सुसमचार प्रचार गर्न छोडेनन्
प्रेरित ५:४२ मा लेखिएको छ, “अनि उनीहरूले दिनहुँ मन्दिरमा र घर-घरमा शिक्षा दिन र ‘येशू नै ख्रीष्ट हुनुहुन्छ’ भन्ने सुसमचार प्रचार गर्न छोडेनन्”।
येशू ख्रीष्टको बौरीउठाइ पछि उहाँले चेलाहरूलाई सारा संसारमा सुसमचार प्रचार गर्न आज्ञा दिनुभयो। यसै आज्ञा अनुसार चेलाहरू ख्रीष्ट प्रचार गर्दै अघि बढ्न थाले। तर फरिसीहरू, सदुकीहरू लगायत यहूदि धर्मगुरूहरूलाई यो पटक्कै मन परेन। उनीहरू यी चेलाहरूलाई रोक्न चाहान्थे। उनीहरूले चेलाहरूलाई हप्काए, धम्काए र कुटे पनि। तर सबै सतावटहरू र कठिनाइहरूबीच पनि यी चेलाहरूले ‘सुसमचार प्रचार गर्न छोडेनन्’, येशू ख्रीष्टको इच्छा पालन गर्न छोडेनन्। ख्रीष्ट प्रचार गर्न नछोडे ज्यान मार्ने समेत धम्की उनीहरूलाई दिईयो, तथापि उनीहरूले छोडेनन्। किन होला? के उनीहरू शान्तिमय जीवन, सतावट रहित जीवन जिउन चाहाँदैनन् थिए होला? ख्रीष्टको इच्छा पालन गर्न छोडेको भए सबै धम्कि र सतावट त रोकिनेथ्यो तरै पनि किन लागिरहे?
चेलाहरूले केहि कुरा देखेका थिए, केहि कुरा बुझेका थिए जुन ती यहूदि धर्म गुरूहरूले देखेका, बुझेका थिएनन्। यी चेलाहरूले येशू ख्रीष्ट को हुनुहुन्छ चिनेका थिए। उहाँको लागि दुख उठाउन उनीहरू तयार थिए। ती सबै चुनौतीहरू, सतावटहरू र कठिनाइहरू ख्रीष्टको खातिर सहन ख्रीष्ट योग्य हुनुहुन्छ भनी उनीहरूले बुझेका थिए। त्यसैले नै सबै संघर्षहरूबीच उनीहरूले ‘छोडेनन्’, लागिरहे। आज हाम्रो अवस्था के छ? के हामी पनि सुसमचार प्रचार गर्न, ख्रीष्टको इच्छा पालन गर्न दिनहुँ लागिरहेका छौं? कि छोडेका छौं? छोड्दै छौं? यदि छोड्दै छौं भने सायद हामीले ख्रीष्टलाई सहि रूपमा चिनेकै छैनौं!
यी चेलाहरूलाई पवित्र आत्मा दिईएको थियो। उहाँको सामर्थ्यमा साहससाथ उनीहरू सुसमचार प्रचारमा लागिरहे। आज हामी हरेक विश्वासीलाई पनि पवित्र आत्मा दिईएको छ। उहाँको सामर्थ्यमा हामी पनि ख्रीष्ट प्रचार गर्न र उहाँको सेवा गर्न लागिरहौं, नछोडौं। सबै कठिनाइबीच ख्रीष्ट हाम्रो ‘कारण’, र पवित्र आत्मा हाम्रो ‘सामर्थ्य’ लाई हेर्दै लागिरहौं!
[pvc_stats postid="" increase="1" show_views_today="1"]