बाइबल ज्ञान — जीवन दिने ज्ञान
Facebook ↗YouTube ↗सम्पर्क

प्रार्थनाको विजय

प्रार्थनाको विजय

पहिलो शमूएल – अध्याय १

हन्‍नाको जीवनबाट हामी प्रार्थनाको विषयमा महत्वपूर्ण सत्यताहरू सिक्‍न सक्छौं।

१. असह्‍य पीडा

हन्‍नाका कुनै सन्तान थिएन। उनको श्रीमाने एल्कानाले उनलाई धेरै प्रेम गरेता पनि एल्कानाको अर्को श्रीमति पनिन्‍नाले हन्‍नालाई तुच्छ ठान्थे। सन्तानविहीन भएको पीडा त छँदै थियो तर पनिन्‍नाको हेला र घृणा हन्‍नालाई सहन निकै गाह्रो थियो। हन्‍ना असह्‍य पीडामा थिईन्। धेरै पटक हामी विश्वासीहरूले पनि विभिन्‍न प्रकारका पीडाहरूको अनुभव गर्नु पर्ने हुन सक्छ – स्वास्थ्यको कारण, आर्थिक घटिकमीको कारण, पारिवारिक कारण, या अन्य केहि कुराको कारण। पीडा र संकष्टबीच हामीले गर्ने के हो त? विजय के मा छ? सान्त्‍वना र ढाडस कहाँ पाइन्छ? हन्‍नाको श्रीमान एल्कानाले उनलाई सान्त्वना दिन खोजे (१ शमूएल १:८) तर हन्‍नालाई त्यो पर्याप्त भएन। मानिसको वचनले हामीलाई पूर्ण सान्त्वना कहिल्यै दिन सक्दैन। हाम्रो आशा र गुहार केवल परमेश्वरमा छ। (भ. सं. १२१:१,२)

२. अपूर्व प्रार्थना

यो असह्‍य पीडाको अवस्थामा हन्‍नाले सहि कार्य गरिन्। उनले परमप्रभुलाई प्रार्थनामा आफ्नो पीडा पोखिन् (१ शमूएल १:१०,११)। आफ्नो दुखदायी परिस्थिति र आफ्नो मनको पीडा हन्‍नाले परमेश्वरलाई सुनाइन्। उनले विश्वास गरे कि परमेश्वरले मात्रै उनलाई सहायता गर्न सक्‍नुहुन्छ। उनी यति पीडामा थिइन् कि उनले प्रार्थना गर्ने बेलामा पूजाहारी एलीले उनलाई मातेकि स्‍त्री ठाने। हामी विश्वसीहरूको पीडा पोखाउने ठाउँ प्रार्थानामा नै हो। हाम्रो सहायता परमेश्वरमा नै छ। हाम्रा नजिककाहरूले पनि हाम्रो पीडा नबुझ्‍न सक्छन् तर परमेश्वरले हाम्रो सबै व्यथा बुझ्‍नुहुन्छ (हिब्रू ४:१५,१६; रोमी ८:२६,२७)। हन्‍नाको प्रार्थना विश्वासको प्रार्थना थियो किनभने उनले प्रार्थना गरेपछि “अब उसो फेरि उदास भइनन्” (१ शमूएल १:१८)। हाम्रो प्रार्थनाहरू विश्वासको प्रार्थना हुनुपर्दछ (याकूब ५:१५)। परमेश्वरलाई केहि माग्दा शंका नगरीकन माग्‍नुपर्दछ (याकूब १:६)। प्रार्थना गरेपछि मानौं कि जवाफ मिलिसकेको जस्तै गरी हन्‍ना उदासताबाट उठिन्। उनको प्रार्थना विश्वासको प्रार्थना थियो।

३. अद्‍भूत प्रतिफल

साँच्‍चै परमेश्वरले हन्‍नाको प्रार्थना सुन्‍नुभयो र उनले मागे अनुसार एक छोरा दिनुभयो (१ शमूएल १:१९,२०)। छोराको नाम शमूएल राखियो जसको अर्थ “परमेश्वरबाट प्रार्थनाको उत्तरमा पाएको” भन्‍ने हुँदछ। हन्‍नाले आफ्नो पीडित अवस्थामा परमेश्वरलाई प्रार्थनामा गुहारे, फलस्वरूप उनले अद्भूत प्रतिफल पाए। उनले आफ्नो प्रार्थनाको जवाफ पाए। हन्‍नाले ठूलो विजय पाइन्। के आज हामी विश्वासीहरू पनि कठिन अवस्थाहरू भएर गइरहेका छौं? हाम्रो विजय केवल प्रार्थनामा छ।

प्रार्थना सम्बन्धि केहि सत्यताहरूः

१. उहाँले हाम्रो प्रार्थना सुन्‍नुहुन्छ (१ यूहन्‍ना ५:१४, १५; यर्मिया २९:१२; १ यूहन्‍ना ५:१५; भ. सं. १८:६)। यो निश्‍चयता हामी हरेकमा हुनु आवश्यक छ।

२. हाम्रा प्रार्थनाहरू विश्वासको प्रार्थना हुनुपर्दछ (मर्कूस ११:२४)।

३. प्रार्थना गर्नमा लागिरहनुपर्दछ (रोमी १२:१२; १ थेस्सलोनिकी ५:१७; लूका १८:१)।

४. हाम्रा सबै चिन्ताहरू परमेश्वरलाई प्रार्थनामा जाहेर गर्नुपर्दछ (फिलिप्पी ४:६; १ पत्रुस ५:७; भ. सं. ५५:२२)।

५. सहि उद्देश्यको साथ प्रार्थनामा माग्‍नुपर्दछ (याकूब ४:३)।

६. परमेश्वरले प्रार्थनाको जवाफ दिनुहुन्छ (यर्मिया ३३:३; हिब्रू ११:६; मत्ती ६:६; यूहन्‍ना १५:१६; यूहन्‍ना १४:१३; लूका ११:९; भ. सं. ३४:१७)।

७. परीक्षाहरूमा विजय हुन प्रार्थना गर्नुपर्दछ (मत्ती २६:४१; लूका २१:३६)