मण्डलीमा आबद्धता
हामी जिउँदै गरेको समयलाई “मण्डली युग” भनी उल्लेख गरिएको छ । जब प्रभु येशू ख्रीष्ट संसारमा आउनुभयो र नयाँ नियम मण्डली स्थापना गर्नुभयो, त्यसपछि यो युग सुरु भयो ।
मण्डलीहरु भवनहरु होइनन् । नयाँ नियम मण्डलीका भित्ताहरु छैनन् । भवन भेला भएर आराधना र प्रार्थना गर्ने ठाउँ हो । मण्डलीको कार्य, पृथ्वीमा उहाँको शरीर, भवनभित्र जे भईरहेको छ त्यसमा मात्र सिमित हुन सक्दैन ।
नयाँ नियम मण्डली बप्तिष्मा लिएका विश्वासीहरुको स्थानीय सभा हो जसले महान् कार्य पूरा गर्नलाई आफैंलाई स्वेच्छिक रुपमा सँगै हुन सामेल गराएका छन् । प्रत्येक स्थानीय सभाले प्रभु येशू ख्रीष्टलाई मात्र शिरको रुपमा राख्नु पर्दछ । सदस्यहरु प्रभु येशू ख्रीष्टप्रति र एक अर्काप्रति आपसी प्रेमले सँगै बाँधिएका छन् । विश्वासीहरुको शरीरले सिद्धान्तको शरीरसँग आबद्ध हुन्छ जुन बाइबलको परस्पर सहमती र जगमा बसालिएको छ । (सिद्धान्तको एक उदाहरण इन्टरनेटमा FAITHfortheFamily.com मा पाउन सकिन्छ ।)
प्रेरित दुई अध्यायमा, प्रेरित पत्रुसले, परमेश्वरको पवित्र आत्माको सामर्थ्यमा, पेन्टेकोस्टको दिनमा प्रचार गरे, र परमेश्वरले आश्चर्यरुपमा तीन हजार आत्माको मुक्ति सहीत आशिष दिनुभयो । मानिसहरुले जब यो सन्देश सुने उनीहरुले आफैंलाई पापको दोषी ठहराए । प्रेरित २: ४१-४७ मा प्रतिक्रिया दिइएको छ,
तब जतिले आनन्दसित उनको वचन ग्रहण गरे, तिनीहरुले बप्तिष्मा लिए; अनि त्यही दिनमा प्रायः तीन हजार मानिसहरु तिनीहरुमा थपिए । अनि तिनीहरुले प्रेरितहरुका शिक्षामा, सङ्गतिमा, रोटी-भँचाइमा र प्रार्थनाहरुमा दृढता-पूर्वक लागिरहे । अनि हरेक मानिसलाई डर भयो, अनि प्रेरितहरुद्वारा अनेकौं अचम्मका काम र चिन्हहरु गरिए । अनि विश्वास गर्नेहरु सबै एकैसाथ थिए, र तिनीहरुका सबै थोकहरु साझा थिए । अनि तिनीहरुले आफ्ना सम्पत्ति र सामानहरु बेचेर हरेकलाई खाँचो परेअनुसार ती सबै मानिसहरुलाई बाँडिदिन्थे ।
अनि दिनहुँ मन्दिरमा एक मनको भई लागिरहँदै र घर-घरमा रोटी भाँच्दै तिनीहरुले आ-आफ्ना भोजन आनन्दसित र चोखो हृदयले खान्थे, परमेश्वरको प्रशंसा गर्थे, र सबै मानिसहरुबाट कृपा पाउँथे । अनि दिनहुँ प्रभुले मुक्ति पाउनेहरुलाई मण्डलीमा थप्नुहुन्थ्यो ।
के तपाईं आफ्नो मण्डली प्रभुको निम्ति ठूलो प्रभाव सहीतको मण्डली भएको चाहनुहुन्छ ? के तपाईंलाई थाहा छ मण्डलीको प्रभाव ठूलो हुनुपर्छ ? मेरो विचारमा मण्डलीको महानता उसको आकारमा भन्दा पनि उसको प्रभावसँग अझै बढी सम्बन्धित हुन्छ । मण्डलीको सही मापन येशू ख्रीष्टसँगको समानतामा हुदँछ । धेरै मण्डली भवनहरु ख्रीष्टको निम्ति प्रभावशाली नभएका मानिसहरुद्वारा भरिएका छन् । आफ्ना सदस्यहरुको प्रभावभन्दा उच्च मण्डलीको प्रभाव हुँदैन ।
प्रभु येशूलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रुपमा चिन्नु सबैभन्दा अद्भुत कुरा हो । बाइबलमा विश्वास गर्ने, बाइबल-प्रचार गर्ने स्थानीय मण्डलीको सदस्यको रुपमा परिचित हुनु पनि प्रत्येक ख्रीष्टियनको सु-अवसर र कर्तव्य हो । परमेश्वरले यही प्रकारले आफ्नो कार्य गर्नुहुन्छ ।
परमेश्वरको वचनले घोषणा गर्दछ, “तब जतिले आनन्दसित उनको वचन ग्रहण गरे, तिनीहरुले बप्तिष्मा लिए; अनि त्यही दिनमा प्रायः तीन हजार मानिसहरु तिनीहरुमा थपिए” (प्रेरित २:४१) । प्रभु येशूले स्थापना गर्नुभएको विशिष्ट समुहमा प्रायः तीन हजार मानिसहरु तिनीहरुमा थपिए ।
उनीहरुले विश्वास गरे
“तब जतिले आनन्दसित उनको वचन ग्रहण गरे ।” मानिसहरुलाई परमेश्वरको वचन जसरी प्रचार गरिएको थियो उनीहरुले त्यसरी नै ग्रहण गरे । उनीहरुले प्रचारकले भनेको कुरा विश्वास गरे । प्रेरित पत्रुसले येशू ख्रीष्टको सन्देश प्रचार गरे र उनीहरुलाई ख्रीष्टको विषयमा, मसिहको प्रतिज्ञाको विषयमा बताए; कि उहाँ स्वर्गबाट आउनुभयो, क्रुसमा मर्नुभयो, गाडिनुभयो र मृत्युबाट बौरी उठ्नुभयो; र उहाँ, यही येशू, स्वर्ग जाने एकमात्र बाटो हुनुहुन्छ । बाइबलले बताउँदछ कि उनीहरुले परमेश्वरको वचन विश्वास गरे, र उनीहरुको हृदय छेडिएको र आफ्नो पापको निम्ति दोषी ठहरिएको कारणले उनीहरुले पश्चाताप गरे । उनीहरुले येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रुपमा जीवनमा ग्रहण गरे । सारा संसारमा सबैभन्दा महान् कुरा तपाईं ख्रीष्टियन भनेर चिनिनु हो, कि तपाईंले येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाता भनेर विश्वास गर्नुभएको छ ।
प्रेरित अध्याय सोह्र अध्यायमा, प्रेरित पावल सुसमाचार सुनाएको कारणले झ्यालखानामा थिए, र झ्यालखानाका हाकिम त्यहाँ थिए । मध्यरातमा, जब पावल र सिलास भजन गाउँदै र परमेश्वरको महिमा गर्दै थिए, प्रभुले उनीहरु भएको झ्यालखाना हल्लाउनुभयो । झ्यालखानाका हाकिम, जसलाई थाहा थियो कि यदि यी मानिसहरु भागे भने उसले आफ्नो जीवन गुमाउने थियो, काम्दै आए र पावलको अघि घोप्टो परे । उनले यो प्रश्न गरे, “हजुरहरुहो, मुक्ति पाउनालाई मैले के गर्नुपर्छ ?” (प्रेरित १६:३०) । बिना कुनै शंका, उनीहरुले पहिल्यै उनीसँग मुक्तिको विषयमा, ख्रीष्टलाई चिन्ने विषयमा कुरा गरिसकेका थिए । बाइबलले प्रेरित १६:३१-३४ मा बताउँदछ,
अनि उनीहरुले भनेः “प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस्, र तपाईंले मुक्ति पाउनुहुनेछ – तपाईंले र तपाईंको परिवारले ।” अनि उनीहरुले तिनलाई र तिनका घरमा भएका सबैलाई प्रभुको वचन सुनाए । अनि रातको त्यही घडी तिनले उनीहरुलाई लगेर उनीहरुका घाउहरु धोइदिए, अनि उत्तिखेरै तिनले र तिनका सबैले बप्तिष्मा लिए । अनि उनीहरुलाई आफ्नो घरभित्र ल्याएपछि तिनले उनीहरुका सामु खानेकुरा राखिदिए, र आफ्नो सारा परिवारसहीत परमेश्वरमा विश्वास गरेर आनन्द मनाए ।
झ्यालखानाका हाकिमले प्रश्न गरे, “मुक्ति पाउनालाई मैले के गर्नुपर्छ ?” यसको उत्तर थियो, “प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस् ।”
बाइबलले एफेसी २:८-९ मा बताउँदछ, “किनकि तिमीहरुले विश्वासद्वारा अनुग्रहले मुक्ति पाएका छौ; अनि यो तिमीहरु आफैंबाटको होइन, यो परमेश्वरको दान हो; कामहरुबाट होइन, नत्र ता कसैले घमन्ड गर्नेछ ।” यदि त्यहाँ ख्रीष्टको सामान्य विश्वासमा केही कुरा जोडियो भने, बचाइनको निम्ति केही कार्य हामीले गर्नुपर्छ भने मुक्ति अब उपहार रहने छैन ।
कसैले मलाई सुसमाचार वर्णन गर्यो । उनले मलाई भने कि येशू ख्रीष्ट पृथ्वीमा आउनुभयो र पापरहित जीवन जिउनुभयो । उहाँ क्रुसमा मर्नुभयो, मेरो पापको ऋण र सारा संसारको पापको ऋण तिर्नुभयो । उहाँले हाम्रो सबै पापहरु आफ्नो शरीरमा क्रुसमा बोक्नुभयो । उहाँ गाडिनुभयो, र उहाँ मरेकोबाट बौरी उठ्नुभयो, र उहाँ हाम्रो निम्ति मध्यस्तकर्ता हुनको निम्ति जिउनुहुन्छ । यी व्यक्तिले भने, “यदि तपाईंले उहाँसँग आफ्नो पापको क्षमा माग्नुभयो र उहाँलाई आफ्नो जीवनमा निम्तो दिनुभयो भने, उहाँले तपाईंको प्रार्थना सुन्नुहुन्छ र तपाईंको पाप क्षमा गर्नुहुन्छ र तपाईंलाई बचाउनुहुन्छ ।” मैले यो विश्वास गरें, र किशोर अवस्थामा मैले प्रभुसँग मेरो पापको निम्ति क्षमा मागें र मुक्तिदाताको रुपमा मैले येशू ख्रीष्टलाई मेरो जीवनमा निमन्त्रणा दिएँ । मैले उहाँलाई मेरो मुक्तिदाताको रुपमा विश्वास गरें । हामीले स्पष्टसँग जान्नुपर्छ कि हामी बचाइएका छौं, र निश्चयतासँग जान्नुपर्छ ।
तपाईंले कसैलाई प्रश्न गर्न सक्नुहुन्छ, “के तपाईं अमेरिकी हो?” यदि ऊ हो भने, ऊ हिचकिचाहटबिना उत्तर दिनेछ, “हो ।” तपाईं उही व्यक्तिलाई प्रश्न गर्न सक्नुहुन्छ, “के तपाईं ख्रीष्टियन हो?” एक विशिष्ट उत्तर यस्तो हुन्छ, “सायद, म आशा गर्छु । म हुन चाहन्छु । म हुने कोशिस गरिरहेको छु ।” तपाईं जति निश्चयतासित आफ्नो नागरिकताको विषयमा उत्तर दिनुहुन्छ त्यही अनुरुप तपाईं परमेश्वरको सन्तान हो भनी उत्तर दिन के सम्भव छ ? छ ! हामी पक्का रुपमा जान्न सक्छौं कि हामीले प्रभु येशूलाई आफ्नो मुक्तिदाता भनी ग्रहण गरेका छौं भने हामी परमेश्वरको सन्तान हौं ।
१ पत्रुस ३:१५ ले बताउँदछ, “तर तिमीहरुका हृदयहरुमा प्रभु परमेश्वरलाई पवित्र मान; र तिमीहरुभित्र भएको आशाको विषयमा तिमीहरुलाई सोध्ने हरेक मानिसलाई नम्रता र डरको साथ जवाफ दिनाका निम्ति सधैंभरि तयार रहो ।” तपाईंले प्रभुलाई कसरी चिन्नुभयो भनेर मानिसहरुलाई बताउन तयार हुनुहोस् । जब हामी मुक्तिको विषयमा मानिसहरुलाई उत्तर दिदँछौं, हामीले यस प्रकारले उत्तर दिनुपर्छ जसले गर्दा उनीहरुलाई प्रभु येशूलाई आफ्नो मुक्तिदाताको रुपमा कसरी चिन्ने भनेर व्याख्या गरोस् । तपाईं र मैले मानिसहरुलाई ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाता भनेर कसरी चिन्न सक्यौं भन्ने कुरा व्याख्या गर्न सक्नुपर्छ जब उनीहरुले हामीलाई परमेश्वरमाथि हाम्रो विश्वासको विषयमा प्रश्न गर्छन् । जब बाइबलले प्रेरित दुई अध्यायमा मण्डलीको विषयमा बताउँदछ, परमेश्वरले हामीलाई सबैभन्दा पहिला बताउनुभएको कुरा-यी मानिसहरुले विश्वास गरे ।
के तपाईंले विश्वास गर्नुभयो ? म यो सोच्दा अत्यन्तै व्याकुल हुन्छु कि धेरै मानिसहरु मण्डलीसँग परिचित छन् तर कहिल्यै पनि प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रुपमा चिनेका छैनन् ।
उनीहरु आबद्ध थिए
बाइबलले प्रेरित २:४१ मा बताउँदछ, “तब जतिले आनन्दसित उनको वचन ग्रहण गरे, तिनीहरुले बप्तिष्मा लिए; अनि त्यही दिनमा प्रायः तीन हजार मानिसहरु तिनीहरुमा थपिए ।” उनीहरुले बप्तिष्मा लिए । बप्तिष्माले उनीहरुलाई प्रभु येशू ख्रीष्टसँग र यरुशलेममा स्थापित त्यस मण्डलीसँग परिचित गरायो । म सोच्दछु तपाईंहरुमध्ये कति जनाले प्रभुलाई आफ्नो मुक्तिदाता भनेर विश्वास गर्नुभएको छ, बचाइएको क्षणदेखि प्रभुलाई विश्वासीको बप्तिष्मामा पछ्याउनुभएको छ ।
त्यहाँ तीन कुराहरु छन् जसले बप्तिष्मालाई बाइबलीय रुपमा सही बनाउँदछ । पहिलो, हामीसँग सही उम्मेदवार हुनुपर्छ । त्यो व्यक्तिले प्रभुलाई मुक्तिदाताको रुपमा चिन्नुपर्छ । दोस्रो, हामीसँग बप्तिष्माको सही ढाँचाः वा प्रक्रिया हुनुपर्छ, जुनचाँहि डुबुल्की – पानीमा जाने, पानीभित्र डुब्ने, र पानीबाट बाहिर आउने हो । र तेस्रो, हामीसँग सही अधिकार वा अख्तियार हुनुपर्छ ।
सही अख्तियार स्थानीय मण्डली हो, किनकि बप्तिष्मा स्थानीय मण्डलीको विधि हो । प्रभु येशूले हामीलाई गर भनेर आज्ञा दिनुभएको पहिलो कार्यहरु मध्ये एक बप्तिष्मा हो । मण्डलीको अर्को विधि भनेको प्रभु भोज हो, जुन हामी यस पुस्तकमा पछि छलफल गर्नेछौं ।
परमेश्वरको वचनले बताउँदछ कि ती विश्वासीहरु प्रेरितहरुको शिक्षामा निरन्तर लागिरहे । प्रभुले आफ्ना चेलाहरुलाई दिनुभएको सत्यताको शरीर यही नै हो । उनीहरुको बप्तिष्माले उनीहरुलाई शिक्षाको त्यही शरीरसँग परिचित गरायो जुन स्थानीय मण्डलीसँग आबद्ध छ ।
त्यहाँ धेरै मानिसहरुका समुह छन् जसले बाइबल अध्ययन गर्छन् तर त्यो मण्डली होइन । धेरै भिडहरु वा ख्रीष्टियनहरुको भेलाहरु जहाँ प्रचार र भजन हुन्छन् मण्डली होइनन् ।
यरुशलेम शहरको हजारौंका बिचमा, त्यहाँ विश्वासीहरुको “बोलाइएको” सभा थियो । ती मानिसहरु प्रभु येशूसँग र यस स्थानीय मण्डलीसँग परिचित गरिएका थिए । उनीहरुले शिक्षाको निश्चित भागलाई समातेका वा स्थिर थिए । उनीहरु कुनै निश्चित भवनमा सीमित थिएनन्, तर उनीहरु आराधनाको निम्ति भेला भएका थिए ।
यस मण्डली, यस स्थानीय भेला, नयाँ गरी जन्मेका मानिसहरुद्वारा बनाइएको थियो । उनीहरुले खुशीसाथ परमेश्वरको वचन स्वीकार गरे र बप्तिष्मा लिए । यसको अर्थ सार्वजनिक रुपमा उनीहरु प्रभु येशू ख्रीष्ट र विश्वासीहरुको यस शरीरसँग परिचित पारिएका थिए । “तिनीहरुमा थपिए…” त्यहाँ एउटा समुह अवस्थित थियो जहाँ यी नयाँ बदली भएकाहरु थपिए । बाइबलले बताउँदछ उनीहरु निम्न कुराहरुमा “दृढतापूर्वक लागिरहे”:
प्रेरितहरुको शिक्षामा (परमेश्वरको वचन)
सङ्गतिमा (ख्रीष्टमा उनीहरुसँग भएको साझा बन्धन)
रोटी भचाईमा (प्रभु भोज लिन)
प्रार्थनामा
तब जतिले आनन्दसित उनको वचन ग्रहण गरे, तिनीहरुले बप्तिष्मा लिए; अनि त्यही दिनमा प्रायः तीन हजार मानिसहरु तिनीहरुमा थपिए । अनि तिनीहरुले प्रेरितहरुका शिक्षामा, सङ्गतिमा, रोटी-भँचाइमा र प्रार्थनाहरुमा दृढता-पूर्वक लागिरहे । प्रेरित २:४१-४२
पावलको परिवर्तन र बप्तिष्मा पछि, उनी यरुशलेममा भएको सभामा आए । हामीले प्रेरित ९:२६-२७ मा पढ्यौं,
अनि यरुशलेममा आइपुगेपछि शाउलले आफूलाई चेलाहरुसँग मिलाउने कोशिश गरे; तर उनी पनि चेला हुन् भनी विश्वास नगरेकाले तिनीहरु सबै उनीसँग डराए । तर बर्नबासले उनलाई लगे, र प्रेरितहरुकहाँ पुर्याए, अनि कसरी उनले बाटोमा प्रभुलाई देखे, र कसरी उहाँ उनीसँग बोल्नुभयो, अनि कसरी उनले दमस्कसमा येशूको नाममा साहससित प्रचार गरे, सो तिनले उनीहरुलाई बताइदिए ।
बप्तिष्मा लिएका विश्वासीहरुको परिचित समुह अवश्य पनि अस्तित्वमा थियो । उनीहरुले सत्यताको शरीरलाई समाते । उनीहरु “बोलाइएका” सभा थिए । “मण्डली” को अक्षरशः परिभाषा यही नै हो । उनीहरु ख्रीष्टमाथिको विश्वासको निम्ति चिनिएका थिए, र उहाँसँग परिचित भए ।
यही सभामा पावल “जोडिन” आए । बाइबलले बताउँदछ, “उनले आफूलाई चेलाहरुसँग मिलाउने कोशिश (प्रयास वा प्रयत्न) गरे ।” प्रियहरु, हामीले “विश्वास” गर्ने मात्र होइन; हामी विश्वासीहरुको शरीरसँग “आबद्ध” हुनुपर्छ, प्रभु र स्थानीय मण्डलीसँग आफैंलाई परिचित गराउँदै ।
बप्तिष्मा एक सुन्दर चित्र हो । यो हाम्रो प्रभु कसरी क्रुसमा मर्नुभयो, गाडिनुभयो, र मृत्युबाट बौरी उठ्नुभयो भन्ने कुराको चित्रण हो । यो यस वास्तविकताको चित्र हो कि हामी उहाँसँगै मर्यौं, उहाँसँगै गाडियौं, र उहाँसँगै बौरी उठेका छौं । पछिल्लो अध्यायमा बप्तिष्माको विषयमा थप कुरा गरिनेछ ।
उनीहरुले व्यवहार गरे
यस मण्डलीका सदस्यहरुले निश्चित तरिकाले व्यवहार गरे । प्रेरित २:४१-४२ ले बताउँदछ, “तब जतिले आनन्दसित उनको वचन ग्रहण गरे, तिनीहरुले बप्तिष्मा लिए; अनि त्यही दिनमा प्रायः तीन हजार मानिसहरु तिनीहरुमा थपिए । अनि तिनीहरुले प्रेरितहरुका शिक्षामा, सङ्गतिमा, रोटी-भँचाइमा र प्रार्थनाहरुमा दृढता-पूर्वक लागिरहे ।”
धेरै मानिसहरु यसरी जिउँछन् कि यो संसार मात्र बाँकी छ । मलाई अलि अगाडि जान दिनुहोस् र यो भन्न दिनुहोस् कि अधिकांश ख्रीष्टियन भनेर दाबी गर्नेहरु यसरी जिउँछन् कि यो संसार मात्र बाँकी हो । यदि हामी विश्वास गर्छौं कि त्यहाँ वास्तविक स्वर्ग र वास्तविक नरक छ, र यदि मानिसहरुले प्रभु येशूलाई चिनेका छन् भने उनीहरु अनन्तको लागि परमेश्वरसँग स्वर्गमा हुनेछन् वा यदि उनीहरुले उहाँलाई विश्वास गरेनन् भने अनन्तको लागि नरकमा पिडामा हुनेछन्, यसले हाम्रो जिउने तरिकालाई परिवर्तन गर्छ । हाम्रो व्यवहार हाम्रो विश्वासद्वारा प्रभावित छ ।
कसैले आफ्नो विश्वासलाई “ख्रीष्टियन” भन्न सक्ला, तर यदि त्यो विश्वासले व्यवहार परिवर्तन गर्न सक्दैन भने, त्यो बाइबलीय ख्रीष्टियन होइन । ख्रीष्टियन जीवन हामीभित्र भएको अनन्त जीवन हो । “अनि तिनीहरुले तपाईं एक मात्र सत्य परमेश्वरलाई र तपाईंले पठाउनुभएको येशू ख्रीष्टलाई चिनून् – अनन्त जीवन यही हो ” (यहून्ना १७:३) । “यसैकारण कोही ख्रीष्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो, पुराना कुराहरु बितिगएका छन्; हेर, सबै कुराहरु नयाँ भएका छन् ।” (२ कोरिन्थी ५:१७) ।
जब मैले प्रभु येशूलाई मेरो जीवनमा उहाँको इच्छा पूरा गर्न दिँए, उहाँले थोरै कुराहरुलाई बाहिर निकाल्नुहुन्छ । एक साँचो ख्रीष्टियन भनेको प्रभु येशू ख्रीष्टको साँचो चेला हुनु हो । हामी उहाँलाई विश्वासद्वारा चिन्दछौं, र हामी उहाँलाई प्रेम गर्छौ किनभने उहाँले हामीलाई पहिले प्रेम गर्नुभयो । स्थानीय सभामा हामी अरुहरुद्वारा उत्साहित हुन्छौं जसले उहाँलाई चिन्दछन् र उहाँलाई प्रेम गर्दछन् ।
मुक्तिदाताप्रतिको हाम्रो आपसी प्रेमको कारणले, हामी विश्वासीहरुको एउटै शरीरको रुपमा एकै साथ काम गर्दै अरुलाई ख्रीष्टमा ल्याउँन एक अर्कालाई प्रेम र प्रार्थना गर्छौं । मेरो व्यक्तिगत कथा अपवाद होइन; यो ख्रीष्टियनहरु माझ साझा हो ।
म गैर-ख्रीष्टियन घरमा हुर्किए । जब म मेरीभिल जुनियर उच्च विद्यालयमा थिएँ, मैले मेरीभिलको पहिलो ब्याप्टिस्ट मण्डलीमा सहभागिता जनाएँ किनकि म खैरो छोटो कपाल भएकी, खैरो आँखा भएकी केटीलाई हेर्न चाहन्थे । एक दयालु मानिसले मलाई छेउमा लगे र बाइबल लिएर मलाई परमेश्वरले प्रेम गर्ने कुरा र प्रभु येशू मलाई बचाउन मर्नुभयो र उहाँ मृत्युबाट बौरी उठ्नुभयो भन्ने कुरा वर्णन गरे । उनी र उनको पाष्टर, डा. जे. विलियम हार्बिनले, मेरीभिल, टेनेस्सीको पहिलो ब्याप्टिस्ट मण्डलीमा, मलाई येशू ख्रीष्टमा डोर्याए । म घर गएँ र मैले आमालाई भनें, “आज म बचाइए ।”
जब मैले बप्तिष्मा लिएँ, मेरो नाम मण्डलीको सदस्यतामा थपियो । म परमेश्वरलाई धन्यवाद दिन्छु कि उहाँले मलाई यी मानिसहरुसँग परिचित हुने सु-अवसर दिनुभयो जो प्रभु र उहाँको वचनसँग परिचित छन् । जसै परमेश्वरले मलाई डोर्याउनुभयो, यी सारा वर्षहरु अद्भुत भएका छन्, प्रभु येशूमाथि विश्वास गरेर मात्र होइन, तर नयाँ नियम मण्डलीसँग आबद्ध हुन पाउँदा ।
(क्लेरेन्स सेक्सटनद्वारा लिखित “विश्वास र आबद्धता” पुस्तकबाट साभार गरिएको)