विचलित या विजयी?

 विचलित या विजयी?

प्रेरित २०:२४ मा पावलले भने, “तर यी कुराहरूमध्ये कुनैले पनि मलाई विचलित पार्दैन, न ता म आफ्नो प्राणलाई नै आफ्ना लागि प्रिय ठान्दछु, मैरा दौड र सेवा आनन्दसाथ पूरा गर्न सकूँ भनेर; जुन सेवा मैले परमेश्‍वरको अनुग्रहको सुसमचारको गवाही दिनाका निम्ति प्रभु येशूबाट पाएको छु।”

पावल प्रेरित यरूशलेम जाँदै थिए र त्यहाँ उनी बन्धनमा पर्ने कुरा पवित्र आत्मालाई देखाउनुभएको थियो। बन्धन, सतावट, पीडा, आदिले यरूशलेममा पावललाई पर्खिरहेका थिए। तथापि पावल भन्छन्, “यी कुराहरूमध्ये कुनैले पनि मलाई विचलित पार्दैन”। पावलले यस्तो कसरी भन्‍न सके होला? २४ पदमा लेखिएको छ कि उनले आफ्नो प्राणलाई आफ्ना लागि प्रिय ठानेका थिएनन्। उनले बुझेका थिए, उनले निर्णय गरेका थिए कि उनको लागि जिउनु ख्रीष्ट हुनुहुन्छ, र मर्नु चाहिँ लाभ (फिलिप्पी १:२१)। आफ्नो अघि राखिएको दौड र सेवा आनन्दसाथ पूरा गर्नु उनको लागि प्राथमिकता थियो।

साँच्‍चै हाम्रो जीवनको अर्थ, उद्देश्य के हो? हामी धेरैपटक आफ्नो लागि आफ्नो प्राणलाई धेरै प्रिय ठान्दछौं। तर बाइबलीय बुझाइ, शिक्षा यो हो कि हाम्रो जीवन परमेश्‍वरको महिमाको लागि हो, हाम्रो आफ्नै आनन्द या महिमाको लागि होइन। हामी ख्रीष्टसँगै क्रूसमा टाँगिएको छौं, अब हामीमा ख्रीष्ट जिउनुहुन्छ, जिउनुपर्दछ (गलाती २:२०)। पावलले बुझेका थिए कि उनको शरीरमा जति पीडा भए पनि, परमेश्‍वरको उद्देश्य उसको जीवनमा पूरा भइरहन्छ भने उसको जीवनको सार्थकता त्यहि हो। त्यसैले जस्तो सुकै कठिनाइले पनि उसलाई विचलित पारेन। के आज हामी कुनै कुराको कारणले विचलित छौं? के हाम्रो लागि जिउनु ख्रीष्ट हुनुहुन्छ?

हाम्रो जीवनको वास्तविक उद्देश्य र सार्थकता हाम्रो जीवनमा ख्रीष्ट जिउनु हो भनी बुझ्दै त्यस अनुसार नजिएसम्म हामी पावलले जस्तै अठोट गर्न सक्दैनौं। जबसम्म हामी आफ्नै महिमा र आनन्दको लागि जिइरहन्छौं, जबसम्म हामी आफ्नो लागि आफ्नो प्राण प्रिय ठान्दछौं, तबसम्म हामी परिस्थिति र विभिन्‍न कुराहरूले सजिलै विचलित भईहाल्छौं। आज तपाई विजयी हुनुहुन्छ कि विचलित?

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *