बाइबल ज्ञान — जीवन दिने ज्ञान
Facebook ↗YouTube ↗सम्पर्क

विश्वास र काम

विश्वास र काम

याकूब २:१४-२६

विश्वास – कुनै कुराप्रतिको भरोसा, कुनै ज्ञान या सत्यताप्रतिको बुझाइ

काम – विचार, बोलि, व्यवहार जस्ता कार्यहरू

मुक्ति विश्वासद्वारा पाइन्छ, कामद्वारा होइन तथापि मुक्तिमा पनि एक मानिसको जिम्मेवारी रहन्छ। प्रभुले जबरजस्ती गर्नुहुन्‍न, व्यक्ति स्वयमले राजीखुशी पश्‍चताप गर्नुपर्दछ; परमेश्वरलाई पछ्याउने कार्य गर्नुपर्दछ। उदाहरणः येशूले चेलाहरूलाई बोलाउनुभयो, अनि चेलाहरूले सब त्यागे र पछि लागे। येशूलाई प्रभु भनी विश्वास गरे र ‘त्याग्‍ने र पछि लाग्‍ने’ कार्य गरे।

  • कामबिनाको विश्वास अर्थहीन हुन्छ (पद १४-१७)

हामी के विश्वास गर्छौं धेरै महत्वपूर्ण छ। आज हामी यस्तो अवस्थामा छौं कि धेरै विश्वासीहरू आफ्नो विश्वास जान्दैनन्। अनि कोहि चाहिँ विश्वास त छ, ज्ञान त छ, तर त्यस अनुसार नजिएको हुँदछ। विश्वास परमेश्वरको वचन सुनाइद्वारा आउँछ (रोमी १०:१७)। परमेश्वरको वचनको अध्ययन र बुझाइले विश्वास ल्याउँछ। तर सुन्‍नु मात्र पर्याप्त छैन। त्यस सत्यताको पालन अथवा त्यस सत्यता अनुसार जिउनु अपरिहार्य छ (याकूब १:२२-२५; मत्ती ७:२४-२७)। थाहा हुनु तर नगर्नु कपट हो, पाप हो (याकूब ४:१७)। त्यसैले विश्वास हुनु तर त्यस अनुसारको काम नहुनु व्यर्थ हो, वास्तवमा कपट हो।

  • कामद्वारा विश्वास पुष्टि गरिन्छ (पद १८-२१)

हाम्रो विश्वासको या ज्ञानको पुष्टि जिब्रोले होइन तर कामले गर्दछ। हाम्रो विचार, बोलि र व्यवहारले हाम्रो विश्वासलाई प्रकट गर्दछ। धर्मी ठहरिने सम्बन्धमा – ज्ञान मात्रै हासिल गरेर धर्मी ठहरिईदैन। तर सत्यतालाई बुझेर अब त्यस अनुसार कार्य गर्नुपर्दछ – पश्‍चताप गर्नुपर्दछ, साँच्‍चै फर्कनु पर्दछ। अब्राहामले विश्वास मात्रै गरेनन् तर साँच्‍चै आफ्नो घर छोडेर हिँडे। हाम्रो जिब्रोभन्दा हाम्रो कार्यहरूले ठूलो आवाज निकालि रहेको हुन्छ। हामी मानिसहरूलाई झुक्‍काउन सकौंला तर सबै देख्‍ने परमेश्वरलाई सक्दैनौं (हिब्रू ४:१३)। हाम्रो कार्य जस्तो छ हाम्रो विश्वास त्यस्तै हुन्छ। हामी आफूलाई ख्रीष्टियन भनौंला तर ख्रीष्ट जस्तै हिँडिरहेका छैनौं भने, ख्रीष्टियन आचारणमा जिईरहेका छैनौं भने त्यहाँ प्रश्‍न उठ्दछ। एउटा बिरालोले म बाघ हो भनेर भन्दैमा ऊ बाघ हुँदैन। हाम्रो विश्वास हाम्रो कामहरूद्वारा प्रकट गरिन्छ।

  • विश्वास र काम सँगै जानु पर्दछ (पद २२-२६)

हाम्रो विश्वास जस्तो छ काम पनि त्यस्तै हुनुपर्दछ। विश्वासकै नापमा कार्य हुँदछ। विश्वास एउटा तर काम अर्कै, अथवा काम एउटा विश्वास अर्कै – यी नमिल्‍ने कुरा हुन्। विश्वासमा जस्तो हुनुपर्ने हो बनौं, साँच्‍चै हृदयबाटको सहि र निष्कटप विश्वासमा अघि बढौं, अनि काम पनि त्यहि अनुसार हुनेछ। विश्वासमा बलियो बनौं, अनि काममा पनि बलियो हुन सक्छौं। कार्यमा परिवर्तन गर्नुछ भने विश्वासमा परिवर्तन ल्याउनुपर्दछ।

निष्कर्षः काम एउटा तर विश्वास फरक हुनु कपट हो, दुष्टता हो। हाम्रो कामद्वारा नै हाम्रो विश्वास प्रकट हुन्छ। विश्वासको साथ साथ काम अघि बढ्नुपर्दछ।