मृत्युसम्म पुर्याउने पाप के हो?

१ यूहन्ना ५:१६-१७ को खण्डमा मृत्युसम्म पुर्याउने पापको विषय उल्लेख भएको छ। मृत्युसम्म पुर्याउने पाप के होला? १६ पदमा ‘एक भाइ’ले मृत्युसम्म पुर्याउने पाप गर्न सक्ने संकेत भएको छ। अब यहाँ ‘भाइ’ भनेर कसलाई जनाईएको हो? यो बुझ्न महत्वपूर्ण छ। कतिले भन्छन् ‘भाइ’ भन्नाले साधरण व्यक्ति, हाम्रो छिमेकी हुनुपर्छ। कसैले सोच्छन् कि ‘भाइ’ भन्नाले एक विश्वासीलाई जनाईएको हो। साथै अर्को प्रश्न उठ्छ, ‘मृत्यु’ ले यहाँ कस्तो मृत्युलाई संकेत गरेको हो? आत्मिक मृत्यु कि शारीरिक मृत्यु?
हामीले याद गर्नुपर्छ कि समग्र बाइबलमा हेर्दा शिक्षा प्रष्ट छ कि सबैले पाप गरेका छन् र पापको ज्याला मृत्यु हो। पापको कारण मानिस शरीरमा मर्छन् र आत्मिक रूपमा पनि मर्छन्। तर येशू ख्रीष्टमा पाप क्षमा छ, उहाँले एक पश्चतापी पापीलाई अनन्त जीवन दिनुहुन्छ। एक व्यक्तिले जस्तो सुकै पाप गरेका भए तापनि येशूको रगतद्वारा क्षमा सम्भव छ। त्यहाँ कुनै त्यस्तो पाप छैन जुन पाप येशूको रगतले धुन सक्दैन। यदि त्यस्तो हुँदो हो त ख्रीष्टको बलिदानलाई सिद्ध र पूर्ण बलिदान भन्न मिल्दैनथ्यो। मानिसले गर्ने त्यहाँ कुनै त्यस्तो पाप छैन जुन ख्रीष्टको रगतले धुन सक्दैन।
तर विश्वासीहरूलाई परमेश्वरले ताडना स्वरूप शारीरक मृत्यु दिन सक्नुहुन्छ। प्रेरित ५ अध्यायमा हनानिया र सफिराको उदाहरण छ। साथै १ कोरिन्थी ११:२८-३२ को खण्डमा यस विषयमा संकेत गरिएको छ। विश्वासीहरूले अनन्त जीवन कहिल्यै गुमाउँदैनन् तर ताडना स्वरूप शारीरिक मृत्यु भोग्नु पर्ने हुन सक्छ। यसैलाई मृत्युसम्म पुर्याउने पाप भनेर पनि बुझ्ने गरिन्छ। यदि एक विश्वासी निरन्तर अधर्ममा लाग्छ, प्रभुले आफ्नो समय र योजनामा उसलाई शारिरीक मृत्यु दिन सक्नुहुन्छ। अब कुन कुन पाप गर्यो भने यस्तो ‘ताडनाको मृत्यु’ भोग्नु पर्ने हो, त्यो तोकिएको छैन, हामीलाई प्रकाश गरिएको छैन। हामीलाई यति थाहा छ प्रभुले यो गर्न सक्नुहुन्छ र आफ्नो योजना र समयमा उहाँले गर्नुहुन्छ। हामी पवित्रतामा जिउनु पर्दछ।
अर्को बुझाइ यो पनि छ कि विश्वासी भनी कहलाईएका तर धर्म त्याग या विश्वास त्याग गरेकाहरू मृत्यु, अनन्त विनाशतर्फ जान्छन्। यदि विश्वासीले पाप गर्छ, उसले पश्चताप गर्न सक्छ। ऊ अनन्त मृत्युको भागिदार हुँदैन, साथै शारिरीक मृत्यु पनि ताडना स्वरूप नपाउन सक्छ। तर एक व्यक्ति जो ‘भाइ’ कहलाईएको छ तर विश्वास त्याग गरेको छ, उसले साँचो मुक्ति नपाएको रहेछ भने उसको सन्दर्भमा यो भन्न सकिन्छ कि उसले मृत्युसम्म पुर्याउने पाप गरेको छ। यहूदा इस्करयोती यसको एक उदाहरण हुन सक्छन्। यहि १ यूहन्ना २:१९ मा भनिको छ, “हामीबाट तिनीहरू निस्के, तर तिनीहरू हाम्रा थिएनन्…”
यसैले यो दुई प्रकारको बुझाइहरू हामी पाउन सक्दछौं। ठ्याक्कै कुन बुझाइ यहाँ भनिएको अहिले ठम्याउन सकिन्न। एक दिन अनन्ततामा बुझ्नेछौं। तर कुरा यो हो कि मानिसहरूका सबै पाप क्षमा हुन्छन् यदि साँचो पश्चताप गरेमा। येशू ख्रीष्टको बलिदानको सामर्थ्यमा शंका छैन।