व्यवस्था संक्षिप्त टिप्पणी (अध्याय १-१०)

 व्यवस्था संक्षिप्त टिप्पणी (अध्याय १-१०)

अध्याय १-३

  • ४० वर्षपछि इस्राएलीहरू दोस्रो पटक कनान छेउमा आइपुग्छन्। कनान देश प्रवेश गर्न अघि मोशाले इस्राएलीहरूलाई ती ४० वर्षमा घटेका घटनाहरूका सम्झना गराउँछन्। मिश्रबाट आएका धेरैजसो इस्राएलीहरू अविश्वासको कारण उजाडस्थानमै मरिसकेका थिए। नयाँ पुस्ता खडा भएको थियो। उनीहरूलाई मोशाले यात्राका घटनाहरू र परमेश्वरको महानताको सम्झना गराउँछन्।
  • यी तीन अध्यायहरूभरि मोशाले विगतका घटनाहरूको विवरण सुनाउँछन्। इस्राएलीहरूले परमेश्वरको कार्य, महानता, न्याय, र अनुग्रहलाई कहिल्यै बिर्सनुहुन्न थियो। मोशाले सम्झना गराए कि कसरी परमेश्वरले उनीहरू प्रति प्रशस्त अनुग्रह देखाउनुभयो, तर हरेक पल इस्राएलीहरू परमेश्वरको विरूद्धमा उठे, अनि परमेश्वरलाई दुखित तुल्याए। उहाँले अनि न्याय गर्नुभयो।
  • परमेश्वरको कृपा, अनुग्रह र महानता जो हाम्रो जीवनमा प्रकट भएको छ, कहिल्यै नबिर्सौं।

अध्याय ४

  • अब इस्राएलीहरू आफ्नो लामो यात्राको अन्त्यतिर आएका थिए। उनीहरू अन्यजातिहरू बस्ने ठाऊँ कनानमा जाँदै थिए। तर त्यहाँ जान अघि उनीहरूको हृदय ठीक हुन आवश्यक थियो।
  • विगतबाट पाठ सिक्दै, परमेश्वरको भयमा जिउन मोशाले उत्साह दिन्छन्। कनान देशमा रहँदा इस्राएलीहरू एक विशेष जातिको रूपमा रहनुपर्थ्यो – यस्तो जाति जसबाट सारा संसारले परमेश्वर चिन्नुपर्थ्यो। उनीहरूको जिम्मेवार ठूलो थियो, र यस जिम्मेवार पूरा गर्न उनीहरू परमेश्वरको आज्ञा र व्यवस्थामा स्थिर रहनुपर्थ्यो। यसका लागि मोशाले उनीहरूलाई तयारि बनाउन खोजे।
  • हामी विश्वासीहरूलाई सारा संसारलाई परमेश्वर चिनाउने जिम्मेवार छ। यस विशेष अवसर र कार्यका लागि के हामी तयार छौं? परमेश्वर र उहाँको वचनमा स्थिर हुनु नै हाम्रो तयारि हो।

अध्याय ५

  • परमेश्वरले दिनुभएको १० आज्ञाहरूलाई मोशाले सम्झना गराउँछन्। इस्राएलीहरूले यी आज्ञाहरू पालन गर्नुपर्थ्यो। तर यदि उनीहरूले यी आज्ञाहरू बिर्से भने कसरी पालन गर्लान् त? यी आज्ञाहरू दोहोर्याइँदा इस्राएलीहरूलाई फाइदा हुन्थ्यो। उनीहरूले यी आज्ञाहरू सुन्नु पर्थ्यो, सिक्नु पर्थ्यो, र होसियारसाथ पालन गर्नु पर्थ्यो। यी आज्ञाहरू पहिलो पटक दिँइदा पहिलो पुस्ताका इस्राएलीहरूलाई दिइएको थियो। तर अब दोस्रो पुस्ताका लागि दोहोर्याइदै छ। परमेश्वरको आज्ञा दोस्रो पुस्ताका लागि पनि थियो। उहाँको वचन अनन्त छ। परमेश्वरको वचन, पुस्ता-पुस्ताको लागि वचन हो!
  • के हामी परमेश्वरको वचन र आज्ञाहरू जान्दछौं? यदि बिर्सेका छौं भने कसरी पालन गर्न सक्छौं? त्यसैले नै नियमित रूपमा उहाँको वचनको सम्झना गर्नु, दोहोर्याएर हेर्नु आवश्यक छ। नियमित बाइबल अध्ययन अत्यावश्यक छ। अर्को पुस्तालाई सिकाउनु जरूरि छ।

अध्याय ६

  • मोशाले थप अर्ती-उपदेशहरू दिन्छन्। उनी पक्का गर्न चाहान्थे कि यो दोस्रो पुस्ताका इस्राएलीहरूले पहिलो पुस्ताले गरे झैं गल्तीहरू नगरून्, तर परमेश्वरले भन्नुभए अनुसार अघि बढुन्। उनले इस्राएलीहरूलाई यस पुस्तकमा बारम्बार उत्साह दिन्छन् कि – परमेश्वर, उहाँको वचन र उहाँको कार्यलाई कहिल्यै नबिर्सनू।
  • परमेश्वरको महानता एक पुस्तादेखि अर्को पुस्तामा बताइरहनुपर्थ्यो – सत्यता पुस्तौं पुस्तौंसम्म हस्तान्तरण हुनुपर्थ्यो। यसको लागि आमा बुबाले ठूलो भूमिका निभाउनुपर्थ्यो। आफ्ना नानीहरूलाई घोर परिश्रमसाथ हर समय परमेश्वरको विषयमा सिकाउनुपर्थ्यो। इस्राएलीहरूको हरेक परिवार नै परमेश्वरको नजिकमा जिउने परिवार हुनुपर्थ्यो। यस्तो परिवार जो उहाँको वचनको नजिक छ।
  • के तपाईको परिवार परमेश्वरको नजिक छ? तपाईको परिवारमा परमेश्वरको वचनले कस्तो स्थान पाएको छ? के तपाई आफ्ना नानीहरूलाई सत्यता सिकाउन परिश्रम गरिरहनुभएको छ? के हामी अर्को पुस्तालाई परमेश्वरको विषयमा बताइरहेका छौं?

अध्याय ७

  • कनान देशका अन्यजातिहरू मूर्तिपूजक मानिसहरू थिए। उनीहरू परमेश्वरको दृष्टिमा साह्रै घृणित थिए। इस्राएलीहरू होसियार रहनुपर्थ्यो। यी मूर्तिपूजकहरूको संगत र प्रभावबाट अलग रहनुपर्थ्यो।
  • संसारको दुष्ट संगत र प्रभावबाट कसरी बच्ने? मोशाले यस अध्यायमा सिकाए अनुसार खराब प्रभावबाट जोगिन यी कुराहरूलाई ध्यान दिनुपर्ने रहेछ – १. त्यस प्रभावको श्रोतलाई नाश गर्नु अथवा पूर्ण रूपमा त्यस प्रभावको श्रोतलाई हटाउनु। यो श्रोत व्यक्ति हुन सक्छ या कुनै वस्तु। २. परमेश्वरको चरित्र र कार्यहरूलाई विचार गर्नु। ३. परमेश्वरको वचनलाई प्रेम र पालन गर्नु।

अध्याय ८

  • इस्राएलीहरू जान लागेको ठाऊँ साच्चै अद्भूत ठाऊँ थियो। यस विषयमा मोशाले उनीहरूलाई सम्झना गराउँछन्। विगतबाट पाठ सिकेर अब भविष्यको लागि उत्साहि हुँदै वर्तमानमा परमेश्वरको भयअनुसार अघि बढ्न मोशाले अर्ती दिन्छन्।
  • यो अर्ती आज हामी प्रत्येकको लागि पनि फाइदाजनक छ।

अध्याय ९

  • मोशाको डर यो थियो – कनानमाथि विजय पाए पछि सायद इस्राएलीहरू घमण्डले फुलिएला कि? हाम्रै कारणले गर्दा विजय पाइयो, यहाँसम्म आइयो भनी फूर्ति लाउलान् कि? इस्राएलीहरूले प्रष्ट बुझ्न आवश्यक थियो कि उनीहरूको कारणले यात्रा सफल भएको होइन, हुनेछैन। उनीहरू त बाच्छालाई पुज्न लागेका थिए। एक पाइला पनि परमेश्वरको अनुग्रह र सहायताबिना अघि बढेन।
  • आज तपाई र मेरो जीवनलाई हेरौं। जहाँसम्म आइपुगेका छौं, सबै परमेश्वरकै कारणले हो। (१ कोरिन्थी १५:१०)

अध्याय १०

  • मोशाले इस्राएलीहरूलाई परमेश्वरले माग गर्नुभएको र उहाँले चाहानुहुने कुराहरू बताउँछन्। परमेश्वरले चाहानुभएको कुराहरू यी नै थिए – उहाँको भय मान्नु, उहाँको मार्गमा हिँड्नु, उहाँलाई प्रेम गर्नु, पूर्ण हृदयले उहाँको सेवा गर्नु, र उहाँको वचनहरू पालना गर्नु। यी कुराहरू गर्दा इस्राएलीहरूको भलाइ हुनेथ्यो। परमेश्वरको इच्छा अनुसार जिउन रोज्नु नै भलाइको जीवन रोज्नु हो।
  • आज तपाई र मबाट पनि परमेश्वर यहि चाहानुहुन्न र? के परमेश्वरप्रतिको हाम्रो भय, हिँडाइ, प्रेम, सेवा र आज्ञाकारिता इस्राएलीहरूको भन्दा कम हुनुपर्छ होला र? परमेश्वरको इच्छा अनुसार जिऔं, उहाँको अगुवाइलाई पछ्याऔं, अनि हाम्रो जीवनमा भलाइ र करूणाको कमि हुनेछैन। (भ.सं. २३:)

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *