सि. टि. स्टड
सि. टि. स्टड वेलायती मिसनरी हुन्। उनी इंग्ल्यान्डको क्रिकेट खेलाडि पनि थिए। क्रिकेट खेलाडिको रूपमा उनले ठूलो प्रख्याति कमाएका थिए। प्रख्यातिका साथै उनीसँग प्रशस्त धनसम्पत्ति पनि थियो। उनको बुबा धनाड्य थिए। उनको दाइ जोर्ज पनि प्रख्यात क्रिकेट खेलाडि थिए। जब एकदिन उनको दाजु शिकिस्त बिरामी भए, उनले सोचे, “अब मेरो दाइको लागि सबै प्रख्याति र धनको के काम भयो र?” उनले बुझ्न थाले कि धन र मर्यादाले मानिसको प्राण बचाउन सक्दैन। उनले आफ्नो जीवन अर्थपूर्ण कुराको लागि समर्पित गर्ने निर्णय गरे। आफ्नो जीवनको सहि उपयोग र अर्थपूर्ण प्रयोग परमेश्वरको सेवामा नै रहेछ भनी उनले बुझे। त्यसपछि उनले मिसनरीको रूपमा आफ्नो जीवन अर्पिए। आफ्नो क्रिकेटको प्रख्याति र धनलाई छोडेर उनी मिसनरीको रूपमा हडसन टेलरसँग काम गर्न चाइना पुगे। आफ्नो बुबा मरेपछि उनले पाएको ठूलो पैतृक सम्पत्ति उनले परमेश्वरको कामका लागि विभिन्न संस्थाहरू र अरू मिसनरीहरूलाई बाँडिदिए। उनले केहि ख्रीष्टियन किताबहरू पनि लेखे।
मिसनरी सेवाको क्रममा उनी भारत पनि पुगे। उनले त्यहाँ ६ वर्ष जति एक मण्डलीको पास्टर बनी सेवा गरे। एक दिन उनले एक जर्मन मिसनरीबाट अफ्रिकाको अवस्थाको विषयमा सुने र उनी अफ्रिका पनि पुगे। सन् १९१० मा उनी सुडान भन्ने देशमा पुगे। सन् १९१३ मा उनी कंगो भन्ने देशमा पनि गए। उनले करिब १५ वर्ष चाइनामा सेवा गरे, करिब ६ वर्ष भारतमा र बाँकी जीवन अफ्रिकामा सेवा गर्दै बिताए। उनको सेवाकाइबाट धेरै प्रभावित भएका छन्। हिब्रु ११:२५, २६ मा लेखिएको छ, “थोरै समयसम्म पापको मोजमज्जा भोग्नुभन्दा बरु परमेश्वरका जनहरूसँग दुःख भोग्नु नै तिनले रोजे; तिनले ख्रीष्टको निन्दालाई चाहिँ मिस्रको धनसम्पत्तिभन्दा ठूलो धन सम्झे; किनकि तिनको आँखा इनामतिर लागेको थियो।” साँच्चै यो वचन सि. टि. स्टडको जीवनमा पूरा भएको थियो। आफ्नो प्रख्याति र धन दौलतलाई त्यागेर उनले कष्टहरूबीच पनि परमेश्वरको लागि विभिन्न ठाउँहरूमा दुख भोगे। उनको जीवन आजको भौतिकवादले व्याप्त संसारमा हामी सबैको लाग उत्तम उदाहरण बनेको छ।