हृदय च्यात्ने कि वचन च्यात्ने?
यर्मिया ३६ अध्यायमा एउटा चाखलाग्दो घटना हामी पढ्दछौं। परमेश्वरले यर्मियालाई इस्राएलको न्यायको विषयमा चेतावनीका वचनहरू दिनुहुन्छ। ती वचनहरू सुनेर इस्राएलीहरूले पश्चताप गर्नुपर्नेथ्यो। यर्मियाले बारूक मार्फत ती वचनहरू लिखित रूपमा बेरूवाको मुठामा उतारे। परमेश्वरको त्यो वचन इस्राएलीहरू, शासकहरू र राजा यहोयाकिमलाई सुनाइयो। तर परमेश्वरको वचन प्रतिको प्रतिक्रिया नकरात्मक हुन पुग्यो। आफ्नो हृदय च्यात्नु पर्नेथ्यो, पश्चताप गर्नुपर्नेथ्यो तर राजा यहोयाकिमले परमेश्वरको वचनलाई छुरीले काटे र आगोमा जलाए। उनलाई परमेश्वरको वचन मन परेन। यस घटनाबाट हामी केहि तथ्यहरूलाई मनन गरौं –
- परमेश्वरको वचन सधैं हाम्रो भलाइ, उन्नति र आशिषको लागि हो।
- परमेश्वरको वचन प्रतिको हाम्रो प्रतिक्रिया सकरात्मक हुनुपर्छ – सहर्ष स्वीकार गर्नुपर्छ।
- परमेश्वरको वचनलाई कहिल्यै रद्द गर्न, नाश गर्न सकिदैन।
राजाले कागज जलाए, नाश गरे तर परमेश्वरको वचन नाश भएको थिएन। बारूकद्वारा फेरि अर्को मुठामा वचन सबै लेखियो। राजाले वचनलाई इन्कार गरेको हुनाले उनी परमेश्वरको क्रोधको भागिदार भए।
आज जसरी हामी वचन पढ्छौं, सुन्छौं हामी कसरी वचनलाई लिईरहेका छौं? वचन सुन्दा हामी हाम्रो हृदय च्यात्छौं कि वचन च्यात्छौं? परमेश्वरको वचन मन परेन भनेर इन्कार गर्नु मूर्खता हो। बरू नम्रतामा आफ्नो पाप स्वीकार गर्नु, क्षमा माग्नु बुद्धिमान हो। परमेश्वरको वचन सुनेर अनि बुझेर त्यसै अनुसार जिऔं। वचन सुनेपछि हृदय परिवर्तन होस्, वचन परिवर्तन गर्ने कोसिस नगरौं।