थुनिएको वा तयारी पारिएको

 थुनिएको वा तयारी पारिएको

प्रस्थान १४ अध्यायः इस्राएलीहरु उजाडस्थानको यात्रामा कनानतर्फ गईरहेका छन्। उनीहरु भर्खरै मिस्र देशको दासत्वबाट निस्किएका छन् र उनीहरु खुशीसाथ अघि बढिरहेका छन्। उनीहरु अब लाल समुद्रमा आइपुगेका छन् र मिस्रीहरुको फौजले उनीहरुलाई लखेट्दै छन् र उनीहरु डराएका छन्। अवस्था जटिल छ र उनीहरु गनगन गरिरहेका छन्। उनीहरुले डरलाग्दो अवस्थाको सामना गरेका छन्। पछाडि जाऔं लाल समुद्र छ अगाडि मिस्रीहरुको फौजले लखेटिरहेका छन्, दायाँ बायाँ लाग्ने कतै बाटो छैन। इस्राएलीहरुको अवस्था यो थियोः उनीहरु अलमलिएका थिए र थुनिएका थिए। उनीहरुको आफ्नो तर्क, बुद्धि, विचार सबै असफल भएको अवस्था, निर्णय लिन नसक्ने अवस्थामा छन्। परिस्थिति डरलाग्दो थियो किनभने मिस्रीहरुको फौज रथहरुमा आइरहेका थिए र तत्कालिन समयमा सबैभन्दा आधुनिक हतियार मिस्रीहरुसँग थियो। त्यो समयको सबैभन्दा समृद्ध र शक्तिशाली राज्य मिस्र थियो र उनीहरु अलमलिएर थुनिएका थिए। के आज हामी यस्तो अवस्थामा छौं? उम्किने बाटो नभएको अवस्थामा, कतै जाने अवस्था नभएको, केही निर्णय लिन सक्ने अवस्था नभएको। प्रस्थान १४:१० मा उनीहरुले परमेश्वरलाई पुकारेको कुरा तर तुरुन्तै ११ पदमा उनीहरुको गनगन देख्न सकिन्छ। उनीहरुको गनगनको पुकारा देखिन्छ।

डरको कारण गनगन उत्पन्न भएको छ। तर प्रभुले हामीलाई धन्यवादी सहित माग्नु भनेको छ। जब हामी अन्यौल र थुनिएका हुन्छौं सायद हामी पनि गनगनको साथमा पुकारा गर्छौ। इस्राएलीहरुको बुझाईमा परमेश्वर आफैले त्यो ठाउँमा लिएर जानुभएको हो। हो, वास्तवमै परमेश्वरले उनीहरुको अगुवाई गरिरहनुभएको थियो। इस्राएलीहरु परमेश्वरलाई आरोप लगाइरहेका छन्। डरको कारण उनीहरु अन्धा भएका छन्, सही रुपमा घटनाहरुलाई देख्न सकिरहेका छैनन्, प्रभुको इच्छा के हो, उहाँको योजना के हो भन्ने कुरा बुझिरहेका छैनन् र पहिलाको मिस्रीहरुको सेवा गरेको अवस्थालाई नै अझ राम्रो मानिरहेका छन्। तर त्यही मिस्रीहरुले उनीहरुको जीवन तीतो बनाएको बिर्सेका छन् र अहिलेको जस्तो नराम्रो अवस्था केही थिएन। जब हामी अलमलमा परेका हुन्छौं र थुनिएका हुन्छौं हामी पनि यसरी नै सोच्ने गर्छौ कि जुन घटनामा हामी छौं त्योभन्दा खराब परिस्थिति अरु केही हुन नै सक्दैन। प्रस्थान २:२३ मा उनीहरु दासत्वमा सुस्केरा हालिरहेका छन् र परमेश्वरले उनीहरुको सुस्केरा सुन्नुभयो र छुटकारा दिनुभयो तर उनीहरु प्रस्थान १४ मा यति भयभित भएका छन् कि सही रुपमा अवस्थालाई हेर्न सकिरहेका छ्रैनन्। यस्तो समयमा हामी होशियार हुनुपर्छ र उहाँको झन् नजिक जानुपर्छ। गनगनको पुकारा होइन तर उहाँमा धैर्य गर्न सक्नुपर्छ। प्रस्थान १३:१७ मा जब हामी यस्तो अवस्थामा हुन्छौं हामीले यो बुझ्नपर्छ कि हामीले सहन सक्नेभन्दा बेसी उहाँले हामीमाथि पर्न दिनुहुने छैन जुन कुरा प्रस्थान १३:१४ मा बताइएको छ। उहाँलाई थाहा थियो कि पलिश्तीहरुको बाटो जाँदा उनीहरुले सहन सक्ने छैनन् र उहाँले उनीहरुलाई घुमाएर उजाडस्थानको बाटो लिएर जानुभयो। यसरी घुमाएर प्रभुले लानुभयो, बादलको खाँबोद्वारा उनीहरुको अगुवाई गर्नुभयो, अनि जुन अलमलिएको र थुनिएको अवस्थामा उनीहरु आइपुगेका छन् तर परमेश्वरले उनीहरुले सहन सक्ने भन्दा बेसी अवस्थामा उहाँले उनीहरुलाई पार्नुभएको थिएन। जब हामी यस्तै अवस्थामा हुन्छौं हामीलाई के कुराले सान्त्वना दिन्छ? हामीलाई परमेश्वरको वचनले सान्त्वना दिन्छ। १ कोरिन्थी १०:१३ मा मानिसमाथि आउन सक्नेभन्दा बेसी परीक्षा आइपरेको छैन र उहाँले परीक्षासँगै उम्कने बाटो पनि बनाउनुहुन्छ। त्यसैले इस्राएलीहरुले गनगन गर्न आवश्यक थिएन।

प्रस्थान १४:१३ मा मोशा स्थीर भई खडा रहन मानिसहरुलाई भन्छन्। हामी पनि स्थीर भई खडा हुन सक्छौं। त्यो अस्थीर अवस्था, त्यो डरलाग्दो अवस्थामा इस्राएलीहरु स्थीर भई खडा हुन सक्थे। त्यस्तो डरलाग्दो अवस्थामा पनि स्थीर भई खडा हुन सम्भव छ किनभने परमेश्वरको वचनले यही कुरा बताउँदछ। प्रभुले केही गर्दै हुनुहुन्छ मेरो जीवनमा, मलाई निर्खादै हुनुहुन्छ, उहाँ के गर्नुहुन्छ भन्दै अपेक्षा गर्दै अघि बढ्ने समय हो यो। प्रभु मेरो पक्षमा लड्दै हुनुहुन्छ भन्दै उहाँलाई काम गर्न दिएर आफु चुपचाप बस्ने समय हो यो। अनि यहाँ ठूलो विश्वासको समय हो, यस्तो डरलाग्दो समयमा कसरी प्रभुले अगुवाई गर्नुहुन्छ भनेर हेर्ने समय हो यो। इस्राएलीहरुलाई थाहा थिएन परमेश्वरले कसरी उनीहरुलाई जोगाउनुहुन्छ तर परमेश्वरलाई थाहा थियो। उहाँसँग पहिला देखि नै योजना थियो र ती सबैबाट उहाँको महिमा उहाँले लिनुभयो। परमेश्वरले इस्राएलीहरुलाई अघि बढ्ने आज्ञा दिनुभयो। यो समय चुपचाप बस्ने मात्र नभई उहाँमा भर पर्दै अघि बढ्ने समय पनि हो। प्रस्थान १४:८ मा बेधडक रुपमा इस्राएली गईरहेका थिए जसको अर्थ हुन्छ कि इस्राएलीहरु खुशीसाथ, कुनै डरबिना गईरहेका थिए। यो हामीसँग पनि हुन सक्छ तर यो सब अचानक हँुदैन, त्यहाँ प्रभुको उद्देश्य छ, योजना छ।

कसले इस्राएलीहरुलाई थुनिरहेको थियो? त्यहाँ सबै परमेश्वरले योजना गरिरहनुभएको थियो। अय्यूबको जीवनमा त्यति धेरै समस्या कसले ल्याएको? शैतानले अनुमति मागेको हो तर परमेश्वरले हुन दिनुभएको हो। परमेश्वर कहिले पनि दुष्टता ल्याउनु हुन्न तर उहाँ हुन दिनुहुन्छ किनभने सबै कुरामा उहाँको योजना छ। प्रस्थान १४:२० मा हामी देख्न सक्छौं कि परमेश्वर सक्रिय हुनुहुन्छ। प्रस्थान १४:२४ मा मिस्रीहरुले गवाही दिएका छन् कि परमेश्वर इस्राएलीहरुको पक्षमा हुनुहुन्छ। साँच्चै नै परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ भने को हाम्रो विरोधमा हुन सक्छ?

इस्राएलीहरु अलमलिएका वा थुनिएका थिएनन् तर उनीहरु परमेश्वरको महान्ता देख्न, परमेश्वरको कार्यहरु हेर्न तयार पारिएका थिए। हाम्रो मानविय समस्यामा ईश्वरीय दृष्टिकोणले हेरौं तर हाम्रो मानविय समस्यामा मानविय दृष्टिकोणले हेर्छौ भने फाइदा हँुदैन। अल्मलिएर थुनिएर यात्रामा पुर्णविराम लागेको थिएन तर तयारी पार्नुभएको हो।

(आदर्श गुरूङको प्रवचनमा आधारित मेरि न्यौपानेको लेख)

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *