दुर्बलतामा सामर्थ्य

 दुर्बलतामा सामर्थ्य

२ कोरिन्थी १२:७-१० को खण्डमा प्रेरित पावलले पवित्र आत्माको प्रेरणामा ख्रीष्टियन जीवनको एउटा अद्भूत रहस्य प्रकट गरेका छन्। १० पदमा लेखिएको छ, “…किनकि जब म कमजोर छु, तब म बलियो हुन्छु।” यो कति अनौठो र अप्राकृतिक कुरा! कसरी एक कमजोर व्यक्ति बलियो हुन सक्छ। बलको अभावले नै एक मानिसलाई कमजोर बनाउँछ। बलहीन हुनु र बलवान् हुनु एकैपटक कसरी सम्भव छ? ख्रीष्टियन जीवनको अद्भूत रहस्य यहाँ हामी पाउँछौं!

जब दुर्बलताहरूको कारणले हामी कमजोर, शिथिल हुन्छौं तब परमेश्‍वरप्रतिको हाम्रो भरोसा वृद्धि हुँदछ। जब हाम्रो सहायक र गुहार उहाँ मात्रै बन्‍नुहुन्छ, तब उहाँको सामर्थ्य हामीमा सिद्ध हुँदछ। हामी कमजोर हुनु अनि परमेश्‍वर हामीमा सामर्थी हुनु – यहि नै साँचो सामर्थी जीवन रहेछ। पावलले यो सत्यता सिके र त्यसैले उनले भन्‍न सके – “…किनकि जब म कमजोर छु, तब म बलियो हुन्छु।” के तपाई पनि यसै भन्‍न सक्‍नुहुन्छ?

तपाईको जुनसुकै दुर्बलतामा पनि परमेश्‍वरको सामर्थ्यमा तपाई खडा हुन सक्‍नुहुन्छ। हामी आफ्नै बल, बुद्धि, श्रोत-साधनमा भर पर्न छोडेर परमेश्‍वरमा पूर्ण रूपमा आश्रित हुनु नै साँचो सामर्थ्य हो। त्यसैले दुर्बलताहरूले हामीलाई आफ्नो कमजोरी र अशक्तता प्रटक गर्दछ र सामर्थी परमेश्‍वरमा भर पर्न प्रेरणा दिँदछ। यस अर्थमा दुर्बलताहरू त आशिष रहेछन्।

चार्ल्स स्पर्जनले भने, “मलाई सनातनको चट्टानमा पछार्ने छालहरूलाई प्रेम गर्न मैले सिकेको छु।” अर्थात् जसरी समुद्रको किनारमा छालहरूले डुङ्गा या मानिसहरूलाई धकेलेर छेउका चट्टानहरूमा बजार्छन् त्यसरी नै दुर्बलताहरूका छालहरूले हामीलाई येशू ख्रीष्टकहाँ धकेल्छन् भने त्यो त ठूलो आशिष हो।

उहाँको अनुग्रह हाम्रा हरेक दुर्बलतामा प्रशस्त छ। दुर्बलताहरूमा पनि हामी रमाउन सक्छौं। साँच्‍चै ख्रीष्टियन जीवनको अद्भूत रहस्य यही हो – दुर्बलतामा सामर्थ्य!

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *