाटो साह्रै लामो छ”। अर्थात् तिम्रो आफ्नै क्षमता, बलमा यो यात्रा अति धेरै छ। एलियाले सिक्नुपर्ने थियो कि उनको जीवनको यात्रा उनको आफ्नै प्रयासमा उनको क्षमता बाहिर थियो।
आज हामीले पनि यो पाठ सिक्नु आवश्यक छ। हाम्रो आफ्नै बल, क्षमतामा यो जीवनको यात्रामा हामी धेरै अगाडि जान सक्दैनौं। हामी छिट्टै निराश, हताश र थकित हुन पुग्छौं। साँच्चै यो जीवनको यात्रा हाम्रो लागि साह्रै लामो छ, अर्थात् हाम्रो लागि अति ज्यादा छ। तर यहि खण्डको ८ पदमा हामी पढ्छौं कि जब परमेश्वरले प्रबन्ध गर्नुभएको भोजन एलियाले खाए उनले चालिस दिनको यात्रा त्यहि भोजनको बलमा गर्न सके। मानवीय रूपमा असम्भव कार्य ईश्वरीय प्रबन्ध र सामर्थ्यमा सम्भव भयो।
हाम्रो लागि यो जीवन कठिन छ। जीवनका समस्याहरूसँग लड्दा लड्दै हामी हैरान हुन्छौं। तर हाम्रा समस्याहरूभन्दा हाम्रा परमेश्वर महान हुनुहुन्छ। उहाँमाथि भरोसा गर्दै उहाँको सहायतामा अघि बढ्छौं भने यस जीवन यात्रा सहज र आशिषमय हुँदछ।
के तपाई आफ्नै बल-प्रयासमा यस जीवन जिउँदै हुनुहुन्छ? यदि त्यसो हो भने निराशा र थकान तपाईको लागि निश्चित छ। तर आउनोस् हाम्रा बोझहरू परमेश्वरकहाँ राखौं। उहाँको अगुवाइ र सामर्थ्यमा यस जीवन यात्रामा अघि बढौं। हो हाम्रो लागि यात्रा साह्रै लामो छ, कठिन छ तर परमेश्वरको सहायता र सामर्थ्यमा यस जीवन यात्रा आशिषमय र सफल हुनेछ!