विश्वासद्वारा जिउनु
हिब्रू १०ः३८ ले भन्दछ, “…धर्मी जन विश्वासद्वारा जिउनेछ।” एक धर्मी जनको लागि अरू विकल्प छैन। धर्मी जन विश्वासद्वारा जिउनु पर्दछ। विश्वासद्वारा जिउनु एक जीवनशैली हो। हिब्रू ११ः१-३ को खण्डमा विश्वासको विषयमा हामीलाई महत्वपूर्ण सत्यताहरू दिईएका छन्। पद १ अनुसार विश्वास निश्चयता र प्रमाण हो। नदेखिएका कुराहरूको निश्चयता र प्रमाण! विश्वासद्वारा जिउनु भनेको परमेश्वरले सत्य बोल्नुभएको छ भनी जान्दै जिउनु हो। उहाँको चरित्रमा भरोसा गर्दै जिउनु हो। उहाँले भन्नुभएको छ भने हामी निश्चित हुन सक्छौं, भएरै छाड्नेछ।
मानिसहरू प्रमाण खोज्छन् तर विश्वास नै प्रमाण हो! सबै कुरा देखेर अनि विश्वास गर्छु भन्नु साँचो विश्वास होइन, त्यो त अवलोकन मात्र हुँदछ। हामीलाई अवलोकनद्वारा होइन तर विश्वासद्वारा जिउन भनिएको छ। आँखाले नदेखे ता पनि परमेश्वरको चरित्रमा भरोसा गर्दै अघि बढ्नुपर्दछ। पद २ ले बताउँदछ कि विश्वासैद्वारा प्राचीनहरूले अर्थात् पुरानो समयका जनहरूले असल गवाही प्राप्त गरे। विश्वासैद्वारा विजयीहरू भए। अनि पद ३ ले प्रष्ट पार्दछ कि हामी “विश्वासैद्वारा बुझ्दछौं”। परमेश्वरले केहि नभएको अवस्थाबाट, सून्यताबाट सबै कुरा बनाउनुभयो आफ्नो वचनद्वारा नै। यो परमेश्वरमा मात्र सम्भव छ।
विश्वासद्वारा निश्चयता (पद १), विश्वासद्वारा विजय (पद २), र विश्वासद्वारा बुझाइ (पद ३)। के हामी विश्वासद्वारा जिईरहेका छौं?
विश्वासद्वारा जिईरहेका छैनौं भने परमेश्वरको चरित्रलाई शंका गर्दैछौं। जसरी हामी परमेश्वरलाई चिन्दछौं, उहाँप्रति हाम्रो सहि र उच्च दृष्टिकोण हुँदछ हामी विश्वासमा बढ्दछौं। हाम्रो स्वर्गीय पिताले हामीलाई प्रेम गर्नुहुन्छ, हाम्रो भलो चाहानुहुन्छ, हाम्रो पक्षमा हुनुहुन्छ, उहाँको योजना सर्वोत्तम हुँदछ, उहाँको सामर्थ्यको सीमितता छैन – यी सबै कुराहरू जान्दै हामी उहाँमा पूर्ण भरोसा गर्दै विश्वासद्वारा जिउन सक्छौं, जिउनु पर्दछ।