बाइबल ज्ञान — जीवन दिने ज्ञान
Facebook ↗YouTube ↗सम्पर्क

विश्‍वासद्वारा जिउनु

विश्‍वासद्वारा जिउनु

हिब्रू १०ः३८ ले भन्दछ, “…धर्मी जन विश्‍वासद्वारा जिउनेछ।” एक धर्मी जनको लागि अरू विकल्प छैन। धर्मी जन विश्‍वासद्वारा जिउनु पर्दछ। विश्‍वासद्वारा जिउनु एक जीवनशैली हो। हिब्रू ११ः१-३ को खण्डमा विश्‍वासको विषयमा हामीलाई महत्वपूर्ण सत्यताहरू दिईएका छन्। पद १ अनुसार विश्‍वास निश्‍चयता र प्रमाण हो। नदेखिएका कुराहरूको निश्‍चयता र प्रमाण! विश्‍वासद्वारा जिउनु भनेको परमेश्‍वरले सत्य बोल्‍नुभएको छ भनी जान्दै जिउनु हो। उहाँको चरित्रमा भरोसा गर्दै जिउनु हो। उहाँले भन्‍नुभएको छ भने हामी निश्‍चित हुन सक्छौं, भएरै छाड्नेछ।

मानिसहरू प्रमाण खोज्छन् तर विश्‍वास नै प्रमाण हो! सबै कुरा देखेर अनि विश्‍वास गर्छु भन्‍नु साँचो विश्‍वास होइन, त्यो त अवलोकन मात्र हुँदछ। हामीलाई अवलोकनद्वारा होइन तर विश्‍वासद्वारा जिउन भनिएको छ। आँखाले नदेखे ता पनि परमेश्‍वरको चरित्रमा भरोसा गर्दै अघि बढ्नुपर्दछ। पद २ ले बताउँदछ कि विश्‍वासैद्वारा प्राचीनहरूले अर्थात् पुरानो समयका जनहरूले असल गवाही प्राप्त गरे। विश्‍वासैद्वारा विजयीहरू भए। अनि पद ३ ले प्रष्ट पार्दछ कि हामी “विश्‍वासैद्वारा बुझ्दछौं”। परमेश्‍वरले केहि नभएको अवस्थाबाट, सून्यताबाट सबै कुरा बनाउनुभयो आफ्नो वचनद्वारा नै। यो परमेश्‍वरमा मात्र सम्भव छ।

विश्‍वासद्वारा निश्‍चयता (पद १), विश्‍वासद्वारा विजय (पद २), र विश्‍वासद्वारा बुझाइ (पद ३)। के हामी विश्‍वासद्वारा जिईरहेका छौं?

विश्‍वासद्वारा जिईरहेका छैनौं भने परमेश्‍वरको चरित्रलाई शंका गर्दैछौं। जसरी हामी परमेश्‍वरलाई चिन्दछौं, उहाँप्रति हाम्रो सहि र उच्‍च दृष्टिकोण हुँदछ हामी विश्‍वासमा बढ्दछौं। हाम्रो स्वर्गीय पिताले हामीलाई प्रेम गर्नुहुन्छ, हाम्रो भलो चाहानुहुन्छ, हाम्रो पक्षमा हुनुहुन्छ, उहाँको योजना सर्वोत्तम हुँदछ, उहाँको सामर्थ्यको सीमितता छैन – यी सबै कुराहरू जान्दै हामी उहाँमा पूर्ण भरोसा गर्दै विश्‍वासद्वारा जिउन सक्छौं, जिउनु पर्दछ।