व्यवस्था संक्षिप्त टिप्पणी (अध्याय ११-१७)

 व्यवस्था संक्षिप्त टिप्पणी (अध्याय ११-१७)

अध्याय ११

  • ‘सम्झना गर्नु’ भन्ने विषय यस अध्यायमा पनि पाइन्छ। परमेश्वरका कामहरू र वचनलाई सम्झना गर्नू भनी परमेश्वरले मोशा मार्फत इस्राएलीहरूलाई भन्नुहुन्छ। जुन देशमा इस्राएलीहरू जाँदैथिए, त्यो देशमा रहँदा बस्दा प्रशस्त आशिष दिने प्रतिज्ञा प्रभुले गर्नुभयो।
  • इस्राएलीहरूको सामु दुई कुराहरू राखिए – आशिष र श्राप। परमेश्वरको वचन र इच्छा अनुसार जिउँदा आशिष पाइनेथियो, तर त्यसो नगर्दा श्राप पाइनेथियो। रोजाइ उनीहरूकै हातमा थियो।
  • आज तपाई के रोज्नुहुन्छ? आशिष कि श्राप? परमेश्वरलाई रोज्नु नै आशिष रोज्नु हो। उहाँ नै सबै आशिष र असल थोकका श्रोत हुनुहुन्छ। (याकूब १:१७)

 अध्याय १२

  • परमेश्वरले इस्राएलीहरूलाई प्रष्टसँग आज्ञा दिनुहुन्छ कि निश्चित तोकिएका स्थानहरूमा मात्रै उहाँलाई बलि चढाउनुपर्दछ। इस्राएलीहरूले जहाँ चाह्यो त्यहिँ बलि चढाउनु हुन्नथ्यो। यो कुरा यस अध्यायमा बारम्बार दोहोर्याइएको छ। किन होला? किन परमप्रभुले भनेकै ठाउँमा मात्रै बलि चढाउनुपर्ने?
  • परमेश्वरको महिमा र सेवा उहाँकै तरिकामा हुनुपर्दछ। उहाँको वचन/निर्देशन अनुसार नै हामीले उहाँको सेवा र उपासना गर्नुपर्दछ। परमेश्वरको सेवा र आराधना मानवीय रितीले गर्नु अस्वीकारिय हुँदछ। उहाँको वचनमा उल्लेखित तरिकामा थपिन र घटाउन मिल्दैन।

अध्याय १३

  • साँचो यहोवा परमेश्वरबाट बहकाउने झूटा भविष्यवक्ताहरू या अरू कुनै व्यक्तिहरूको विषयमा कडा चेतावनी दिइएको छ। जति सुकै पत्यारलाग्दो कुरा गरे पनि, झूटा भविष्यवक्ताहरूलाई इन्कार गरिनुपर्थ्यो। तिनीहरूलाई मृत्यु दण्ड दिइनुपर्थ्यो। के साँचो परमेश्वरबाट बहकाउनु हल्का कुरा हो र? परमेश्वरबाट बहकाउन खोज्ने आफ्नै नजिको नातेदार या साथीलाई पनि मृत्यु दण्ड दिनुपर्थ्यो।
  • आज पनि थुप्रै बहकाउने थोकहरू छन् – झूटा शिक्षाहरू, झूटा प्रचारकहरू, पुस्तक पुस्तिकाहरू। हामी होसियार रहौं! यस्ता श्रापित थोकहरू हाम्रो जीवनमा नटाँसिओस्!

अध्याय १४

  • यस अध्यायमा शुद्धता या पवित्रतालाई पुन सम्झना गराइएको छ। इस्राएलीहरू पवित्र जाति हुनुपर्दथ्यो। अन्य जातिहरूभन्दा भिन्न र अलग रहनुपर्थ्यो। यस भिन्नताका लागि पशुपक्षीहरूलाई खाने विषयमा प्रभुले नियमहरू दिनुभयो। यी शुद्धताका नियमहरू बाहेक दशंसा दिने कार्यमा पनि इस्राएलीहरू अरू जातिहरूभन्दा भिन्न हुनुपर्थ्यो। परमेश्वरको प्रभुत्वलाई स्वीकार गर्दै उहाँलाई दसौं अंश दिइनुपर्थ्यो।
  • पवित्रता र दशंसाका सिद्धान्तहरू र शिक्षाहरू नयाँ नियमको समयको लागि पनि हो। आज हामी पनि पवित्र जीवन जिउछौं – संसारका हरप्रकारका दुष्टता र अशुद्धताबाट अलग जीवन। आज हामी पनि परमेश्वरको प्रभुत्वलाई स्वीकार्दै आदरसाथ दशंसा र भेटिहरू ल्याउँछौं। परमेश्वरको वचन अनुसार जिउनु नै आशिषको रहस्य हो।

अध्याय १५

  • हरेक सात वर्षको अन्तमा आफ्ना ऋणहरू या दासहरूलाई छोडिदिनुपर्थ्यो। साँच्चै यो उदेकको नियम थियो। सातौं वर्षमा सबै ऋणहरू छोडिदिने? सबै दासहरू पनि? किन होला? परमेश्वरका नियमहरूले उहाँको चरित्रलाई देखाउँदछ। परमेश्वर अनुग्रही र दयालु हुनुहुन्छ।
  • परदेशीहरू र गरिबहरूलाई दया देखाउन प्रभुले सिकाउनुभयो। एक अर्कालाई प्रेमसाथ सहायता गर्न पनि उहाँले निर्देशन दिनुभयो। आफू पनि एक समय गरिब र चूर्ण अवस्थामा भएको सम्झना गर्दै उनीहरूले अरूलाई दयाको व्यवहार गर्नुपर्थ्यो। इस्राएलीहरूको जीवनबाट उनीहरूको परमेश्वरको चरित्र झल्किनुपर्थ्यो।
  • हामी पनि एक-अर्काप्रति प्रेमिलो र दयालु होऔं। के तपाई र मेरो जीवनबाट ख्रीष्ट झल्किनुभएको छ?

अध्याय १६

  • यो पुस्तकभरि सम्झनाका कुराहरू छन्। यस अध्यायमा चाडहरूको विषयमा सम्झना गराइएको छ। यी चाडहरूले परमेश्वरको काम र महानतालाई सम्झना गराउँथ्यो। यी चाडहरू रितीका रूपमा हरेक वर्ष गरिनुपर्थ्यो। यी चाडहरू मान्दा परमेश्वर प्रशन्न हुनुहुन्थ्यो। यसका साथै सहि न्याय गर्न पनि प्रभुले सिकाउनुहुन्छ। ठीक प्रमाणित भएका कुराहरूका पछि लाग्नु भनी सल्लाह दिइन्छ।
  • आज यस मण्डली युगमा दुई रितीहरू छन् – बप्तिष्मा र प्रभु भोज। यी दुवैले परमेश्वरको काम र महानतालाई सम्झना गराउँदछन्। बप्तिष्मामा हामी ख्रीष्टको मृत्यु, गढाइ र बौरिउठाइको सम्झना गर्छौं। प्रभु भोजमा हाम्रा निम्ति ख्रीष्टको तोडिएको शरीर र बहाइएको रगतको सम्झना गर्नुको साथै उहाँ फेरि आउँदैहुनुहुन्छ भन्ने कुराको सम्झना गर्छौं।
  • सबै थोक जाँचेर हेरौं, ठीक कुराहरूको पछि लागौं। (१ थेस्सलोनिकी ५:२१; २ तिमोथी ३:१४)

अध्याय १७

  • साँचो परमेश्वरलाई बाहेक अरू थोकहरूलाई पूज्नु या आराधना-उपासना गर्नु ठूलो पाप हो। त्यस्ता व्यक्तिहरूलाई मृत्यु दण्ड दिइयोस भनी प्रभुले आज्ञा दिनुभयो। कुनै विषयमा न्याय गर्ने राम्रो फर्मुला या तरिका परमेश्वरले दिनुभयोः १. विषय सुन्नु २. यत्नसित जाँचबुझ गर्नु ३. विषय पक्का हो कि होइन पत्ता लाउनु ४. साक्षीहरू खोज्नु ५. उचित न्याय गर्नू।
  • कठिन न्यायहरूका लागि प्रभुले न्यायकर्ताहरू र पूजाहारीहरूलाई जिम्मा दिनुभयो। हामीलाई पनि मण्डलीका अगुवाहरू दिइएका छन्। उहाँहरूले हामीलाई निर्णयहरू गर्न सहायता गर्न सक्नुहुन्छ।
  • इस्राएलीहरूले राजा माग्नेछन् भन्ने कुरा परमेश्वरलाई पहिल्यै थाहा थियो। त्यसै अनुसार उहाँले केहि नियमहरू दिनुहुन्छ। परमेश्वरले हाम्रा प्रत्येक विचारहरू पहिल्यै जान्नुहुन्छ।
  • राजा हुनु एउटा ठूलो जिम्मेवारिको काम थियो। यो जिम्मेवार पूरा गर्न राजालाई के चाहिएला? राम्रो खान्कि? राम्रो पहिरन? राम्रो दरबार? विश्वासयोग्य सेवकहरू? प्रभुले प्रष्ट पार्नु भयो कि यस विशिष्ट कामको लागि राजालाई परमेश्वरको वचन नै अपरिहार्य थियो। राजासँग परमेश्वरको व्यवस्था हुनुपर्थ्यो र त्यसलाई उनले जीवनभर अध्ययन गर्नुपर्थ्यो। परमेश्वरको वचन अनुसार उनी जिउनुपर्थ्यो।
  • हरेक ठूला निर्णय र जिम्मेवारिमा परमेश्वरको वचन नै हाम्रो सफलताको रहस्य हो। अझै भन्नुपर्दा, हाम्रो सम्पूर्ण जीवनको सफलता र आशिषको लागि परमेश्वरको वचन नै कडी हो। के परमेश्वरको वचन तपाईसँगै छ? यहोशूलाई पनि प्रभुले यहि सल्लाह दिनुभयो (यहोशू १)। (भसं १)

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *