बाइबल ज्ञान — जीवन दिने ज्ञान
Facebook ↗YouTube ↗सम्पर्क

विश्‍वासको जहाज डुब्दैछ कि?

विश्‍वासको जहाज डुब्दैछ कि?

१ तिमोथी १:१९ मा पावलले तिमोथीलाई लेख्छन्, “विश्‍वास र असल विवेक समातिराख, जसलाई कतिले आफूबाट पर सारेकाले विश्‍वासको जहाजलाई डुबाइहाले।” भनिन्छ संसारभर करिब ३० लाख डुबेका जहाजहरू छन्। ती मध्ये एउटा पनि जहाजको कप्तानले जहाज डुबाउने उद्देश्यमा जहाज बन्दरगाहाबाट निकालेका थिएनन्। अर्थात् जहाज डुबाउने चाहाना कसैको हुँदैन। तर आज पनि जहाजहरू डुबिरहेका छन्। विश्‍वासको जहाजहरू संसारभर डुबिरहेका छन्। के हाम्रो विश्‍वासको जहाज डुब्दैछ कि? डुब्‍ने खतरामा पो छ कि?

पावलले तिमोथीलाई दुईवटा कुरालाई विशेष महत्व दिन सुझाव दिए – विश्‍वास र असल विवेक। विश्‍वास अर्थात् परमेश्‍वरप्रतिको हाम्रो भरोसा र सहि शिक्षाको बुझाइ। हाम्रो विश्‍वास कस्तो छ? हाम्रो विश्‍वासले हाम्रो व्यवहारलाई प्रभाव पार्दछ र हाम्रो व्यवहारले हाम्रो विवेकलाई प्रभाव पार्दछ। हरेक मानिसमा विवेक दिईएको छ। असल र खराब छुट्टाउन सक्‍ने ज्ञान। तर १ तिमोथी ४:२ मा लेखिए जस्तै धेरैका विवेक तातो फलामले डामिएको जस्तो भएको छ। काम नलाग्‍ने भएको छ। हाम्रो विवेकलाई सुरक्षित राख्‍नु महत्वपूर्ण छ। बाइबल अनुसार नजिउँदा विवेकले दोष लाउँछ, पवित्र आत्माले कायल पार्नुहुन्छ तर पटक पटक वचन विपरित जिउँदा विवेकको निष्क्रियता बढ्छ। झूटा शिक्षाहरूमा ध्यान दिनाले, संसारको कुराहरूबाट अलग नहुनाले क्रमिक रूपमा हामी विश्‍वास र असल विवेकबाट पर जान्छौ, अनि फलस्वरूप विश्‍वासको जहाज डुब्‍ने खतरा हुँदछ।

हुमेनियस र अलेकजान्डरले विश्‍वासको जहाज डुबाए। उनीहरू जस्तै आज धेरैले आफ्नो विश्‍वासको जहाज डुबाएका छन्। हामी सचेत र शतर्क हुनु आवश्यक छ। हाम्रो विश्‍वासको जहाज नडुबोस् तर अन्तिम गन्तव्यसम्म खडा र स्थिर हुन सकौं। १ तिमोथी ६:२१ मा पावलले भन्छन्, “यस ज्ञानलाई कतिले स्वीकार गरेकाले विश्‍वासको सम्बन्धमा निशाना चुकेका छन्। तिमीसँग अनुग्रह होस्। आमेन।” साँच्‍चै हामीलाई अनुग्रहको खाँचो छ। विश्‍वासको जहाज नडुबाउनलाई हामी परमेश्‍वरको अनुग्रहमा विश्‍वास र असल विवेकलाई समातिराखौं!