परमेश्वरले असल र खराबको ज्ञान दिने रूख किन बनाउनुभयो?
असल र खराबको ज्ञान दिने रूख यदि अदनको बगैंचामा नभएको भए सायद संसारमा पाप नै आउने थिएन होला। यो प्रकारको विचार प्रत्येक विश्वासीलाई एक न एक चोटि त आएकै होला। साँच्चै परमेश्वरले त्यो असल र खराबको ज्ञान दिने रूख किन बनाउनुभएको होला? कारण के थियो? त्यो रूख नै नभएको भए फल हुनेथिएन, अनि फल नै नभएपछि हव्वा र आदमले फल खाने थिएन, अनि फल नखाएपछि आज्ञा तोडिने थिएन, अन्तत पाप हुनेथिएन। संसारको सारा दुष्टताहरू, मृत्यु, कष्ट आदि हुनेथिएन। सायद हामी यसरी सोच्छौं। अझै कतिले त पापको दोष परमेश्वरलाई पनि दिन सक्छन्। यदि परमेश्वरले त्यो रूख नबाउनुभएको भए पाप नै हुनेथिएन भन्ने बुझाइ पनि हुन सक्छ। तर परमेश्वरले सधैं असल गर्नुहुन्छ। त्यस रूखको पनि विशेष उद्देश्य थियो।
परमेश्वरले मानिसलाई ‘स्वइच्छा’को उपहार दिनुभएको थियो। अर्थात् मानिसले आफ्नो इच्छा अनुसार स्वतन्त्रतापूर्वक निर्णय र छनोट गर्न सक्थे। उहाँले मानिसलाई रोबट जस्तो बनाउनुभएन। परमेश्वर सधैं स्वइच्छाको आराधना र प्रेम चाहानुहुन्छ, जबरजस्तीको होइन। तसर्थ मानिसको स्वइच्छाको लागि विकल्प आवश्यक थियो। हरेक दिन आदम र हव्वाले आफ्नै स्वइच्छाले निर्णय गर्नुपर्थ्यो – त्यो रूखको फल खाने कि नखाने, परमेश्वरको आज्ञा पालन गर्ने कि नगर्ने। अनि जति दिनहरू उनीहरूले फल खाएनन्, ती दिनहरूमा उनीहरूले स्वइच्छाले परमेश्वरको आज्ञा पालन गर्न छाने। यसरी परमेश्वरलाई उनीहरूले जबरजस्ती होइन तर स्वइच्छाले आराधना गरे, महिमा दिए। तर जुन दिन उनीहरूले फल खाए त्यस दिन उनीहरूले राजीखुशी आफ्नो स्वइच्छामा परमेश्वरको आज्ञा तोड्ने निर्णय गरे। यसरी उनीहरूको पाप र पापको प्रतिफलको लागि उनीहरू नै जवाफदेही भए।
आज पनि परमेश्वर मानिसहरूले उहाँलाई स्वइच्छामा आराधना र प्रेम गरेको चाहानुहुन्छ। उहाँ ढोकामा ढक-ढकाउनुहुन्छ, लात्तीले ढोकालाई हानेर भित्र आउनुहुन्न।