हे ख्रीष्टियन युवा
एक व्यक्तिले आफ्नो युवा अवस्थामै ख्रीष्टलाई चिन्नु जस्तो ठूलो आशिष अरू कमै होला। धेरैले यो अवसर पाएका छैनन्। धन्य तिमी ख्रीष्टियन युवा कि तिमी युवाअवस्थामै आफ्नो सृष्टिकर्तालाई चिन्दछौ। धन्य तिमी ख्रीष्टियन युवा कि तिमी आफ्नो युवा जोशमा ख्रीष्टको सेवा गर्न सक्दछौ। आफ्नो बल्दो युवा जोशमा प्रभुको सेवा गर्न पाउनुको मिठास अवर्णनीय छ। तर यो ठूलो अवसरको साथै त्यहाँ ठूला चुनौतीहरू पनि छन्। युवाहरूलाई शैतानले विशेष निशानामा राख्दछ। एक युवालाई परमेश्वरबाट टाढा राख्न पाए, उसको जीवन नै मृत्युको वशमा राख्न सकिन्छ भन्ने धेय शैतानको छ। ती कलिला वर्षहरूमै एक मानिसको मन मष्तिस्कलाई मोड्न पाए, त्यो मानिसको प्राण नै सदाको लागि जित्न सकिने उद्देश्य लिई शैतान आफ्ना दौंतरीहरू शरीर र संसारको साझेदारीमा युवाहरूलाई परमेश्वर र उहाँको सत्यबाट भड्काउन सक्रिय छ। युवाहरू यस आत्मिक युद्धको अग्रपंक्तिमा छन्।
शरीरका अभिलाषाहरू र संसारको प्रभाव अति आकर्षक
बन्न पुग्छ एक युवालाई। अझ साथीसंगतको मीठो जालमा धेरै युवाहरू तीतो भविष्यतिर
उन्मुख हुन्छन्। जति जति समय अघि बढ्दैछ, त्यति त्यति शैतानको सक्रियता बढ्दो
देखिन्छ। आधुनिक अविष्कारहरू र उपकरणहरूको आडमा युवाहरूलाई ख्रीष्टबाट टाढा राख्ने
काममा शैतान निकै प्रभावकारि भएको देखिन्छ। टिभीबाट शुरू गरेर साइबर, कम्प्युटर
हुँदै अब हातहातमा फोन मार्फत युवाहरू शैतानको दुष्ट प्रभाव र तरङमा रूमल्लिएका
छन्, हराएका छन्, नाश हुँदै छन्। ख्रीष्टियन परिवारमा नहुर्केका युवाहरूको त कुरै
नगरौं, तर ख्रीष्टियन परिवारमा जन्मी हुर्केका युवाहरूको हविगत पनि दयनीय छ।
टिभीमा खराब कुरा नेहेर्नु, संसारिक संगीत नसुन्नु, संसारिक संगत नगर्नु, आदि जस्ता
उचित सल्लाहहरूलाई धेरैपटक युवाहरूले खुशी खोस्न बनाइएका अनावश्यक नियमहरू
ठान्छन्। हव्वालाई शैतानले धेरै वर्ष पहिले यसरी नै फसाएथ्यो। असल र खराबको रूखको
फल खानबाट मनाहि गरेर परमेश्वरले आदम र हव्वालाई असल कुराबाट वन्चित गर्नुभएको हो
भन्ने झुट शैतानले मज्जाले हव्वामा रोप्न सफल भयो। अनि त्यसको परिणाम के भयो त्यो
त हरेक मानिसले आज भोगिरहेको छ। त्यसरी नै युवाहरू झूटका पिताबाट यहि भ्रममा फसेको
देखिन्छ। संसारबाट अलग हुनु र पवित्रतामा अघि बढ्नाले जीवन बोरिङ हुन्छ। के रमाइलो
छ र ख्रीष्टियन हुनुमा? संसारमा पो रमाइलो छ त! हुनु पनि हो, शरीरले सधैं
संसारप्रति झुकाव राख्दछ।
क्षणिक कुराको पछि लाग्नु र परमेश्वरको वचनमाथि
विश्वास नगर्नु नै यस भ्रमको प्रमुख कारक देखिन्छ। युवाहरू क्षणिक मनोरन्जन र लाभ
तृप्तिको पछि लाग्दा बाटो बिराउँछन्। अनि परमेश्वरको वचनको वेवास्ता र अविश्वासले
उनीहरूलाई विनाशको बाटोमा डोर्याउँछ। एक दिन हरेक मानिसले परमेश्वरको सामु लेखा
दिनुपर्छ, अँ हरेक युवाले पनि। अनि हाम्रो न्याय सत्यता अनुसार गरिन्छ (रोमी २:२)।
यो बुझाइको कमिले युवाहरू पीडित छन्। रमाइलो खोज्न संसारमा होमिन्छन् तर जीवन
खल्लो भईरहेको पत्तो पाउँदैनन्, खुशी अनुभव गर्न संसारलाई अङ्गाल्छन् तर पीडाको
लात्ति खाएको होश हुँदैन, साहारा खोज्न संसारमा अढेस लाउँछन् तर जीवन लड्दै गएको
महसुस गर्दैनन्, एक्लोपनाको औषधी खोज्दै संसारतिर दगुर्छन् तर मृत्युको विष
खाईरहेको वास्तविकता बुझ्दैनन्, प्राणको तृष्णा मेट्न संसारको भोजनको पछि लाग्छन्,
तर सपनामा खाए जस्तो मात्रै भएको थाहै गर्दैनन्, अनि जीवनको अर्थ खोज्न संसारमा
डुब्छन् तर जीवन व्यर्थमा फालिरहेको चालै पाउँदैनन्।
झूटको ओखति सधैं सत्य हो। सत्यता यो हो कि हरेक
युवाले येशू ख्रीष्टमा र उहाँमा मात्रै साँचो आनन्द, रमाहट, साहारा, साथ, तृप्तता,
अनि जीवनको अर्थ पाउँदछ। अरू उपाय छैन! अनि जतिजना युवाहरू पापबाट पश्चताप गरी
ख्रीष्टको पछि लागिरहेका छन् – यात्रा चुनौतीपूर्ण छ। शरीर, संसार, र शैतानको
विरोध र आक्रमण त छँदै छ, यसको साथै अनुभवको कमी र परिपक्वताको अभावले पनि चुनौती
दिन सक्छ।
जसरी एक युवा प्रभुको लागि जोशसाथ अघि बढ्न
चाहान्छ, वाधाहरू पक्कै आउँछन् भनी उसले बुझ्नुपर्छ। उमेर, अनुभवको कमि, अनि
अपरिपक्वताले एक युवालाई साथ नदिन सक्छ। अनुभवको कमिको आडमा एक युवा तुच्छ ठानिन
सक्छ। यो स्वभाविक हो। एक युवाले यसलाई मानिलिन तयार हुनुपर्छ। कि प्रत्येक युवा
जो ख्रीष्टमा र उहाँको सेवामा जोशसाथ अघि बढ्न चाहान्छ, उसले शुरूमै प्रष्ट बुझोस्
कि उसको जवानीलाई तुच्छ ठानिने कार्य अवश्य हुनेछ। त्यसैले त पावलले तिमोथीलाई
उत्साह दिनु परेको थियो, “कुनै मानिसले पनि तिम्रो जवानीलाई तुच्छ ठान्न नपाओस्…”
(१ तिमोथी ४:१२)। उनले भने “ठान्न नपाओस्”, अथवा
तुच्छ ठानिन सक्छ त्यसैले अवसर नदेओ। धेरै युवाहरू निराश हुनु र ख्रीष्टमा जोशसाथ
अघि बढ्न नसक्नुको कारण यहि हो। शैतान, संसार र शरीरको विरोध त छँदै छ तर
विश्वासीहरू र अरू मानिसहरूबाट तुच्छ ठानिएको अवस्था पनि कम चुनौतीपूर्ण छैन। विजय
यसमा छ – “…तिमी विश्वासीहरूका लागि नमुना बन।” (१ तिमोथी ४:१२)।
यी चुनौतीहरूले एक युवालाई निराश नबनाओस्, तर ऊ प्रभुको सामर्थ्य र आत्माको
भरपूरीमा आफ्नो ख्रीष्टियन जीवनमा उदाहरणीय बनोस्। हो त्यहाँ वाधाहरू छन्, हो
त्यहाँ चुनौतीहरू छन्, हो त्यहाँ शैतान छ, हो त्यहाँ शरीर छ, हो त्यहाँ संसार छ,
हो त्यहाँ तुच्छ ठान्नेहरू छन्, तर हे युवा नबिर्स त्यहाँ ख्रीष्ट पनि हुनुहुन्छ!
हामी आफ्नै सामर्थ्यमा यो ख्रीष्टियन जीवन जिउन सक्दैनौं। न हाम्रो उमेर हाम्रो
पक्षमा छ, न त हाम्रो अनुभव। हो युवा तिमी अनुभवमा धनी छैनौं, बुद्धिमा पनि सायद
गरीबै छौ, परिपक्वता र व्यवहारिकतामा अझै बढ्नु बाँकी छ, तर यो सबै कुरा जानेर नै
येशू ख्रीष्टले तिम्रो लागि आफ्नो अमूल्य जीवन दिनुभयो। तिम्रो विगतको पापमय जीवन,
तिम्रो दुष्टता, अपराध र कमजोरीहरू सबै उहाँलाइ थाहा छ, तरै पनि भन्नुहुन्छ –
“मकहाँ आऊ, म तिमीलाई विश्राम दिनेछु।”
आफ्नो कमजोरि
महसुस गर्दै हरेक पल ख्रीष्टमा आश्रित भई जिउनु – यो हो विजय!
मानिसले तुच्छ ठान्यो भनेर हताश नबनौं। तुच्छ
मानिसलाई तुच्छ ठानिनु के ठूलो कुरा हो र? के हामी सबै तुच्छहरू होइनौं र? अनुग्रहले
बाँचेकाहरू, धुलाका सन्तानहरू मात्रै हौं। हो हामी साँच्चै तुच्छ ठानिन योग्यका
छौं, तर प्रभुलाई धन्यवाद होस् उहाँको अनुग्रहद्वारा हामी दिन प्रतिदिन ख्रीष्ट
जस्तै बनिँदै जान सक्छौं। क्रमिक रूपमा ख्रीष्टको रूपमा ढालिँदै जाऔं, एक उदाहरणीय
ख्रीष्टियन जीवनमा अघि बढ्दै जाऔं। निराश, हताश भई बस्ने छुट हामीलाई छैन। हामी
ख्रीष्टका योद्धाहरूलाई हरेश खाई बस्ने फुर्सद कहाँ छ र? त्यसैले जुरूक्क उठौं,
निराशाको आँशु पुछौं र ख्रीष्टको सामर्थ्यमा लडाई गरौं, संघर्ष गरौं! नयाँ पुस्तालाई
ख्रीष्ट चिनाऔं, यस देशभर अनि यस संसारभर सुसमचार फैलाऔं!
हे युवा, तिम्रो कुनै पनि कमजोरीले तिमीलाई
ख्रीष्टको नापमा बढ्दै जान र उहाँको लागि जोशिलो हुनबाट नरोकोस् – नता शैतानका
परीक्षाहरूले, नता शरीरका अभिलाषाहरूले, नता संसारको प्रभावले, नता उमेरको कमिले,
नता अनुभवको कमिले, नता तुच्छ ठान्नेहरूको कारणले। यी सबै चुनौतीहरूका आँधी बीचमा
पनि तिम्रो ख्रीष्टप्रतिको जोशको दियो बलिरहोस्, चम्किरहोस्! धन्य तिमी ख्रीष्टियन
युवा कि तिमी युवाअवस्थामै आफ्नो सृष्टिकर्तालाई चिन्दछौं। धन्य तिमी ख्रीष्टियन
युवा कि तिमी आफ्नो युवा जोशमा ख्रीष्टको सेवा गर्न सक्दछौ। धन्य तिमी ख्रीष्टियन
युवा कि तिम्रा सारा दुर्बलतामा ख्रीष्टको सामर्थ्य सिद्ध हुँदछ। धन्य तिमी
ख्रीष्टियन युवा कि तिमी विजयी हुँदछौ!