बाइबल ज्ञान — जीवन दिने ज्ञान
Facebook ↗YouTube ↗सम्पर्क

निद्रा, शान्ति र चैन

निद्रा, शान्ति र चैन

भजनसंग्रह ३:५ मा लेखिएको छ, “म सुतें र निदाएँ; म बिउँझें; किनकि परमप्रभुले मलाई सम्हाल्नुभयो।”

सुत्दैमा निद्रा लाग्छ भन्‍ने निश्‍चित हुँदैन, अनि निदाउँदैमा आराम मिल्छ भन्‍ने निश्‍चित हुँदैन, साथै निदाए पछि बिउँझिइन्छ भन्‍ने पनि निश्‍चित हुँदैन। हरेक दिन जब रात पर्छ मानिसहरू ओछ्यानमा लेट्छन् तर धेरैजना निदाउन सक्दैनन्। कति त निदाएपछि कहिल्यै बिउँझिदैनन्। भजनसंग्रह लेखकले परमेश्‍वरको दैनिकी अनुग्रह र कृपालाई यस पदमा प्रस्ट पारेका छन्। परमेश्‍वरद्वारा सम्हालिएकाहरू नै सुत्छन्, निदाउँछन् र ताजा भई बिउँझन्छन्।

श्रापित संसारमा श्रापित शरीर लिई जिउँदा कठिन परिस्थितिहरू र विचलित पार्ने समस्याहरूको सामना गर्नुपर्ने हुँदछ। सुत्‍नु, निदाउनु र बिउँझनु जीवनको सामान्य दैनिकी हुनुपर्नेमा, विभिन्‍न चुनौतीहरूको कारण त्यो नहुन सक्छ। वास्तवमा सुत्‍नु, निदाउनु र बिउँझनु आशिषित जीवनको एक पाटो हो। प्रभुका जनहरू रमाउन सक्छन् यो जानेर कि सबै जटिलताबीच परमप्रभुले हामीलाई सम्हाल्नुहुन्छ; र नै हामी सुत्‍छौं, निदाउँछौं अनि ताजा भई बिउँझन्छौं। परमेश्‍वरको सहायतामा आराम पाई नयाँ दिन सामना गर्न बल पाउँछौं।

भजनसंग्रह ४:८ मा लेखिएको छ, “शन्तिसित म सुत्‍नेछु र निदाउनेछु; किनकि हे परमप्रभु, तपाईले मात्र मलाई सुरक्षासाथ बस्‍ने तुल्याउनुहुन्छ।” शान्तिसित सुत्‍नु र निदाउनु कति ठूलो आशिष! यस वेचैन संसारमा यो ईश्‍वरीय चैनको अनुभव गर्नु कति अद्भूत! परमप्रभुको निगाहको कारण हामी चैनमा सुत्‍न सक्छौं, शान्तिसाथ निदाउन सक्छौं। यो सानो कुरा होइन! पैसा र मोजमज्जाका लालसामा वेचैन यस संसारमा यो प्रकारको शान्तमय विश्राम विरलै पाइन्छ। तर प्रभुमा भरोसा गर्नेहरूका लागि सबै अन्यौलताबीच शान्तिको निद्रा उपलब्ध छ!

परमप्रभुलाई महिमा होस् जसलै नै हामीलाई निद्रा दिनुहुन्छ, चैन दिनुहुन्छ, नयाँ बलसाथ नयाँ दिनमा बिउँझाउनुहुन्छ!

के आज तपाई परमप्रभुद्वारा सम्हालिनुभएको छ? के तपाईको भरोसा र आशा परमप्रभु हुनुहुन्छ? के तपाईको जीवनमा शान्ति र चैन छ? के तपाई यसरी नै भन्‍न सक्‍नुहुन्छ? –  “म सुतें र निदाएँ; म बिउँझें; किनकि परमप्रभुले मलाई सम्हाल्नुभयो।”