आनन्दको श्रोत

योएल १:१२ मा लेखिएको छ, “…किनकि मानिसका सन्तानहरूबाट आनन्द सुकेर गएको छ।” अनि योएल १:१६ मा लेखिएको छ, “…आनन्द र हर्ष काटिएनन् र?” योएल भविष्यवक्ताको सन्देश पश्‍चतापको सन्देश थियो। यहूदाका मानिसहरूले परमेश्‍वरलाई त्यागेका थिए। उनीहरू मूर्तिपूजा र हर प्रकारको दुष्टतामा अघि बढिरहेका थिए। फलस्वरूप, परमेश्‍वरको न्याय उनीहरूले भोग्दै थिए। उनीहरू छिट्टै बिबलोनी कैदमा लगिने थिए। उनीहरूमा साँचो आनन्द थिएन। साँच्‍चै मानिसका सन्तानहरूबाट आनन्द सुकेर गएको थियो। किन उनीहरूबाट आनन्द सुकेर गएको थियो? उनीहरू कमजोर भएको हुनाले? या उनीहरू समृद्ध नभएकोले? उनीहरू मिस्रीहरू या बेबिलोनीहरू जस्तो शक्तिशाली नभएको ले? कारण के थियो? परमेश्‍वरले योएलको यस पुस्तकमा प्रष्ट पार्नुहुन्छ कि यहूदिहरू परमेश्‍वरबाट टाढिएका हुनाले आनन्द सुकेर गएको थियो।

योएल २ अध्यायमा परमेश्‍वरले उनीहरूलाई उहाँका फर्कन आव्‍हान गर्नुहुन्छ। “अनि वस्‍त्रहरू होइन, तर आफ्नो हृदय च्यात, र परमप्रभु आफ्ना परमेश्‍वरकहाँ फर्क!…” योएल २:१३। उनीहरू परमेश्‍वरकहाँ फर्के भने त्यहाँ फेरि ठूलो आनन्द र आशिष हुनेथियो। “हे देश नडरा, आनन्दित हो र रमा! किनकि परमप्रभुले ठूला-ठूला कामहरू गर्नुहुनेछ।” योएल २:२१। “अनि हे सियोनका छोराहरूहो, परमप्रभु तिमीहरूका परमेश्‍वरमा आनन्दित होओ र रमाओ…” योएल २:२३।

आज पनि संसारमा साँचो आनन्द छैन। मानिसहरूबाट आनन्द सुकेर गएको छ। तर किन? माहामारीले गर्दा? अस्वस्थताले गर्दा? गरिबीले गर्दा? होइन! यदि साँचो आनन्द छैन भने कारण एउटै छ – परमेश्‍वरबाट टाढिएको हुनाले। किनकि साँचो आनन्दको श्रोत परमेश्‍वर हुनुहुन्छ, परिस्थिति होइन! जुनसुकै परिस्थितिमा पनि परमेश्‍वरमा साँचो आनन्द पाउन सकिन्छ। यो ईश्‍वरीय आनन्दलाई कुनै माहामारीले खोसेर लान सक्दैन, कुनै रोगले सुकाउन सक्दैन, गरिबीले रित्ताउन सक्दैन, कसलै चोरेर लान सक्दैन। यो आनन्द परिस्थितिमा आधारित हुँदैन तर अनन्त, अपरिवर्तनीय परमेश्‍वरमा आधारित हुँदछ!

के तपाईको जीवनमा आज साँचो आनन्द छ? कि आनन्द सुकेर गएको छ? आनन्द र हर्ष काटिएको छ कि? परमेश्‍वरमा फर्कनु, उहाँको नजिकमा रहनु, जिउनु – यसैमा आनन्द छ! “…तपाईको उपस्थितिमा आनन्दको भरपूरी छ…” भजनसंग्रह १६:११। त्यसैले आऔं परमप्रभुको नजिकमा रहौं र परमेश्‍वरमा आनन्दित हुँदै रमाऔं!

Post Comment

You May Have Missed