व्यवस्था संक्षिप्त टिप्पणी (अध्याय १८-२४)
अध्याय १८
- लेवी कुललाई एक विशेष कुलको रूपमा अलग पारिएको थियो। उनीहरू परमेश्वरको सेवाका लागि अलग पारिएका थिए। लेवीहरूले अरू कुलहरूले जस्तै जमिनको भागबण्डा पाएनन्। उनीहरूलाई आफ्ने जग्गा दिइएन तर उनीहरूको पैतृक सम्पत्ति परमेश्वर स्वयम हुनुहुन्थ्यो। आफ्ना सेवकहरूको परमेश्वरले नै प्रबन्ध गरिदिनुहुन्छ।
- जोखना हेर्ने र टुनामुना गर्ने घृणित कामहरूबाट अलग रहन परमप्रभुले आज्ञा गर्नुहुन्छ। अन्यजातिका घृणित कुराहरूबाट अलग हुनु भनी फेरि सम्झना गराइन्छ।
- मोशा जस्तै अर्को भविष्यवक्ता उठ्ने कुरा बताइएको छ। भविष्यवक्ताहरूका सेवाकाइ साह्रै महत्वपूर्ण थियो। उनीहरूले परमेश्वरको वचन मानिसहरूमाझ प्रस्तुत गर्दथे। येशू ख्रीष्ट नै सर्वोत्तम भविष्यवक्ता हुनुहुन्थ्यो।
अध्याय १९
- शरण-नगरहरूको विषयमा पुनः सम्झना गराइएको छ। अन्जानमा गरेको गल्तीको दण्डबाट बच्न यी शहरहरूमा दगुरेर जानुपर्थ्यो। शुरूमा तीनवटा शहरहरू यसका लागि अलग पारिएको थियो। पछि थप तीन शहरहरू थपिन्छन्।
- कुनै विषयमा न्याय गर्न अगाडि पर्याप्त प्रमाणहरू हुनुपर्नेमा प्रभुले जोड दिनुहुन्छ। उहाँ ठीक न्याय गर्नुहुन्छ र उहाँको प्रजाले पनि ठीक न्याय गरेको चाहानुहुन्छ।
अध्याय २०
- परमेश्वर जान्नुहुन्थ्यो कि आउने दिनहरूमा इस्राएलीहरूले धेरै लडाइँहरूको सामना गर्नुपर्नेथ्यो। उहाँले उनीहरूलाई लडाइँ गर्न जाँदाका लागि केहि नियमहरू दिनुहुन्छ। पहिलो कुरा – लडाइँ बलद्वारा होइन विश्वासद्वारा लड्नुपर्थ्यो। दोस्रो – हृदय ठीक हुनुपर्थ्यो। तेस्रो – शत्रुलाई पूरा रीतिले नष्ट गर्नुपर्थ्यो। आज के तपाईले तपाईका शत्रुहरूलाई पूरा रूपमा नष्ट गर्नुभएको छ? कि अझै ती बाँकि नै छन्? (भ.सं. १०६:३४-३६; न्यायकर्ता १:२१-३२; २:३)
- यी नियमहरू हाम्रो आफ्नै आत्मिक लडाइँका लागि पनि लाभदायक छन्।
अध्याय २१-२२
- यस नयाँ ठाउँमा इस्राएलीहरू एक विशेष जातिको रूपमा जिउनुपर्थ्यो। अरू जातिहरूभन्दा हर हिसाबमा फरक हुनुपर्थ्यो। इस्राएलीहरूका जीवनशैलीद्वारा जीवित परमेश्वर देखिनुपर्थ्यो। त्यसैले नै परमेश्वरले उनीहरूलाई विभिन्न प्रकारका नियमहरू दिनुभयो। यी नियमहरूले उनीहरूको जीवनशैलीलाई डोर्याउँथ्यो।
- यी सबै नियमहरूले वास्तवमा परमेश्वरकै चरित्रलाई देखाउँथ्यो। निर्दोष रगतको विषयमा उहाँको नियमले उहाँको पवित्रतालाई देखाउँथ्यो। कैदि-स्रीसित विवाह गर्ने नियमले उहाँको प्रेमलाई देखाउँथ्यो। जेठाको अधिकारको नियमले उहाँको सहि न्यायलाई देखाउँथ्यो। हठी र विद्रोही छोराको सजायको नियमले उहाँको धार्मिकतालाई देखाउँथ्यो।
- २२ अध्यायमा थप नियमहरू दिइएका छन्। यी नियमहरूले परमेश्वरको चरित्र झल्काउँथ्यो। उहाँ पवित्र, धर्मी, न्यायी, प्रेमी र अनुग्रहि परमेश्वर हुनुहुन्छ भन्ने तथ्य इस्राएलीहरूको व्यवहार र जीवनशैलीबाट प्रकट हुनुपर्थ्यो।
- आज हामी विश्वासीहरूका लागि पनि निश्चित जीवनशैली तोकिएको छ। परमेश्वरको वचन अनुसारको जीवनशैली र व्यवहारद्वारा हामी यस भ्रष्ट र अँध्यारो पुस्तामा ज्योतिझैं चम्कन्छौं। हाम्रा ख्रीष्टियन आचारणद्वारा ख्रीष्ट प्रचार्छौं।
अध्याय २३
- अपवित्र व्यक्तिहरू परमेश्वरको उपस्थितिमा आउन सक्दैनन्। हामी आज ख्रीष्टको रगतद्वारा धर्मी ठहराइएको हुनाले मात्रै परमेश्वरको अनुग्रहको सिंहासन अघि साहससाथ जान सक्छौं।
- लडाइँको विषयमा परमेश्वरले थप एक नियम यस अध्यायमा दिनुहुन्छ – छाउनी पवित्र हुनुपर्थ्यो। शत्रुको सामना गर्न अघि आफ्नै छाउनीको सामना गर्नुपर्थ्यो, अर्थात् आफ्नो छाउनीलाई शुद्ध राखेपछि मात्रै लडाइँमा जानुपर्थ्यो। किन? किनभने लडाइँमा विजय हुन परमेश्वर साथमा हुनुपर्थ्यो, र परमेश्वर साथमा हुन आफ्नो वासस्थान पवित्र हुनुपर्थ्यो।
- हाम्रा बाहिरका शत्रुहरू (संसार र शैतान) का सामना गर्न अघि हामी आफ्नै (शरीरको) सामना गरौं। एक अपवित्र (भक्तिहिन) जीवन जिउने विश्वासीले विजय पाउँछु भनी अपेक्षा गर्नु मिल्दैन। चाहे लुत, चाहे दाउद, चाहे पत्रुस – सबै नै पछारिए। विजय हामी आफैभित्रबाट शुरू हुँदछ। पहिला हाम्रै शरीरको हामीले सामना गर्नुपर्दछ।
अध्याय २४
- विवाह आदरणीय र पवित्र हुनुपर्थ्यो। मोशाको व्यवस्थामा परमेश्वरले यो नियम राखिदिनुभयो कि कुनै कारणले विवाहमा पवित्रता भंग हुन गएमा त्यस विवाहलाई अन्त्य गर्न सकिन्थ्यो। त्याग-पत्र दिएर विवाहलाई अन्त्य गर्न सकिने नियम दिइयो। यो नियमको उद्देश्य विवाहहरू भत्काउनु होइन तर विवाहहरूमा पवित्रता कायम गर्न मद्दत होस् भन्नाका लागि थियो। (मर्कूस १०:२-१२)
- गरिब, परदेशी, अनाथ र विधवाप्रति दया र प्रेमको व्यवहार गर्न परमप्रभुले सिकाउनुभयो। आफू भन्दा कमजोरहरूलाई हेप्ने र हेला गर्नु अमानवीय र ठूलो गल्ती हो। तर बरू उनीहरूप्रति अनुग्रहि हुनुपर्ने नियम प्रभुले दिनुभयो। इस्राएलीहरूले बिर्सनुहुन्नथ्यो कि उनीहरू पनि एक समय कमजोर र नीच थिए, तर परमेश्वरको अपार प्रेम र कृपाको कारणले उनीहरूको उत्थान भयो।
- त्यसरी नै हामी विश्वासीहरू पनि एक अर्काप्रति प्रेमिलो, दयालु, अनुग्रहि र सहनशील बनौं। कमजोरहरूलाई प्रेमसाथ उठाऔं। येशू ख्रीष्टले यस्तै शिक्षा सिकाउनुभयो (यूहन्ना १५:९-१७)।