रित्तै आयौं रित्तै जानेछौं

 रित्तै आयौं रित्तै जानेछौं

भजनसंग्रह ४९:१७ मा लेखिएको छ, “किनकि जब त्यो मर्छ, त्यसले कही पनि बोकेर लैजानेछैन; त्यसको महिमा त्यसको पछि-पछि चिहानमा ओर्लनेछैन।”

मानव जीवनको एक अकाट्य सत्य यो हो कि हामी यस संसारमा रित्तै आयौं र एक दिन रित्तै यस संसारबाट जानेछौं। संसारमा मानिसहरू धन र महिमा बढाउन अनि थुपार्न मरिमेट्छन्। परिश्रम गरेर होस् या भ्रष्टचार गरेर होस् – धन र महिमा वृद्धिको लागि नै संसारभर मानव जाति दौडधुपमा छन्। हामी तछाड-मछाड गर्छौं – मानौं कि हामीले थुपारेको धन र महिमा सदाको लागि रहन्छ; मानौं कि एक दिन हामी मर्दैनौं; मानौं कि मरे पनि यी सब थोक हामी लिएरै जान्छौं। संसार र संसारको जीवन क्षणिक छ र यसमा भएका सब धन र महिमा पनि – यो सामान्य तर महत्वपूर्ण यथार्थको वास्तविकतालाई भुल्दै जिउनेहरू धोकामा पर्नेछन्। यस सन्दर्भमा बाइबलले प्रष्ट रूपमा बताउँदछ कि हामी सबै रित्तै आयौं र रित्तै जानेछौं।

तर बाइबलले हामीलाई यो पनि बताउँदछ कि – सबै मानिसको लागि मृत्यु नियुक्त गरिएको छ र त्यसपछि न्याय (हिब्रू ९:२७)। मृत्युपछि शून्यता या अचेतना होइन तर न्याय! यो गम्भिर विषय हो! यस संसारमा हामी कसरी जिउँछौं महत्वपूर्ण छ। बितीजाने संसारिक धन र महिमाको लागि जियौं कि अनन्त धन र महिमाको लागि!? संसारिक धन र महिमा अनन्ततामा लिएर जान सकिन्‍न तर संसारमा रहँदा ख्रीष्टको लागि जिएर थुपारेका अनन्त धन र महिमा सदाको लागि रहन्छ।

वास्तवमा, ‘रित्तै आयौं रित्तै जानेछौं’ भन्दा पनि बाइबलीय दृष्टिकोण यो हो – ‘संसारिक धन र महिमामा रित्तै आयौं तर अनन्त धन र महिमाले भरिएर अनन्ततामा जाऔं’! हामी जुनसुकै पृष्ठभूमिमा जन्मिएर हुर्के पनि, यदि हामी नयाँ गरी जन्मिएका छौं भने अब हामी आत्मिक धन र महिमामा अघि बढ्न सक्छौं। चाहे धनी या गरिब, चाहे शिक्षित या अशिक्षित, जुनसुकै अवस्थामा तपाई भए पनि; यदि तपाई ख्रीष्टका जन हुनुहुन्छ भने तपाईको लागि सत्यता र उद्देश्य यो हुनुपर्दछ – ‘संसारिक धन र महिमामा रित्तै आयौं तर अनन्त धन र महिमाले भरिएर अनन्ततामा जाऔं’!

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *