बाइबल ज्ञान — जीवन दिने ज्ञान
Facebook ↗YouTube ↗सम्पर्क

येशूले किन बप्तिस्मा लिनुभयो?

येशूले किन बप्तिस्मा लिनुभयो?

बप्तिस्मा दिने यूहन्‍नाले यर्दन नदीमा बप्तिस्मा दिईरहेका थिए। मत्ती ३:१ अनुसार उनको सन्देश ‘पश्‍चताप गर्नु’ भन्‍ने सन्देश थियो। अनि मत्ती ३:६ अनुसार यो बप्तिष्मा चाहिँ पाप स्वीकार्नेहरूका निम्ति थियो। त्यसो भए येशूले किन बप्तिस्मा लिनुभयो त? के उहाँ पापरहित हुनुहुन्‍न र? के उहाँले पनि पाप स्वीकार्दै बप्तिस्मा लिनु आवश्यक थियो?

मत्ती ३:१४ अनुसार प्रष्ट हुन्छ कि यूहन्‍नाले बुझेका थिए कि येशूले त्यस बप्तिस्मा लिनु आवश्यक थिएन। अर्थात् उहाँमा पाप थिएन। येशू कन्या मरियमद्वारा जन्मनुभएको थियो। उहाँ पापरहित हुनुहुन्थ्यो। बप्तिस्मा दिने यूहन्‍नाले उहाँलाई बप्तिस्मा लिनबाट रोक्‍न खोजे तर येशूले जवाफ दिनुभयो, “अहिले यस्तै हुनदेऊ, किनभने यसरी नै सबै धार्मिकता पूरा गर्नु हामीलाई उचित छ।” (मत्ती ३:१५)

येशूले पाप क्षमा गर्दै बप्तिस्मा लिनुभएको होइन किनभने उहाँ पापरहित हुनुहुन्थ्यो। तर उहाँको जवाफबाट हामी केहि कुराहरू बुझ्‍न सक्दछौ। उहाँले धार्मिकता पूरा गर्नलाई बप्तिस्मा लिनुभयो। अर्थात् परमेश्‍वरको इच्छा पूरा गर्नलाई। २ कोरिन्थी ५:२१ अनुसार उहाँमा हामी धर्मी ठहरिऔं भनेर पापै नजान्‍नु हुने येशू हाम्रो लागि पाप बन्‍नुभयो। सारा मानव जातिको प्रतिनिधित्व गर्दै ख्रीष्ट क्रूसमा बलि हुन संसारमा आउनुभएको थियो। यस बप्तिस्माद्वारा उहाँले आफूलाई पापी मानव जातिको प्रतिनिधित्व गर्दै हुनुहुन्थ्यो।

साथै यो बप्तिस्मा सांकेतिक रूपमा येशूको सार्वजनिक प्रकटिकरणको एक भाग पनि थियो। उहाँ पानीबाट निस्कनु भए पछि पवित्र आत्मा ढुकुरझैं उहाँमाथि ओर्लनुभयो। साथै पिताले आफ्नो प्रसन्‍नता प्रकट गर्नुभयो। येशूको सार्वजनिक सेवाकाइ अघि भएको यस बप्तिस्माको घटना विशेष छ। साँच्‍चै उहाँले मानिसहरूको प्रतिनिधित्व मात्रै गरिरहनुभएको थिएन तर उहाँले परमेश्‍वर पिताको इच्छालाई पूरा गर्दै हुनुहुन्थ्यो। यस बप्तिस्माको घटनाले यी दुवै कुरा सुन्दर रूपमा प्रष्ट पारेको छ। परमेश्‍वर पिताबाट पठाइनुभएको येशू ख्रीष्ट सारा मानव जातिको पाप बोक्दै कलवरीमा बलि हुन यस संसारमा आउनुभएको थियो।

बप्तिस्मा सधैं सांकेतिक हुँदछ। येशू ख्रीष्टले चेलाहरूलाई बप्तिस्मा दिन आज्ञा गर्न अघि नै यहूदिहरूमा बप्तिस्माको चलन रहेको बुझिन्छ। अन्यजातिहरू जो यहूदि परम्परा, जीवनशैलीलाई अपनाउन चाहान्थे, उनीहरूलाई बप्तिष्मा दिईन्थ्यो। लूका १२:५० येशूले भन्‍नुभयो, “तर मैले बप्तिस्मा लिनुपर्ने एउटा बप्तिस्मा छ, र त्यो पूरा नभएसम्म म कति चेपारोमा परेको हुन्छु!” यो बप्तिस्माले चाहिँ उहाँको मृत्यु र गडाइको संकेत गरेको थियो। यसरी बप्तिस्मा सधैं साकेंतिक हुँदछ। बप्तिस्मा दिने यूहन्‍नाद्वारा जब येशूले बप्तिस्मा लिनुभयो तब संकेत प्रष्ट थियो कि येशू साँच्‍चै मसिह हुनुहुन्थ्यो – परमेश्‍वर पिताबाट पठाइनुभएको त्यस अभिषिक्त जन जसले मानिसहरूको प्रतिनिधित्व गर्दै, पापलाई बोक्दै बलि हुन आउनुभएको थियो। उहाँ परमेश्‍वरको थुमा हुनुहुन्थ्यो जसले संसारको पाप उठाई लैजानुहुनेथ्यो (यूहन्‍ना १:२९)।