संगीतको उत्पत्ति
संगीतको सुरुवातकर्ता र सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ । कलस्सी १:१६ मा हामी पढ्छौं,
“किनभने स्वर्गमा भएका र पृथ्वीमा भएका कुराहरु, देखिने र नदेखिने कुराहरु, चाहे सिंहासनहरु, चाहे प्रभुताहरु, चाहे प्रधानहरु, चाहे अधिकारीहरु, सबै उहाँ (येशू ख्रीष्ट)द्वारा नै सृष्टि गरिएका हुन्; सबै कुराहरु उहाँद्वारा र उहाँकै निम्ति सृष्टि गरिएका हुन् ।”
संगीत श्रव्य हो तर दृष्य होइन । मलाई बताइएको थियो कि बहिरा मानिसहरुले पनि कम्पनहरुको महसुस गरेर केही निश्चित संगीत “सुन्न” सक्छन् । संगीत, त्यसोभए, परमेश्वरले सृष्टि गर्नुभएको अदृश्य सृष्टि हो ।
त्यहाँ पवित्रशास्त्रका दुईवटा खण्डहरु छन् जहाँ परमेश्वरले सांगीतिक क्षमताले पूर्ण लुसीफर स्वर्गदूत, बिहानको ताराको बिषयमा बताउदँछ ।
“तेरो रवाफ र तेरा सितारहरुको आवाज तल चिहानमा झारिएका छन्; तँमनि औंसाहरु ओछयाइएका छन्, र कीराहरुले तँलाई ढाक्छन् ।” यशैया १४:११
“तँ परमेश्वरको बगैंचा अदनमा थिइस्; तेरो पहिरन हर प्रकारको बहुमूल्य पत्थरको थियो – लालमणि, पुष्पराज, हीरा, फिरोजा, गोमेद, स्फटिक र सुन थियो; जुन दिन तँ सृष्टि गरिइस्, त्यही दिनमा तेरा खैंजडीहरु र तेरा बाँसुरीहरुको कारिगरीचाहिँ तँमा तयार भयो ।” इजकिएल २८:१३
यी माथिका पदहरुमा हामी तीन प्रकारका सांगीतिक उपकरणहरुका नाम पाउँदछौः सितार, खैंजडी र बाँसुरी । यी सबै नै महत्वपूर्ण छन् ।
सितारः फूलदानी आकारको लामो सांगीतिक उपकरण – जसले धुन (harmony) उत्पन्न गर्दछ ।
खैंजडीः डम्फु आकारको उपकरण – जसले ताल उत्पन्न (rhythm) गर्दछ ।
बाँसुरीः निगाँलो-जस्तो वायु उपकरण – जसले लय (melody) उत्पन्न गर्दछ ।
परमेश्वरले लुसिफरलाई यी विभिन्न र पूर्ण संगीत उत्पन्न गर्ने दक्षता दिनुभयो । उसँग आफ्नो सृष्टिकर्तालाई महिमा दिनका लागी लेख्न र प्रस्तुत गर्न सबै कुराहरु थिए – लय, धुन र ताल । थप केही बेरमा ।
परमेश्वरले यो उपहार लुसिफरका लागी मात्र दिनुभएको थिएन तर मानिसहरुलाई पनि दिनुभएको थियो । परमेश्वरको वचन भरि नै हामी संगीतको बारेमा पाउँदछौं । मानिसहरुले संगीत विभिन्न उद्देश्यका साथ प्रयोग गरेको पाउँछौं ।
चाड मनाउन, आराधना गर्न, सञ्चार गर्न, चेतावनी दिन, प्रशंसा गर्न र उत्साह दिनका लागी संगीत प्रयोग गरिन्थ्यो ।
बाइबलमा उल्लेख भएका पहिलो संगीतकार यूबाल, लेमेकका छोरा हुन् । कैनको वंशावली, “….त्यो चाहिँ सबै वीणा र बाँसुरी बजाउनेहरुको पुर्खा भयो ।” (उत्पत्ति ४:२१) । तार र वायु उपकरणहरुमा यूबाल महारत प्राप्त थिए जसमा अवश्य पनि संगीतका विशेषता – लय, धुन र ताल थियो ।
पूरा बाइबलमा नै संगीतलाई महत्व दिइएको छ र जुन निम्नानसार छन्:
- राजा सुलेमानले १००५ गीतहरु लेखे (१ राजा ४:३२) ।
- राजा दाउद र सुलेमानले संगीतका उपकरणहरु बनाए (२ इतिहास ९:११) ।
- हेमान र उनका सन्तानहरु इस्राएलका शिक्षक र इस्राएलको संगीत समूहका निर्देशक थिए (१ इतिहास२५:१,४-६) ।
- भजनसंग्रहको पुस्तक इस्राएलको गीतसंग्रह हो ।
- पवित्रशास्त्रका गीतकारहरु निम्नानुसारका छन्:
- मोशा – प्रस्थान १४ (लाल समुन्द्र पार गर्दा) र व्यवस्था ३२ (परमेश्वरको महानता इस्राएललाई )
- दबोरा – न्यायकर्ता ५ (सिसराबाट छुटकारा)
- दाउद – १ शमूएल २२ (शत्रुहरुबाछ छुटकारा)
- सुलेमान – श्रेष्ठगीत (उनका श्रीमतीका लागि प्रेमगीत)
- यशैया – यशैया ५:१-७ (परमेश्वरको दाखबारी)
- हबकुक – हबकुक ३:१-१९ (परमेश्वरको मानिसहरुको लागि मुक्ति)
- मोशा र येशू (भविष्यका सह-लेखकहरु) – प्रकाश १५:३-४ (तपाईको कार्यहरु महान छन्)
- प्रभु-भोज पछि येशूले आफ्ना चेलाहरुसँग भजन गाउनुभयो (मत्ती २६:३०) ।
- स्वर्गमा गाइने नयाँ गीतका शब्दहरु हामी प्रकाश ५:९मा पाउछौं ।
अनि उनीहरुले यसो भन्दै एउटा नयाँ गीत गाएः “तपाईं यो पुस्तक लिन र यसका छापहरु खोल्न योग्यका हुनुहुन्छ; किनकि तपाईं मारिनुभयो, र आफ्नै रगतद्वारा तपाईंले हरेक कुल, भाषा, मानिस र जातिबाट हामीलाई परमेश्वरका निम्ति किनेर छुट्टाउनुभएको छ”
प्रकाशको पुस्तकमा यो अन्तिम गीतहरुमा येशू ख्रीष्टलाई महिमित गरिएको छ । येशूले सबै महिमा पाउनु हुनेछ जसको लागि उहाँ योग्य हुनुहुन्छ । के तपाईं उहाँलाई चिन्नुहुन्छ? के तपाईंले तपाईंको पापका लागि उहाँको बहाइएको रगतमा विश्वास गर्नुभएको छ र उहाँलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रुपमा स्वीकार गर्नुभएको छ?
(थोमस निकरबकरद्वारा लिखित ‘संगितमा परमेश्वरको बनोट’ नामक पुस्तकबाट साभारित)