बाइबल ज्ञान — जीवन दिने ज्ञान
Facebook ↗YouTube ↗सम्पर्क

महामारीबीच कसरी जिउने?

महामारीबीच कसरी जिउने?

आज सारा संसार कोभिडको महामारीले क्रान्त छ। एकपछि अर्को गर्दै नयाँ भेरियन्टहरूले त्रास मच्‍चाई रहेका छन्। ‘कहिले यो महामारीको अन्त्य हुने होला?’ भन्‍ने प्रश्‍न हरेकको मनमा छ। ३ वर्ष बित्दा पनि अझै यस वर्तमान महामारीको अन्त्य भएको छैन। के साँच्‍चै यो महामारीको अन्त्य होला त? यदि अन्त्य हुने हो भने कहिले हुन्छ होला? यी प्रश्‍नहरूका उत्तरको खोजमा संसारकै विशिष्ट स्वास्थ्यकर्मीहरू र वैज्ञानिकहरू लागि परेका छन् तर उत्तर प्रष्ट पाएका छैनन्।

बाइबलले भने प्रष्ट जवाफ दिँदछ। मत्ती २४:७ मा येशूले भन्‍नुभयो, “किनभने जाति, जातिको विरोधमा उठ्नेछ; र राज्य, राज्यको विरोधमा; अनि ठाउँ-ठाउँमा अनिकाल, महामारी, र भुइँचालाहरू हुनेछन्”। कुरा प्रष्ट छ कि अन्तिम दिनहरूमा महामारीहरू भईरहने छन्। त्यसैले हामीले बुझ्न आवश्यक छ कि महामारीको वास्तविक अन्त्य अहिले हुनेछैन। एउटा महामारीको अन्त्य भए पनि अर्को आउनेछ। महामारीको अन्त्य कहिले होला भन्दा पनि महामारीबीच कसरी जिउनुपर्छ होला भन्‍ने प्रश्‍न उचित हुँदछ।

            हामीले महामारीहरू बीच जिउन सिक्‍नुपर्दछ। महामारी, लडाई, अनिकाल जस्ता हरेक जटिलताबीच विश्‍वासीहरू परमेश्‍वरमा भरोसा गर्दै धीरजसाथ ख्रीष्टको लागि जिउनुपर्दछ। सबैबीच स्थिर भई असल साक्षी कायम राख्‍नुपर्दछ।

महामारी बीच कसरी  जिउने त?

  • अनन्ततालाई हेर्दै जिउने (कलस्सी ३:२)

हाम्रो हेराई अनन्ततातर्फ हुनु साह्रै महत्वपूर्ण छ। हामी यस क्षणिक संसारको लागि जिईरहेका छैनौं तर अनन्तताको लागि। संसारका मानिसहरू संसारकै लागि मरिमेट्छन्; क्षणिक आनन्द र प्राप्तिको लागि दौड-धुप गर्छन् तर विश्‍वासीहरूले जिउने तरिका फरक छ। हाम्रो निश्‍चयता यो हो कि संसारको यात्राको समाप्ति पछि हामी अनन्त घरमा जादैछौं। यो दृष्टिकोणले निराशापनलाई पराजित गर्दछ, बरू आशामा रमाउँदै सबै कठिनाइबीच अनन्तताको लागि जिउन उत्साह दिँदछ।

  • प्रभुको सेवालाई निरन्तरता दिँदै जिउने (१ कोरिन्थी १५:५८)

आज हामीलाई परमेश्‍वरको सेवा गर्ने अवसर छ। सत्य र जीवित परमेश्‍वरको सेवालाई कुनै महामारीले रोक्‍न सक्दैन, रोक्‍न मिल्दैन। सबै परिस्थितिबीच प्रभुको सेवामा विश्‍वासयोग्य भई लागिरहौं। अन्तिम सास र अवसरसम्मै प्रभुको सेवामा लाग्‍नु हाम्रो लागि कति ठूलो आशिष र अवसर! स्यावासी पाउने विश्‍वासयोग्य दास र दासीहरू बनौं।

  • आत्मिक र शारिरीक रूपमा सुरक्षित हुँदै जिउने (१ कोरिन्थी ६:१९; २ पत्रुस ३:१७, १८)

हाम्रो शरीर विनाशोन्मुख छ तर आत्मा परमेश्‍वरमा सदाको लागि सुरक्षित छ। तथापि शरीरमा रहँदा हाम्रो शरीर जो पवित्र आत्माको मन्दिर हो, हामीले यसको असल हेरविचार गर्नु बुद्धिमानी हो। महामारीबीच उचित स्वास्थ्य सुरक्षा अपनाउनु जाहेज हो। तर अझै महत्वपूर्ण कुरा आत्मिक सुरक्षालाई ध्यान दिनु हो। महामारीको कारण सभा-संगतिहरूबाट बन्चित हुने अवस्थाहरू आउन सक्छन् जसले आत्मिक चिसोपना ल्याउन सक्छ। आत्मिक स्वास्थ्यलाई उच्‍च प्राथमिकता दिई बाइबल अध्ययन र प्रार्थनलाई निरन्तरता दिनु अत्यावश्यक हुँदछ।

  • अरूलाई सहायता र उत्साह दिँदै जिउने (१ थेस्सलोनिकी ५:११)

कठिनाइहरूमा हामी स्वार्थी बन्‍ने खतरा हुँदछ। सबैलाई जटिलता भईरहँदा आफ्नो सुरक्षा र भलाइको मात्रै चिन्ता नगरी, अरू प्रियजनहरू र मानिसहरूका खाँचोहरूमा सहायता गरी हामी ख्रीष्टिय प्रेम देखाउन सक्दछौं। ईश्‍वरीय प्रेम बलिदानी प्रेम हो। महामारीको जटिलताबीच अरूहरूको चिन्ता र वास्ता गरौं। एक-अर्काको बोझ उठाऔं, एक-अर्काको लागि प्रार्थना गरौं, एकअ-र्कालाई सहायता गरौं, उत्साहा दिऔं।

  • आत्मा जित्‍ने काममा सक्रिय हुँदै जिउने (हितोपदेश ११:३०)

महामारीले त्रसित मानिसहरू जो आशाको खोजिमा छन्, उहाँहरूलाई जिउँदो आशा येशू ख्रीष्ट चिनाउनु हाम्रो जिम्मेवारी हो। हर प्रकारका अनिश्‍चयताहरूबीच येशूमा निश्‍चयता, पाप क्षमा छ भन्‍ने शुभ खबर हरेक मानिसलाई बताउनु हाम्रो बोझ हुनुपर्दछ। समय हुँदै धेरैको आत्मा जित्‍ने कार्यमा प्रार्थनासाथ हामी सक्रिय हुनुपर्दछ।