अदनको बगैंचा कहाँ थियो होला?

 अदनको बगैंचा कहाँ थियो होला?

(एनोन पत्रिकाको पूर्णांक १३२ बाट साभारित)

अदनको बगैंचा कहाँ पर्दछ भन्ने विषयको चासो आज धेरैलाई रहेको पाइएको छ। यसर्थ यस बगैंचाको अवस्थिति (location) पत्ता लगाउन धेरैले हात हालेको देखिएको छ। उत्पत्ति २:८-१४ बमोजिम अदनको बगैंचा सम्बन्धि केही महत्वपूर्ण विवरणहरू पाइएको छ, जस्तै

यो बगैंचा अदनको पूर्वमा (eastward in Eden) सृजना गरिएको थियो। अदन एउटा ठूलो क्षेत्र थियो जुन क्षेत्रको पूर्वी भागमा बगैंचाको सृजना गरिएको थियो।

बगैंचा सबै किसिमका फलफूलका रूखहरूले ढाकिएका थिए। भूभाग अत्यन्तै उर्वर र हल्का समथर हुन सक्दछ।बगैंचालाई सिंचन गर्न अदनबाट एउटा नदी निस्केको थियो जुन चार नदीहरूमा विभाजित भएको थियो। अदनको बगैंचालाई एउटा नदी अनि त्यसका चार साखाले सिंचन गरेको हुन सक्दछ।

पहिलो नदी पीशोन थियो जुन नदीले हवीला देशलाई घेरा हालेको थियो। दोस्रो नदी गीहोन थियो जसले कुश देशलाई घेरा हालेको थियो। तेस्रो नदी हिद्देकेल थियो जसलाई टाइग्रीस भनिन्छ जुन नदी अश्शुर देशको पूर्वपट्टि बग्दछ। चौथो नदी चाहिँ युफ्रेटिस थियो।

उपरोक्त विवरणहरूले अदनको बगैंचाको अवस्थिति पत्ता लगाउन सहयोग दिन्छ। तथापि केही कारणहरूले गर्दा अवस्थितिको विश्वासनीयतामा संसय खडा हुन सक्दछ। ती कारणहरू के के हुन सक्दछन् त?

भौगोलिक परिवर्तन (Geographical Changes)

जलप्रलय, ज्वालामूखी आदि कारणले अग्लो स्थान होचो हुन सक्ने, होचो स्थान अग्लो हुन सक्ने, नदी, तलाउ पुरिन सक्ने, नयाँ नदीहरू सृजना सक्ने विविध कारणहरू हुन सक्दछ। यस्तो अवस्थामा सृष्टिको प्रारम्भका कति नदीहरू हराउन सक्ने, नयाँ नदीहरू बनिन सक्ने संभावनाहरू रहन्छन्। तसर्थ उल्लेखित कतिपया नदीहरूको अस्तित्व आज नरहेको हुन सक्ने संभावना रहन्छ।

स्थान वा नदीहरूको नाम परिवर्तन (Changes of Names of Places or Rivers)

प्राचीन नामहरू परिवर्तन हुन सक्दछन्। जसरी राज्यहरू, साम्राज्यहरू सृजना भए फरक फरक भाषाहरू बमोजिम स्थान, नदीहरूको नाममा फेरवदलन भइरहन्छ। सगरमाथाको स्थानीय नाम चोमोलुंमा हो, नेपाली भाषामा पछिबाट सगरमाथा राखियो। त्यसलाई विश्वकै सर्वोच्च सिखर भनी पत्ता लगाउने व्यक्तिको नामबाट एभरेस्ट राखियो। उल्लेखित नदीहरूका नामहरू कालान्तरमा फेरवदल हुन सक्ने संभावना रहेको हुन्छ।

मानव सभ्यताको प्रारम्भ मेसापोटामियाली उपत्यकामा भएको पाइएबाट अदनको बगैंचा यस उपत्यकाबाट टाढा नरहेको अनुमान गर्न सकिन्छ। मेसापोटामियाली उपत्यकालाई सिंचन गर्ने नदीहरूमा आज स्पष्ट रुपमा दुई नदीहरू देखिएको छ। एउटा युफ्रेटिस र अर्को टाइग्रीस। बर्तमान यी दुई नदीहरूलाई युफ्रेटिस र हिद्देकेल मान्दा पनि अन्य दुई नदीहरू पीशोन र गीहोनको पहिचान गर्न नसकिएको अवस्था छ। यही कारणले गर्दा अदनको बगैंचाको अवस्थिति सम्बन्धमा विभिन्न किसिमका शिद्धान्तहरू प्रतिपादन भएका छन्। कतिले अदनको बगैंचा आजको फारस खाडी (Persian Gulf) मा पानीले पुरिएको शिद्धान्त प्रतिपादन गरेका छन्। उनीहरूको अनुसार चार नदीहरू मिलेर एक नदी बन्न गएको र त्यसले अदनको बगैंचा सिंचन गरेको थियो। तर उत्पत्ति २:१० बमोजिम बगैंचा सिंचन गर्न अदनबाट एक नदी निस्केको र उक्त नदी पछिबाट चार नदीमा विभाजन भएको उल्लेख गरिएको छ। कतिले नील नदीको उद्गम स्थान इथियोपियामा अदनको बगैंचामा रहेको मानेका छन्। कतिले उत्तर अमेरिका स्थित मिसिसिपि नदी प्रणालीको उद्गम स्थलमा अदनको बगैंचा रहेको दावी गरेका छन्। कतिले ध्रुवीय क्षेत्र त कतिले पूर्वी एशियामा अदनको बगैंचा रहेको परिकल्पना गरेका छन्। उत्तर अमेरिका, इथियोपिया, ध्रुवीय क्षेत्र तथा पूर्वी एशिया मानव सभ्यताको उद्गम मानिने मेसापोटामियाली उपत्यकाबाट टाढा रहेकोले अदनको बगैंचा ती स्थानहरूमा रहन सक्ने संभावनालाई थोरैले मात्र विश्वास गरेको पाइन्छ। अदनको बगैंचाको अवस्थिति संबन्धमा ईशाई जगतमा धेरैले विश्वास गरेको क्षेत्र भने बर्तमान दुई नदीहरू युफ्रेटिस र टाइग्रीसका उद्गमस्थलको कुनै भाग हुन्। कसैले युफ्रेटिस नदी र टाइग्रीस नदीको पानढालमा रहेको तथा त्यसद्वारा राम्रारी सिंचित प्राचीन नगर हारान रहेको हुन सक्ने विश्वास गरेका छन्। यस स्थानमा अब्राहाम आफ्नो नगर ऊरबाट निस्केपछि केही समय रहेका थिए (उत्पत्ति ११:३१)। यस शहरको केन्द्रमा आज पनि प्राचीन धरोहर रहेको पाइन्छ जसले कुनै न कुनै रुपमा प्राचीनतम महत्वलाई दर्शाउँदछ। यस शिद्धान्त बमोजिम युफ्रेटिस नदीको उद्गमस्थलतिर मिसिएका अरू दुई नदीहरू नै पीसोन र गीहोन हुन सक्ने मान्यता राख्दछन्। उक्त शहर आज पनि सिरियाको उत्तरी सीमामा जोडिएका टर्कीको एक प्रख्यात शहर हो। अर्को शिद्धान्त पनि निक्कै प्रभावकारी रहेको छ। यस शिद्धान्त अनुसार बर्तमान इरान राष्ट्रको उर्मियामा रहेको उर्मिया ताल (Lake Urmia) को पूर्वी भागमा अवस्थित ट्याब्रिज (Tabriz) उपत्यकामा अदनको बगैंचा रहेको मानिएको छ। यस उपत्यका अत्यन्तै उर्वर रहेको, चारैतिर अग्ला ठूला पहाडहरूले घेरिएको, यस उपत्यकाको पूर्वतिर मात्रै बहिर्गमन मार्ग (exit) रहेको भूबनोट छ। उत्पत्ति ३:२४ अनुसार अदनको बगैंचाबाट निकालिएका प्रथम जोडी र तिनका सन्तानले अदनको बगैंचामा प्रवेश नपाऊन् भनेर अदनको बगैंचाको पूर्वपट्टि करुवहरू खटाइएका थिए। यस उपत्यकामा आज अत्यन्तै विकसित शहर ट्याब्रिज रहेको छ। यस शहर आज इरानमा पर्दछ। यशैया ३७:१० मा अशेरियाली सत्ताले अधिन गरेका स्थानहरूको सूचिमा हारान, एदेन उल्लेख गरिएको छ। एदेन प्राचीन अदन हो भने उक्त स्थान हारान भन्दा भिन्न स्थान हुन सक्दछ। अदन एउटा क्षेत्र थियो जस्को पूर्वपट्टि बगैंचा लगाइएको थियो। ठूलो संख्यामा यहूदीहरूले अदनको बगैंचा क्षेत्रको रुपमा ट्याब्रिजलाई मान्दै आएको पनि देखिन्छ। युफ्रेटिस र टाइग्रीस नदीका मुहान क्षेत्र टर्कीमा रहेको भ्यान ताल (Lake Van) र इरानमा रहेको उर्मिया ताल (Lake Urmia) क्षेत्र हुन सक्ने संभावना रहेकोले त्यही आसपासमा अदनको बगैंचा हुन सक्ने प्रवल संभावना छ भन्न सकिन्छ। ज्वालामुखीद्वारा भूबनोटमा आएको परिवर्तनको कारण भ्यान तालको बहिर्गमन मार्ग बन्द भएको मानिन्छ। त्यही किसिमले उर्मिया तालको पनि बन्द हुन सक्दछ। 

अदनको बगैंचाको अवस्थिति लगभग मोशाको कब्रस्थानको अवस्थिति जस्तै जटिल देखिन्छ। पहिलो त परमेश्वरले अदनको बगैंचामा मानव प्रवेशलाई प्रतिबन्ध लगाउनुभयो। त्यसैले प्रथम जोडी बाहेक अरू कोहीले कहिल्यै पनि अदनको बगैंचाको स्वरुप हेर्न पाएनन्। तर परमेश्वरले कुनै एक कालखण्डमा त्यस बगैंचालाई त्याग्नुभयो, जीवनको रूख लगियो, करुबहरूलाई हटाउनुभयो। त्यसपछि मात्रै त्यस क्षेत्रमा मानव प्रवेश भयो। तर त्यस समय सम्ममा मानिसले त्यस क्षेत्रमा सायद घना जंगल मात्र पाए। बगैंचाको रुपमा ठम्याउन सकेनन्। दोस्रो चाहिँ त परमेश्वरले अदनको बगैंचालाई रहस्यमा राख्नुभयो। जे रहस्यमा राखिएको छ त्यसलाई ठम्याउन मुस्किल त पर्छ नै।

Related post

1 Comment

  • धेरै राम्रो लाग्यो के हि बुझ्न पाइयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *