एडोनाइरम जड्सन
एडोनाइरम जड्सन एक क्षमतावान व्यक्ति थिए। उनी सानैदेखि पढाइमा निकै तेजिलो थिए। परमेश्वरले उनलाई दिनुभएको यो क्षमता परमेश्वरकै महिमाको लागि प्रयोग गरिनुपर्दथ्यो। तर कलेज पढ्ने क्रममा उनले एक साथीसँग नजिक हुन पुगे जसले उनलाई परमेश्वरबाट टाढा लगे। त्यस साथीको प्रभाव यति ठूलो थियो कि ख्रीष्टियन परिवारमा हुर्केको र परमेश्वरको विषयमा धेरै बुझेको एडोनाइरम परमेश्वरलाई त्याग्न पुगे। तर परमेश्वरको कार्य अचम्मको छ। धेरै समयपछि एकदिन यात्राको क्रममा एडोनाइरम एक होटलमा रात बिताउन गएका थिए। उनको कोठाको छेउको अर्को कोठामा एक बिरामी मानिस थिए। त्यस बिरामी मानिस रातभरि ठूलो पिडामा थिए। एडोनाइरम धेरै बेर सुत्न सकेनन्। त्यो बिरामी मानिसले ईश्वरलाई पुकारिरहेथे। उनले त्यस बिरामी मानिसको विषयमा सोच्न थाले। त्यो मानिस मर्यो भने कहाँ जान्छन् होला? म मरे भनेचाहिँ कहाँ पुग्छु होला? उनी निक्कै बेर प्रश्नहरूमा डुबे। भोलिपल्ट बिहान उनी निस्कने बेला उनले होटलको मानिसलाई त्यस बिरामी मानिसको विषयमा सोधे। त्यस बिरामी मानिसको त्यहि रात मृत्यु भएको रहेछ। अनि बुझ्दै जाँदा त त्यस बिरामी मानिस उनकै साथी रहेछन् जसले उनलाई कलेज पढ्दा परमेश्वरबाट टाढा पारेका थिए। जड्सन छाँगाबाट खसेको जस्तै भए। त्यहि साथी जसले परमेश्वर छैन भनी उनलाई भ्रमित पारेका थिए उनले नै मर्ने बेला ईश्वर पुकारेका थिए। यस घटनाबाट जड्सन झस्किए। उनी आफ्नो जीवनको विषयमा गम्भीर हुन थाले। उनी फेरि मण्डली जान थाले र साँचो रूपमा परमेश्वरलाई चिने। उनले आफ्नो जीवन परमेश्वरको सेवामा दिन अठोट गरे।
सन् १८१२ मा जड्सन र आफ्ना नव-विवाहित श्रीमतिको साथ भारतमा मिसनरी हुन हिँडे। तर इस्ट इन्डिया कम्पनीद्वारा उनलाई भारतमा सेवा गर्न मनाहि गरियो। केहि निराशापछि उनले बर्मामा जाने अवसर पाए जहाँ लाखौंको संख्यामा हराएका आत्माहरू थिए। बर्मामा जड्सनको नव दम्पतिले सुसमचार प्रचार गर्न थाले। त्यस ठाउँ हैजा, रोग बिमार, दुष्टता, मूर्तिपूजाले भरिएको थियो। बालक जन्मले नयाँ जोडिले केहि सान्त्वना पाए तर ८ महिनाको उमेरमा नै उनीहरूको छोराको मृत्यु भयो। ६ वर्ष सेवा गर्दा पनि एकजनाको पनि आत्मा बाँचेन। उनीहरू साह्रै थकित र निराश हुन पुगे। तर बिस्तारै ६ वर्षपछि नयाँ आत्माहरू जितिन थाले। जड्सनले बर्मेली भाषामा बाइबल अनुवाद पनि गरे! यो सानो कार्य थिएन। उनको विशिष्ट क्षमताबाट परमेश्वरको महिमा हुँदै थियो।
बर्मामा सेवाकाइ चुनौती रहित थिएन। धेरै पटक उनी समातिए र दण्डित पनि हुन पुगे। सेवाकाइ पीडादायि र सतावटले पूर्ण थियो, तर इनाम महान थियो। जब ६२ वर्षको उमेरमा जड्सनको मृत्यु भयो उनले बर्मामा ३८ वर्ष सेवा गरिसकेका थिए र सरकारी तथ्यांक अनुसार बर्मामा २,१०,००० विश्वासीहरू भईसकेको थियो!