बाइबल ज्ञान — जीवन दिने ज्ञान
Facebook ↗YouTube ↗सम्पर्क

वैवाहिक जीवनको जग

वैवाहिक जीवनको जग

ख्रीष्‍टियनहरुलाई, विवाहको ईश्‍वरीय योजनामा, ख्रीष्‍ट र उहाँको मण्डलीको बिचमा रहेको अद्भूत एकताको अस्तित्वको प्रतिनिधित्व गर्ने अवसर प्रदान गरिएको छ ।

बाइबलले बताउँदछ परमेश्‍वरले हामीलाई प्राण, आत्मा र शरीरमा बनाउनुभएको छ । हामी केवल शरीर मात्र हौइनौं, तर “प्राण र आत्मा र शरीर” हौं । जब मानिसहरुले यो वाक्यांशको प्रयोग गर्छन्, उनीहरु प्रायः शरीरबाट सुरु गर्छन् । तर, हामीले पछ्याउनु पर्ने त्यहाँ ईश्‍वरीय क्रम छ । ईश्‍वरीय क्रममा सुरुमा प्राण, त्यसपछि आत्मा, र त्यसपछि शरीर आउँछ । विवाहमा, हामी एकै प्राणमा, एकै आत्मामा, र एकै शरीरमा हुनुपर्छ । दुई व्यक्तिहरु प्रभु येशू ख्रीष्‍टको जगमा एक हुन्छन् ।

अदनको बगैचामा भएको विवाहको सबैभन्दा सुरुको अभिलेखबाट हामीले प्राप्‍त गरेको कुराबाट, हामी जान्दछौं कि परमेश्‍वरले आदमलाई आफ्नो बुबा र आमा छोड्न भन्‍नुभयो, छोड्ने र छुट्टिने सिद्धान्तको स्थापना गर्नुभयो । बाइबलले उत्पत्ति २:२४ मा बताउँदछ, “यसकारण मानिसले आफ्ना बाबुलाई र आफ्नी आमालाई छोड्नेछ र आफ्नी पत्‍नीसँग टाँसिनेछ; र तिनीहरु एउटै शरीर हुनेछन् ।”

त्यहाँ एकता र मिलनबिचमा भिन्‍नता छ । एक श्रीमान्‌ र श्रीमती कहाँ बस्‍ने भन्‍ने कुरामा सहमत हुन सक्छन् । उनीहरुले कस्तो किसिमको गाडी लिने भन्‍ने कुरामा सहमति जनाउन सक्छन् । मिलन नभई उनीहरुको विवाहमा उनीहरुसँग एक प्रकारको एकता हुन सक्छ ।

यो अचम्मको कुरा छ कि धेरै मानिसहरु विवाहको विषयलाई गहन रुपमा विचार गर्छन्, यद्यपि आत्मिक कुराहरुलाई कुनै विचार गर्दैनन् । जब “तपाईंको ख्रीष्‍टियन जीवनको विषयमा के हो?” भनि प्रश्‍न गरिन्छ, उनीहरु प्रायः यसो भन्दै उत्तर दिन्छन्, “हामीले त्यसको विषयमा कुरा गरेका छैनौं ।” विवाहको जग प्रभुमा बसालिनु पर्दछ र हाम्रो मिलन ख्रीष्‍टमा हुनुपर्छ ।

मैले एकजना महिलासँग उसको श्रीमान्‌को विषयमा कुरा गरेको सम्झन्छु । उनको विवाह भएको दश वर्ष भएको थियो, र उनको विवाहमा उनी र श्रीमान्‌बिच समस्या आएको थियो । मैले भने, “के उहाँ ख्रीष्‍टियन हो?” उनले भनिन्, “मलाई यो थाहा पाउने कुनै तरिका छैन ।” मैले भने, “तपाईंले कहिले पनि उहाँलाई सोध्‍नुभएको छैन?” उनले भनिन्, “नाईं, हामी यस्ता कुराहरुको विषयमा कुरा गर्दैनौं । मलाई थाहा छैन कि उहाँ ख्रीष्‍टियन हो कि होइन ।” यो सुनिसकेपछि, मलाई आश्‍चर्य लागेन कि किन उसको विवाहमा समस्याहरु भईरहेका थिए ।

परमेश्‍वरको वचनले बताउँदछ कि हामी असमान जुवामा सँगै हुनुहुँदैन । ख्रीष्‍टियन मानिसहरुले ख्रीष्‍टियन मानिसहरुसँग विवाह गर्नुपर्छ । यद्यपि, केही ख्रीष्‍टियनहरु अरु ख्रीष्‍टियनहरुसँग विवाहित छन् र उनीहरु पनि असमान रुपमा जोडिएका छन् किनभने एउटा प्रभुलाई प्रेम गर्ने ख्रीष्‍टियन हो र अर्कोले प्रभुलाई प्रेम गर्दैन ।

धेरै मानिसहरु यो सोच्छन् कि जब उनीहरु विवाहमा एक हुन खोज्छन्, उनीहरु शरीरमा एक हुन्छन् । तर शरीरको एकतामा कुनै पनि बलियो विवाहको निर्माण हुन सक्दैन । यदि तपाईं केवल शारीरिक रुपमा आकर्षित हुनुभएको छ भने, तपाईंको विवाहले कठिन समयहरुलाई सहन सक्दैन । तपाईंले केही मिलन प्राप्‍त गरेको हुन सक्छ, तर त्यहाँ अनन्तसम्म रहने मिलन हुँदैन ।

हामी शरीरमा मात्र एक भएर हुँदैन तर हामी प्राणमा, आत्मामा, र शरीरमा पनि एक हुनुपर्छ । परमेश्‍वरसँग र एक अर्कासँग भएको आत्मिक मिलनले विवाहको सबै कुराको लागि जग बनाउँदछ ।

यो मिलन प्राप्‍त गर्नको लागि के कुराले हामीलाई मद्दत गर्छ? यदि तपाईंको घरले सबै कुरा सहने हो भने तपाईंसँग हुनु पर्ने स्थायित्व के कुराले निमार्ण गर्छ? यदि परमेश्‍वरले तपाईंसँग जस्तो हुनुपर्ने त्यस्तो किसिमको विवाहमा तपाईं संलग्‍न हुन गईरहनु भएको छ भने र यात्रामा आनन्द मनाउन चाहनुहुन्छ भने, तपाईंले आत्मिक मिलनको स्थापना गर्नुपर्छ ।

तपाईंले प्रभुलाई कसरी चिन्‍नुभयो र उहाँ तपाईंको निम्ति को हुनुहुन्छ भन्‍ने कुरा एक अर्कासँग गर्नुहोस्

“परमप्रभुबाट छुटकारा पाएकाहरुले त्यसै भनून्, जसलाई उहाँले शत्रुहरुको पञ्‍जाबाट छुटकारा दिनुभएको छ ।” भजनसंग्रह १०७:२

पुरुषहरु, तपाईंको साथ साथै तपाईंको श्रीमतीले तपाईंको साक्षी दिन सक्‍नुपर्दछ । तपाईं कहिले बचाइनुभयो र तपाईंको जीवनमा येशू ख्रीष्‍टले कस्तो स्थान राख्‍नुहुन्छ भन्‍ने सन्दर्भमा त्यहाँ जति पनि कुरा थाहा पाउनुपर्दछ, ती सब कुरा उनले जान्‍नुपर्दछ । यसको विपरित पनि सही हो । एक श्रीमान्‌ले आफ्नो श्रीमतीको गवाही यति धेरै सुनेको हुनुपर्छ र प्रभु येशूको विषयमा उनले कुरा गरेको सुन्‍नुपर्छ कि उसको श्रीमतीले कसरी येशू ख्रीष्‍टलाई उनको मुक्तिदाताको रुपमा चिन्‍न सक्यो भन्‍ने कुरामा ऊ परिचित हुनुपर्छ ।

तपाईंको मुक्तिको विषयमा होइन, तर तपाईंको जीवनसाथीको मुक्तिको विषयमा के तपाईं विस्तारमा भन्‍न सक्‍नुहुन्छ? के तपाईंले सँगै बसेर कसरी तपाईंहरुले प्रभु येशूलाई मुक्तिदाताको रुपमा चिन्‍नुभयो र तपाईंको जीवनमा उहाँको स्थान के हो भन्‍ने विषयमा कुरा गर्नुभएको छ?

जब एभिलिन र मेरो विवाह भएको धेरै भएको थिएन, हामीले प्रभुलाई कसरी चिन्यौं र उहाँले हाम्रो जीवनहरुमा कस्तो अद्भुत आशिषहरु दिनुभएको छ भन्‍ने विषयमा हामीले कुरा गर्न सिक्यौं ।

धेरै ख्रीष्‍टियनहरु धेरै वर्षहरुदेखि विवाहित छन् र उनीहरुले कहिले पनि स्वतन्त्र रुपमा र खुल्ला भएर उनीहरुले कसरी प्रभुलाई आफ्नो मुक्तिदाता भनी चिने र उनीहरुको जीवनमा प्रभु येशूको स्थान कुन हो भन्‍ने विषयमा कहिले पनि कुरा गरेका छैनन् । विवाहमा आत्मिक मिलनको स्थापनाको सुरुवात मुक्ति र परमेश्‍वरको आशिषको विषयमा तपाईंको जीवन साथीसँग स्वतन्त्र रुपमा कुरा गरेर हुन्छ ।

सँगै प्रार्थना गर्नुहोस् र प्रार्थनाको जवाफ एक अर्कामा बाँड्नुहोस्

“दुईजना एकै मनका भएनन् भने के तिनीहरु एकसाथ हिँड्न सक्छन् र?” आमोस ३:३

तपाईंले आफ्नो जीवनसाथीले प्रार्थना गरेको नसुन्‍नुभएसम्म तपाईंले उहाँको हृदय कहिले पनि जान्‍नुहुँदैन ।

जब म मेरी पत्‍नीले, आफ्नो प्रार्थनामा मेरो नाम र मेरा नानीहरुको नाम लिएको र परमेश्‍वरले हामीलाई दिनुभएको सेवाको निम्ति उनले गरेको प्रार्थना सुन्दा, त्यसले एकदमै बहुमूल्य अनुभूति प्रदान गर्छ । जब म उनले परमेश्‍वरको अघि मानिसहरुको नाम लिएको सुन्छु, जब म उनको स्वर स्वर्गसम्म पुर्‍याइएको सुन्छु, जसै हामी सँगै प्रार्थना गर्छौं, जसै हामी प्रार्थनाको समान जमिनमा परमेश्‍वरलाई भेट्छौं, बाइबलले ज्ञानको आधारमा उनीसँगै बसोबास गर्ने सम्बन्धमा बताएको कुरा अझ राम्रोसँग बुझ्छु । श्रीमान्‌हरु र श्रीमतीहरुले सँगै प्रार्थना गरेर प्रभुको खोजी गर्नुपर्दछ र उत्तरित प्रार्थनाहरुको निम्ति सँगै आनन्द मनाउनुपर्छ ।

परमेश्‍वरको वचन सँगै पढ्नुहोस् र तपाईंको निम्ति परमेश्‍वरले बोल्न प्रयोग गर्नुभएको कुराहरु आफ्नो जीवनसाथीसँग बाँड्नुहोस्

“तपाईंको वचन मेरा पाउहरुका निम्ति बत्ती, र मेरो बाटोका निम्ति ज्योति हो ।” भजनसंग्रह ११९:१०५

सायद तपाईंलाई राम्रोसँग पढ्न आउँदैन होला, र अरु कसैको अगाडि पढ्न तपाईंलाई लाज लाग्‍न सक्छ । त्यसलाई ठेस लाग्‍ने कारणको रुपमा नबनाउनुहोस् जसले तपाईंलाई बाइबलको बेवास्ता गर्न लगाउँछ ।

मेरी पत्‍नीले बाइबल पढेको सुन्‍न पाउँदा म आनन्दित हुन्छु । म विश्‍वास गर्छु कि मैले बाइबल पढेको सुन्दा उनी पनि आनन्दित हुन्छिन् । परमेश्‍वरको वचनमा भएका कुराहरुको विषयमा कुरा गर्न हामी मन पराउँछौं जसको प्रयोग उहाँले हामीसँग बोल्नको निम्ति गर्नुहुन्छ ।

तपाईंले भन्‍न सक्‍नुहुन्छ, “हामी कहिले पनि त्यसो गर्दैनौं ।” त्यसो भए केही कामहरु घटाउनुहोस् र सँगै प्रार्थना गर्न सुरु गर्नुहोस् । यस पुस्तकको पछाडि दिइएको कुनै एउटा बाइबल अध्ययन तालिकाको प्रयोग गर्न सुरु गर्नुहोस् ।

एक अर्कालाई प्रार्थनाको विषय दिनुहोस्

“तिमीहरुले एक–अर्काका भारहरु उठाइदेओ, र यसरी ख्रीष्‍टको व्यवस्था पूरा गर!”  गलाती ६:२

सबै कुराको निम्ति प्रार्थना गर्नुहोस् । जब तपाईं निर्णय गर्न कोशिस गरिरहनु भएको छ भने, त्यसको निम्ति प्रार्थना गर्नुहोस् । जब तपाईं आफ्नो छोरा-छोरीहरुसँग व्यवहार गर्नुहुन्छ, प्रार्थना गर्नुहोस् कि परमेश्‍वरले आमा बुबाको रुपमा सँगै मिलेर उनीहरुसँग व्यवहार गर्नको निम्ति तपाईंहरुलाई बुद्धि दिनुभएको होस् ।

विवाहमा पर्खने कार्य कठिन कार्य हो । हामीले चाहेको कुरा, सायद घर वा गाडी खरिद गर्न पर्खिनु पर्‍यो भने यो कठिन हुन्छ । तर बाइबलमा असल निर्देशन छ जसले हामीलाई सिकाउँछ कि हामीले हरेक कुरालाई नै प्रार्थनाको विषय बनाउनु पर्दछ । सबै कुराको निम्ति प्रार्थना गर्न सहायताको निम्ति परमेश्‍वरलाई पुकारौं । तपाईंको प्रार्थनामय जीवनमा तपाईंलाई सहयोग गर्नको निम्ति यस पुस्तकको पछाडि भएको प्रार्थनाको पदहरुको प्रयोग गर्नुहोस् ।

एकसाथ मण्डलीमा उपस्थित हुनुहोस्

“र कसै–कसैको आदत भएझैं हामी एक ठाउँमा भेला हुन नछोडौं, तर एक–अर्कालाई उत्साह दिँदै रहौं; अनि त्यो दिन जति नजिक–नजिक आउँदै गरेको तिमीहरु देख्छौ, त्यति नै बढी हामी यसो गर्ने गरौं ।”  हिब्रू १०:२५

एकसाथ मण्डलीमा उपस्थित हुनुहोस् र जसै तपाईं सँगै परमेश्‍वरको आराधना गर्नुहुन्छ तपाईंले प्राप्‍त गर्नुभएको आशिषको विषयमा कुरा गर्नुहोस् । यसले हामीमध्ये धेरैलाई सहयोग गर्नेछ जब हामी आराधना सभाबाट बाहिर निस्कन्छौं र के गलत भयो वा को त्यहाँ थिएन भनी हामी कुरा गर्दैनौं । हामीले कसरी परमेश्‍वर हामीसँग बोल्नुभयो र कसरी पवित्र आत्माले हाम्रो हृदयहरुलाई छेड्नुभयो भनी कुरा गर्नुपर्छ । एउटा परिवारको रुपमा सँगै परमेश्‍वरको आराधना गर्न सिक्‍नुहोस् ।

तपाईंको जीवनहरुमा परमेश्‍वरले गर्नुभएको हेरचाहको विषयमा कुरा गर्न प्रत्येक दिन समय बिताउनुहोस्

“अनि आफ्नो सारा फिक्री उहाँमाथि राखिदेओ, किनकि उहाँले तिमीहरुको फिक्री गर्नुहुन्छ ।” १ पत्रुस ५:७

तपाईंको जीवनमा परमेश्‍वरको अनुग्रह र असलपनको विषयमा कुरा गर्न प्रत्येक दिन केही निर्बाध समय बिताउनुहोस् । यसले तपाईंको विवाहमा धेरै नै फाइदा पुर्‍याउनेछ ।

हाम्रो घरमा प्रत्येक पटक मेरी पत्‍नीले मलाई हेर्छिन्, मसँग पुस्तक हुन्छ । मसँग जताततै पुस्तकहरु छन् । मेरो कुर्सीको उतापट्टि पुस्तकहरु छन् । मेरो सुत्‍ने कोठामा पुस्तकहरु छन् । मेरो खाटको छेउमा भएको सानो दराजमा पुस्तकहरु छन् । तर सबै कुरा बन्द गर्ने र एक अर्कालाई ध्यान दिने समय आउँदछ । परमेश्‍वर कति असल हुनुहुन्छ र कसरी उहाँले दिनभरी तपाईंको हेरचाह गर्नुभयो भनेर कुरा गर्नुहोस् ।

क्षमा दिन रोज्नुहोस्

“अनि एक–अर्काप्रति दयालु होओ, कोमल मनका होओ; र जसरी परमेश्‍वरले ख्रीष्‍टमा तिमीहरुलाई क्षमा गर्नुभएको छ, त्यसरी नै तिमीहरुले पनि एक–अर्कालाई क्षमा गर ।” एफेसी ४:३२

निर्णय गर्नुहोस् कि जब तपाईंले विवाह गर्नुहुनेछ, तपाईंले एक-अर्कालाई क्षमा दिनुहुनेछ । क्षमा दिने कार्यलाई तपाईंको जीवनको हिस्सा बनाउनु होस् । विवाह क्षमा दिने सम्बन्ध हुनुपर्छ ।

हामीले क्षमा दिनुपर्छ किनभने ख्रीष्‍टले हामीलाई क्षमा दिनुभयो । ख्रीष्‍टले विश्‍वासीलाई क्षमा नदिनुभएको त्यहाँ कुनै पनि कारण छैन । हाम्रो पापहरु येशू ख्रीष्‍टको बहुमूल्य रगतमा धोइएको छ । जसरी ख्रीष्‍टले तपाईंलाई क्षमा दिनुभयो त्यसरी नै तपाईंको विवाहमा क्षमा दिन रोज्नुहोस् ।

एक–अर्काबाट सुझाव र हप्कीलाई स्वीकार गर्न इच्छुक हुनुहोस्

“साथीबाटका चोटहरु विश्‍वासयोग्य हुन्छन्; तर शत्रुका चुम्बनहरु कपटपूर्ण हुन्छन् ।” हित्तोपदेश २७:६

यो गर्नु कठिन हुन्छ । सुझावको निम्ति सही समय र सही स्थानको छनौट गर्नु महत्वपूर्ण हुन्छ । सार्वजनिक स्थानमा वा अरु मानिसहरुको अघि हप्काउनु हुँदैन । एक आत्मिक रुपमा वयस्क पुरुष, आफ्नो पत्‍नीको प्रेममा सुरक्षित, उनले जब यो भन्छिन् त्यो पुरुषले सुन्छ, “तपाईं जस्तो ख्रीष्‍टियन हुनुपर्ने हो त्यस्तो हुनको लागि, तपाईंले यो कुरा सुधार गर्नुपर्छ ।”

आवश्यक समयमा एक पुरुषले पनि आफ्नी पत्‍नीलाई हप्की र सुझाव दिन सक्षम हुनुपर्छ । तपाईंले प्रेमिलो हप्कीप्रति कस्तो प्रतिकृया दिनुहुन्छ त्यसको आधारमा तपाईंको आत्मिकी परिपक्‍वताको विषयमा तपाईंले भन्‍न सक्‍नुहुन्छ । सुझावहरु स्वीकार गर्न इच्छुक हुनुहोस् । यसले तपाईंको विवाहलाई बढ्न मद्दत गर्छ ।

तपाईंको जीवनमा भएका रिस उठ्ने बानीहरुमाथि विजय प्राप्‍त गर्न ख्रीष्‍टलाई खोज्नुहोस्

“किनकि परमेश्‍वरबाट जन्मेको हरेकले संसारमाथि जय प्राप्‍त गर्छ; अनि हाम्रो विश्‍वास नै यो विजय हो, जसले संसारमाथि जय प्राप्‍त गर्छ ।” १ यूहन्‍ना ५:४

पुरुषहरु यो भन्‍न मन पराउँछन्, “म त्यस्तै प्रकारको छु । मेरो त्यही तरिकामा रिस उठ्छ । तिमीलाई थाहा छ म बच्‍चाहरुलाई वा तिमीलाई केही कुरा भन्‍नेछु जुन मैले भन्‍नु हुँदैन ।” विजय प्राप्‍त गर्न परमेश्‍वरलाई विन्ती गर्नुहोस् । तपाईं त्यो कुरामा कहिले पनि सिद्ध हुनुहुनेछैन, तर ती बानीहरुमाथि तपाईंले विजय प्राप्‍त गर्न सक्‍नुहुनेछ । यदि तपाईंको यस्तो प्रकारको बानी छ जुन तपाईं जान्‍नुहुन्छ कि त्यो बानी तपाईंसँग हुनुहुँदैन, विजय प्राप्‍त गर्न परमेश्‍वरसँग माग राख्‍नुहोस् । प्रभुको उपस्थितिमा प्रत्येक दिन सँगै हिँडेर प्रत्येक विजयको सफलता हासिल हुन्छ ।

पत्‍नीहरु, यदि तपाईंले ओठ लेब्राउँदै रिस राखेर बस्‍नुहुन्छ, तपाईंसँग क्रोध हुँदा हुँदै घाम अस्ताउन दिनुहुन्छ भने त्यो ख्रीष्‍टको जस्तो भएन । विजय प्राप्‍त गर्न परमेश्‍वरसँग माग राख्‍नुहोस् ।

तपाईंको आँखाबाट भएर कुनै पनि अशुद्ध कुरालाई जाने अनुमति नदिनुहोस्

“म आफ्ना आँखाहरुको सामु कुनै अधम कुरा राख्‍नेछैनँ; अर्कोतिर लाग्‍नेहरुको काम म घृणा गर्छु; त्यो मसित टाँसिनेछैन ।” भजनसंग्रह १०१:३

आज टेलिभिजनमा देखाइएको सबै फोहोरसँगै, घृणित कुराहरुलाई नहेर्न कठिन हुन्छ । तर जब हामी अशुद्ध कुराहरुलाई हाम्रो दिमागमा जान दिन्छौं, हामी हाम्रो विवाहको विरोधमा पाप गर्दछौं । जब हामी हाम्रो बुद्धिलाई प्रोत्साहित हुन र हाम्रो भावनाहरुलाई केही दुष्‍ट कुराहरु जसले हाम्रो विवाहलाई उल्लंघन गर्छ, त्यसद्वारा विचलित हुन दिँदछौ, जब हाम्रो सोचनिय जीवनमा हाम्रो इच्छालाई पापको निम्ति दिदँछौ, हामीले हाम्रो निम्ति परमेश्‍वरले इच्छा गर्नुभएको आत्मिक मिलनलाई अबरोध गर्दछौं ।

पुरुषहरु मात्र होइन, यस्ता कुराहरुमा महिलाहरु पनि संलग्‍न हुन सक्छन् । तपाईंको आँखाको ढोकाको अवलोकन गर्नुहोस् । यदि तपाईं यो आत्मिक मिलनको चाहना गर्नुहुन्छ भने, तपाईंको आँखाको ढोका भएर कुनै दुष्‍ट कुरा पस्‍न नदिनुहोस् ।

तपाईंको वैवाहिक जीवनमा ख्रीष्‍टको आत्माको इच्छा गर्नुहोस्

“ख्रीष्‍ट येशूमा जुन मन थियो, त्यही मन तिमीहरुमा पनि होस् ।” फिलिप्पी २:५

धेरै जना विश्‍वासीहरु आफैलाई ख्रीष्‍टियन भन्‍नमा सन्तुष्‍ट छन् यद्यपि उनीहरु ख्रीष्‍टजस्तै हुन इच्छा गर्दैनन् । तपाईंले आफ्नो जाँच लिनुहोस् । उदाहरणको लागि, तपाईं बोलेको आवाजलाई विचार गर्नुहोस् । म माग गर्ने, अख्तियारसाथ बोल्ने किसिमको मानिस हुन सक्छ । मेरो बोलीको आवाज कठोर, वजनदार, जबरजस्त, र टाढाको जस्तो सुनिन सकिन्छ । यो यस्तो क्षेत्र हो जसमा मलाई धेरै नै परमेश्‍वरको सहायता चाहिन्छ । यो प्रयास गरेर हासिल गर्ने कुरा होइन; यो यस्तो कुरा हो जुन मरेर- आफूलाई मारेर प्राप्‍त गर्न सकिन्छ ।

जब नानीहरु जन्मिन्छन्, श्रीमान् र श्रीमती सँगै हुनुपर्छ, एउटै छतको तल मात्र होइन, तर उनीहरुको नानीहरुले भोग्‍नुपर्ने समस्याहरु र कठिनाईहरुसँग व्यवहार गर्न आत्मामा सँगै हुनुपर्छ । यदि तपाईं सोच्नुहुन्छ कि जब तपाईंका नानीहरु हुर्किन्छन् र आफ्नो परिवारमा जीवन जिउन थाल्छन्, तपाईंले उनीहरुलाई मद्दत गर्ने कार्य बन्द हुन्छ, तपाईं गलत हुनुहुन्छ । ती मानिसहरुलाई सोध्‍नुहोस् जसको नानीहरु हुर्किसकेका छन् । उनीहरुलाई आत्मिक आमा र बुबाबाट सल्लाहको आवश्यकता हुन्छ ।

यो सोच्दा मलाई दुःख लाग्छ कि कति मानिसहरु सामान्य सोचाईको साथमा “विवाहमा” समावेश भएका छन् र परमेश्‍वरले उनीहरुको जीवनमा वास्तवमै के गर्न चाहनुहुन्छ त्यो गर्ने अनुमति दिएका छैनन् । तपाईंको विवाहमा ख्रीष्‍टको आत्माको चाह गर्नुहोस् ।

प्रभु येशूसँग हुनु अद्भूत कुरा हो । यदि तपाईं येशू ख्रीष्‍टको लागि जिउनुहुन्छ भने र साँचो रुपमा आफैलाई उहाँमा सुम्पिनुहुन्छ भने, तपाईंको जीवनसाथीसँग त्यस्तो कोही हुनेछ जससँग उहाँ जिउन सक्‍नुहुन्छ जो प्रभु येशूजस्तै छ ।

प्रभुको वरिपरि आफ्नो जीवन निर्माण गर्नुहोस्

“अनि उहाँचाहिँ शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ; उहाँ शुरु अर्थात् मरेकाहरुबाट बिउँतनेहरुमा जेठा हुनुहुन्छ, यसैले कि सबै कुराहरुमा उहाँलाई नै पहिलो स्थान दिइयोस् ।” कलस्सी १:१८

तपाईंको जीवन प्रभुको वरिपरि निर्माण गर्नुहोस्, तपाईंका नानीहरु, क्रियाकलापहरु, र रुचिहरुमा होइन । धेरै मानिसहरुले आफ्नो वैवाहिक जीवन नानीहरुको वरिपरि निर्माण गरेका छन् । जब उनीहरुको नानीहरु आफ्नो बाटो लाग्छन्, उनीहरुसँग कुनै वैवाहिक जीवन बाँकी रहँदैन । उनीहरुसँग पहिलो स्थानमा कुनै वैवाहिक जीवन नै थिएन ।

मलाई मेरी पत्‍नीसँगै रहन मनपर्छ, र उनलाई पनि मसँग रहन मनपर्छ । उनले मेरो विचलित हृदयलाई शान्त पार्छिन् । हामीसँग आत्मिक समान जमिन छ जसमाथि हामी उभिन्छौं । हाम्रो मर्ने दिनसम्म त्यसलाई सहनको लागि हामीलाई परमेश्‍वरले सहायता गर्नु भएको होस् ।

म मेरा सन्तानप्रति समर्पित छु । म मेरा नाति-नातिनीको निम्ति असल हजुरबुबा हुन चाहन्छु । तर मेरो जीवन मेरी पत्‍नी, मेरो छोरा-छोरी, वा मेरा नाति-नातिनीको वरिपरि निर्माण हुन सक्दैन; यो प्रभु येशूको वरिपरि निर्माण गरिनुपर्छ । जसै मेरी पत्‍नी र म प्रभुलाई प्रेम गर्छौं, हामी एक अर्कालाई गर्ने प्रेममा झन् धेरै बढ्दै जान्छौं । हाम्रो सम्बन्धलाई त्रिकोणको रुपमा कल्पना गर्नुहोस् । प्रभु शिखरमा हुनुहुन्छ, उनी एउटा कुनामा छिन्, र म अर्को कुनामा छु । जसै हामी दुवै परमेश्‍वरको नजिकमा जाँदछौ, हामी एक-अर्काको नजिकमा जाँदछौं । तपाईंको वैवाहिक जीवन प्रभु येशूको वरिपरि निर्माण गर्नुहोस् ।

एक अर्काको निम्ति ख्रीष्‍टलाई उचाल्नुहोस्

“मसँग परमप्रभुको बढाइ गर; हामी मिलेर उहाँको नाम उच्‍च पारौं !” भजनसंग्रह ३४:३

तपाईंको घरमा, प्रभुको प्रशंसा गर्नुहोस् र परमेश्‍वरको असलपनाको कुरा गर्नुहोस् । प्रभु येशूलाई बढाउनुहोस् र तपाईंको संवादमा यस्तो मनोवृत्तिको विकास गर्नुहोस् जसले ख्रीष्‍टलाई उच्‍च पार्दछ । जब ख्रीष्‍ट माथि उचालिनुहुन्छ त्यहाँ विवाहमा मीठो, बहुमूल्य सुगन्ध हुन्छ । यसले प्रत्येक दिनको बोझलाई हलुको बनाउन सहायता गर्छ । तपाईं र तपाईंको परिवारको लागि प्रभु कति अद्भूत हुनुहुन्छ त्यसको चर्चा गर्नुहोस् ।

कृतज्ञताको आत्माको विकास गर्नुहोस्

“अनि परमेश्‍वरको शान्तिले तिमीहरुका हृदयहरुमा राज्य गरोस्, यसैका निम्ति तिमीहरु पनि एउटै शरीरमा बोलाइएका छौ; अनि तिमीहरु धन्यवादी होओ ।” कलस्सी ३:१५

बाइबलमा कृतज्ञताको विषयमा धेरै कुरा बताइएको छ । एफेसी ५:२८-२९ ले बताउँदछ, “यसैकारण पतिहरुले आ–आफ्ना पत्‍नीलाई आफ्नै शरीरहरुलाई झैं प्रेम गर्नुपर्छ । जसले आफ्नी पत्‍नीलाई प्रेम गर्दछ, उसले आफैलाई प्रेम गर्दछ । किनकि कुनै पनि मानिसले कहिल्यै आफ्नो शरीरलाई घृणा गरेको छैन, तर त्यसलाई पालन–पोषण र स्याहार–सुसार गर्दछ, जसरी प्रभुले पनि मण्डलीलाई गर्नुहुन्छ ।”

यदि हामी होशियार भएनौं भने, हामीमा हठीपन र गनगन गर्ने बानी सिद्ध हुँदै जान्छौ । हामीसँग सबैभन्दा नराम्रो अवस्था भेट्टाउने र सबैभन्दा राम्रो अवस्था नहेर्ने, आलोचनात्मक हुने र प्रशंसा नगर्ने बानी छ । हामी सोच्दछौं हामीले जति पनि गलत छ ती सबैको विषयमा कुरा गरेर सबैकुरा खुलस्त रुपमा राखेका छौं भनी सोच्दछौं ।

कृतज्ञताको आत्माको खेती गर्ने सम्बन्धमा सहायता गर्नको लागि म तपाईंलाई केही सुझाव दिन चाहन्छु । हेरविचार गर्ने घरमा जानुहोस् । कोठाहरुमा जानुहोस् र ती मानिसहरुसँग कुरा गर्नुहोस् जससँग उनीहरुलाई स्पर्श गर्ने वा उनीहरुलाई अंगालोमा बेर्न वा उनीहरुको हात समातेर उनीहरुलाई प्रेम गर्ने कोही पनि छैन, जससँग कहिले पनि उनीहरुको साथमा बसेर केही समयको लागि उनीहरुसँग कुरा गर्ने कोही पनि थिएन । त्यहाँ भएका मानिसहरु, कुनै परिस्थितीहरुमा, उनीहरुले यो संसार नछोडेसम्म कहिले पनि नफर्किने एक्लोपनाको संसारमा गएका छन् । यसले तपाईंलाई कृतज्ञ बनाउँदछ ।

अस्पताल, विशेषगरी बच्‍चाहरुको अस्पतालमा जानुहोस् । यस्तो कोठामा जानुहोस् जहाँ बुबा-आमाहरुले आफ्ना बच्‍चाहरुलाई पर्खिरहेका छन् जसको जीवन सन्तुलनमा झुन्डिरहेको छ । उनीहरु जान्दैनन् कि उनीहरुको बच्‍चाले त्यो रात जीवित भएर कटाउन सक्छन् कि सक्दैनन् । त्यस्तो ठाउँहरुको भ्रमण गर्नुहोस् र तपाईंसँग गहिरो कदर हुन्छ कि परमेश्‍वरले तपाईंका नानीहरुलाई स्वास्थ्य जीवन दिन के गर्नुभएको छ ।

मृत्युको शोकले व्याप्‍त घरमा जानुहोस् । शोकमा डुबेको परिवारलाई हेर्नुहोस् र परमेश्‍वरप्रति धन्यवादी हुनुहोस् कि तपाईंसँग जीवन छ र सामर्थ्य छ र तपाईंसँग उहाँको निम्ति जिउनको लागि अझै पनि अवसर छ । जबसम्म त्यहाँ जीवन छ, त्यहाँ सबै कुरा सही बनाउने आशा छ ।

ती मानिसहरुको साक्षी हुनुहोस् जो ख्रीष्‍टबिना छन् र हेर्नुहोस् कि परमेश्‍वरबिना हुनु र यस संसारमा आशारहित हुनु कति भयानक कुरा हो, जो नरकतर्फ र विनाशतर्फ अघि बढिरहेका छन् । आत्मिक विवाह हुनु भनेको, हामीले कृतज्ञताको आत्माको खेती गर्नुपर्छ ।

विवाहमा तपाईंको सही स्थान लिनुहोस्

“परमेश्‍वरको डरमा एक–अर्काको अधीनतामा आफूलाई सुम्प ।” एफेसी ५:२१

बाइबलले बताउँदछ प्रत्येक स्‍त्रीले आफ्नो श्रीमान्‌को श्रद्धा गर्नुपर्छ । धेरै पुरुषहरु यस्तो तरिकासँग जिउँछन् जसले उनीहरुको श्रीमतीलाई उनीहरुको श्रद्धा गर्न कठिन बनाउँदछ । प्रत्येक ख्रीष्‍टियन स्‍त्रीसँग साँचो रुपमा आत्मिकी पुरुषसँग विवाह गर्ने विशेषाधिकार हुनुपर्छ जससँग येशू ख्रीष्‍टको कोमलता छ, यस्तो पुरुष जसले महसुस गर्न सक्छ, स्पर्श गर्छ, प्रेम गर्छ, र वास्ता गर्छ ।

एफेसी ५:२२ ले बताउँदछ, “हे पत्‍नीहरुहो, प्रभुको अधीनमा रहेझैं आफूलाई आ–आफ्ना पतिको अधीनमा सुम्प ।”

पद पच्‍चिसले बताउँदछ, “हे पतिहरुहो, आ–आफ्ना पत्‍नीलाई प्रेम गर, जसरी ख्रीष्‍टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो ।” जति ख्रीष्‍टले हामीलाई प्रेम गर्नुहुन्छ त्यो हदसम्म हामी आफ्ना पत्‍नीहरुलाई प्रेम गर्न सक्दैनौं, तर हामी उही प्रकारमा उनीहरुलाई प्रेम गर्न सक्छौं ।

श्रीमान्‌हरु, तपाईंको स्थान नेतृत्व गर्नु हो । श्रीमतीहरु, तपाईंको स्थान अधिनतामा रहनु हो । अधिनताको अर्थ चुप रहनु भन्‍ने हुँदैन, यसको अर्थ हो कहाँ र कहिले बोल्ने त्यसको विषयमा जानकार हुनु हो । यो विशेषगरी श्रीमतीले श्रीमान्‌को गल्ती सुधार गर्ने सम्बन्धमा साँचो हो । के तपाईंलाई थाहा छ कहाँ हामीसँग नेतृत्व गर्ने र अधिनतामा रहने क्षमता हामी प्राप्‍त गर्दछौं? हामी यो क्षमता ख्रीष्‍टसँगको आत्मिकी एकतामा प्राप्‍त गर्दछौं ।

एक पुरुषले यस आत्मिकी एकतामा नेतृत्व गर्दछ । उसले प्रभुलाई प्रेम गर्छ । ऊ प्रख्यात, एकदमै राम्रो, वा आर्थिक रुपमा सबल नहुन सक्छ, तर उसकी पत्‍नीले यो प्रशंसा गर्छे कि कसरी उसले परमेश्‍वरलाई प्रेम गर्छ । उनी जान्दछिन् कि उसले प्रभु येशूलाई भेट्छ र परमेश्‍वरले उसको परिवारमा के गरेको चाहनुहुन्छ त्यो कुरा पत्ता लगाउँदछ । उनले उसको सम्मान, श्रद्धा, र आदर गर्छिन् किनभने ऊ परमेश्‍वरको मानिस हो, आत्मिक नेतृत्वकर्ता हो ।

भद्र पुरुषहरु, आत्मिक नेतृत्वकर्ता हुनुहोस् जसले येशू ख्रीष्‍टलाई प्रेम गर्दछ । तपाईंले ख्रीष्‍टलाई प्रेम गर्ने तरिकालाई तपाईंको श्रीमतीले प्रेम र प्रशंसा गर्नेछिन् । श्रीमतीहरु, तपाईंको स्थान भनेको तपाईको घरमा तपाईंको श्रीमान्‌को नेतृत्वको अख्तियारमुनि अधिनतामा बस्‍नु हो । तपाईंले आफ्नो श्रीमान्‌को अधिनतामा आफूलाई नसुम्पी परमेश्‍वरको आदर गर्न र परमेश्‍वरको आज्ञा पालन गर्न सक्‍नुहुन्‍न ।

तपाईंले भन्‍न सक्‍नुहुन्छ, “मलाई उहाँलाई भन्दा धेरै थाहा छ ।” धेरै महिलाहरुलाई उनीहरुको श्रीमान्‌हरुभन्दा धेरै थाहा हुन्छ । तपाईं भन्‍नुहुन्छ, “उहाँले गर्न नसक्‍ने धेरै कुराहरु म गर्न सक्छु ।” धेरै महिलाहरुले उनीहरुको श्रीमान्‌ले भन्दा धेरै कुराहरु गर्न सक्छन् । तर एक ख्रीष्‍टियनको रुपमा, तपाईंले आफ्नो जीवनमा आफूलाई तपाईंको श्रीमान्‌को नेतृत्वको अधिनतामा सुम्पिनुपर्छ । सायद तपाईं बलियो इच्छाशक्ति भएको व्यक्ति हुनुहुन्छ । सायद तपाईंलाई त्यही प्रकारले आफूलाई व्यक्त गर्न सिकाइएको होला । तर तपाईंको स्थान, परमेश्‍वरको वचनअनुसार, तपाईंको श्रीमान्‌को अधिनतामा हो । म फेरी पनि दोहोराउँदछु, यो मूल्य-मान्यतासँग सम्बन्धित छैन । कुनै पनि व्यक्ति अर्को व्यक्तिभन्दा कम मूल्यको छैन । अधिनताको विषय घरमा क्रम र व्यवस्थाको निम्ति हो ।

म प्रायः विवाह सम्मेलनमा बताउँदछु कि मैले गर्ने सबैभन्दा पुरुषत्व कुरामध्ये एक हो कि म बिहान बिस्तारा मिलाउँछु र मेरो पत्‍नीलाई भाडा धुन सहायता गर्छु । यी कुराहरु मेरी पत्‍नीप्रति प्रेम र कृतज्ञताको अभिव्यक्तिहरु हुन् ।

 म प्रार्थना गरिरहेको छु कि मानिसहरुले विवाहमा आत्मिक सम्बन्धको स्थापना गर्नु, ख्रीष्‍टमा एकै हुनु, प्राण, आत्मा, र शरीरमा एकसाथ जोडिनुको अर्थ के हो सिक्‍न सकुन् । म प्रार्थना गरिरहेको छु कि मानिसहरुमा त्यस्तो साथीसँग महिमातर्फको यात्राको विशेषाधिकारको आशिष् प्राप्‍त हुनेछ जसले प्रभु येशूलाई प्रेम गर्दछ र उहाँको आगमनतर्फ हेरिरहेको छ । परमेश्‍वर हामी सबैप्रति कति असल हुनुहुन्छ जसले बाइबलबाट यी कुराहरु हामीलाई जान्‍न दिनुभयो जसले हामीलाई विवाहमा आत्मिक एकता बनाउन सहायता गर्नेछ ।

(क्लेरेन्स सेक्सटनद्वारा लिखित ‘ख्रीष्टियन घर अभियान’ पुस्तकबाट साभारित। यस पुस्तकको विषयमा थप बुझ्‍न यस लिंकमा थिच्‍नुहोस् – क्राउन नेपाल पब्लिकेसन)