हड्सन टेलर

 हड्सन टेलर

हड्सन टेलर वेलायती मिसनरी हुन्। उनले चाइनामा ५१ वर्ष सेवाकाइ गरे। उनी चाइना इनल्यान्ड मिसनका संस्थापक पनि हुन्। उनको समयमा चाइनामा अरू मिसनरीहरू पनि थिए तर यी मिसनरीहरू चाइनाका भित्री भागहरूमा जान डराउँथे। तर हड्सन टेलरले भने चाइनाका भित्री भागहरू जहाँ सुसमचार पुगेको थिएन, त्यहाँ गएर सेवाकाइ गर्ने अठोट गरे। चाइनाका यी भित्री भागहरू खतरापूर्ण थियो। कोही मानिसहरू कट्टर विरोधीहरू ‍पनि थिए। तर साहससाथ परमेश्वरमा भरोसा राख्दै हड्सन टेलरले आफ्नो जीवनलाई जोखिममा राख्दै भित्री भूभागहरूमा गए। उनी चाइनीज संस्कृतिप्रति सद्भाव राख्थे। उनले चाइनीज पहिरन समेत अपनाएका थिए। उनलाई सुसमचारका निम्ति एकदम जोशिलो व्यक्तिका रूपमा चिनिन्छ।

उनले मिसनरी अभियानमा महत्त्वपूर्ण योगदान दिएका छन्। उनले आफ्नै जीवनको उदाहरणद्वारा मिसनरी भएर सेवा गर्ने क्रममा आर्थिक खाँचोका लागि परमेश्वरमा भर पर्नु पर्छ भन्ने सत्यतालाई जोड दिए। उनको पहल र उत्साहमा करिब ८०० मिसनरीहरू चाइनामा सेवा गर्न पुगे। यी सबैलाई हड्सनले यही अर्ति दिन्थे कि परमेश्वरको सेवा गर्ने क्रममा घटिकमी पनि परमेश्वरले नै पूरा गर्नुहुन्छ। विश्वासको सेवाकाइ चुनौतीपूर्ण अवश्य थियो। धेरै मानिसहरूले बुझ्दैन थिए पनि। तर हड्सन टेलरले विश्वासको सेवाकाइको असल उदाहरण दिएर संसारभर मिसनरी सेवालाई थप सुधार गर्न मद्दत गरे। उनको सेवाकाइबाट धेरै आत्माहरू ख्रीष्टकहाँ डोर्याइए। उनले चाइनामा रहँदा त्यहाँको भाषा पनि सिकेका थिए। त्यस ठाउँका मानिसहरूसँग राम्रो सम्बन्ध राख्न उनी सफल भए। उनीहरूको संस्कृतिलाई हेला गरेर होइन तर आदर गरेर उनले त्यस ठाउँका मानिसहरूका आदर कमाए। फलस्वरूप, उनीहरूलाई सुसमचार सुनाउन र ख्रीष्टकहाँ डोर्याउन केहि सजिलो भयो। चाइनामा सेवा गर्ने क्रममा हड्सन टेलरको जीवन निकै संघर्षपूर्ण रह्यो। चाइनामै रहँदा रोगको कारण उनको श्रीमतिको अकालमै मृत्यु भयो। उनका नानीहरू पनि रोगले मरे। उनी आफै पनि बिरामी हुन पुगे। अनि उनलाई कति पटक पर्याप्त आर्थिक सहयोग पनि मिल्दैनथ्यो। यी सबै प्रतिकुल परिस्थितिहरूबीच पनि उनी ढलपल भएनन् तर निरन्तर प्रभुको काममा जोशका साथ लागिरहे। उनीद्वारा परमेश्वरले चाइनामा ठूलो काम गर्नुभयो। धेरै आत्माहरूले मुक्ति पाए। आजसम्मै चाइनामा ठूलो संख्यामा विश्वासीहरू छन्। हड्सन टेलरको जीवनीबाट आज पनि धेरै मिसनरीहरूले उत्साह र जोश पाउने गर्छन्।

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *