पवित्र विवाह
विवाह मानिस जातिलाई परमेश्वरको विशेष उपहार हो! विवाहको विकल्प एक्लोपना हो, जसको विषयमा सर्वोच्च परमेश्वरले सृष्टिको सुरूवातमै फैसला दिनुभयो – “मानिस एक्लो रहनु असल होइन।” (उत्पत्ति २:१८)
परमेश्वरको विरूद्धमा र विद्रोहमा लागेको संसारले परमेश्वरले असल भन्नुभएको कुरालाई खराब र खराब भन्नुभएको कुरालाई असल भन्नु अनौठो होइन। शैतानद्वारा भ्रमित यस संसारमा विवाह नगर्नु र विवाहलाई भ्रष्ट बनाउनु स्वभाविकै हो। ‘मानिस एक्लो रहनु असलै हो’, ‘किन विवाह गर्नु?’, ‘गरिहाले पनि किन हतार गर्नु?’, ‘विस्तारै गरौंला नि’, ‘पहिला मोज गर्ने हो, एक्लो जीवनमा रमाइलो गर्ने हो’ – यस्ता विचारहरू वचनको ज्ञान नभएकाहरूबाट आउनु ठिकै होला तर परमेश्वरको भयमा जिउने ख्रीष्टियन युवाहरूलाई यस्ता विचारहरू सुहाँउदैनन्।
हामी भन्दा धेरै बुद्धिमान र सब जान्ने परमेश्वरले “मानिस एक्लो रहनु असल होइन” भनी उद्घोष गरी सक्नुभएपछि, सबै विवादको अन्त्य त्यसैमा हुनुपर्दछ। परमेश्वर भन्दा जान्ने हामी हुन खोज्छौं भने त्यसको नमीठो प्रतिफल भोग्नु पनि तयार हुनैपर्छ। तर एक ख्रीष्टियन युवाले परमेश्वरको वचनलाई बुझ्दै परमेश्वरको विवाहको उपहारलाई खुसीसाथ स्वीकार्नु बुद्धिमानी हुँदछ।
विवाहको उमेर पुगेपछि पवित्र विवाहको लागि, आफ्नो जीवनको लागि सुँहाउदो सहयोगीको लागि प्रत्येक ख्रीष्टियन युवाले प्रार्थना गर्न थाल्नुपर्दछ। यस अपवित्र संसारमा पवित्र विवाहमा अघि बढ्ने हरेक युवामा बोझ र चाहाना हुनुपर्दछ। पवित्र विवाह त्यो हो जुन पवित्र परमेश्वरको पवित्र वचन र अगुवाइ अनुसार हुँदछ। परमेश्वरलाई चिनेका एक पुरूष र एक महिलाबीचको बाइबलीय वैवाहिक सम्बन्धलाई पवित्र विवाह भन्न सकिन्छ। यी दुई जोडिबीच विवाहपूर्व सहवास नभएको, दुवै कन्या अवस्थामा रहेका, प्रभुको भयमा उहाँको अगुवाइलाई पछ्याउँदै विवाह करारद्वारा एक बनाइएको अवस्था – कति सुन्दर!
पवित्र विवाहले पवित्र घरको लागि मार्ग खोल्दछ। एक ख्रीष्टियन घराना त्यो हो जहाँ श्रीमान, श्रीमति अनि नानीहरू मात्र होइन तर येशू ख्रीष्ट केन्द्रविन्दुमा रहनुहुन्छ। यस्ता ख्रीष्टियन परिवारहरूद्वारा एक मण्डली बलियो बन्दछ र परमेश्वरको महान योजनामा अघि बढ्न मण्डली समर्थ हुँदछ। मण्डली सत्यताको जग र खाँबो हुनुपर्दछ। मण्डलीद्वारा नयाँ आत्माहरू ख्रीष्टमा जितिइनुपर्दछ, अनि विश्वासीहरू ख्रीष्टमा हुर्कनुपर्दछ। तर यी सबै कुराहरू असफल हुनेछन् यदि मण्डलीमा ख्रीष्टियन परिवारहरू छैनन् भने। अनि मण्डलीमा ख्रीष्टियन परिवारहरू हुनेछैन यदि त्यहाँ पवित्र विवाहहरू हुँदैनन् भने। अनि पवित्र विवाहहरू त्यहाँ हुनेछैन यदि पवित्र युवाहरू छैनन् भने। के तपाई पवित्र युवा हो? पवित्र युवा हुन पवित्र वचनद्वारा जिउनुपर्दछ।
अर्को महत्वपूर्ण पाटोलाई हामी ख्रीष्टियन युवाहरू सायद भुल्दछौं – पवित्र विवाह विश्वासको कदम हो! हाम्रो सम्पूर्ण ख्रीष्टियन जीवन नै विश्वासको यात्रा हो। विवाह जस्तो महत्वपूर्ण निर्णयमा झनै बढि परमेश्वरमाथिको भरोसा र उहाँको अगुवाइ खोज्ने कार्य हुनुपर्दछ। सायद मुक्ति पछि गर्ने दोस्रो सबैभन्दा ठूलो निर्णय विवाहको समयमा गरिन्छ।
‘मैले पैसा कमाउन सकेको छैन कसरी परिवार पाल्न सक्छु होला?’, ‘पहिला टन्नै पैसा कमाउनुपर्ला त्यसपछि विचार गरूँला’ - जस्ता विचारहरूमा पनि समस्या हुन सक्छ। परिवार पाल्न तयार भएर मात्रै विवाह गर्नु जाहेज हो तर हामीले सोचेको जस्तो पूर्ण तयारी कहिल्यै हुनेवाला छैन। एक न एक विन्दुमा आउँदा तपाईले विश्वासको कदम उठाउनै पर्छ।
पवित्र विवाहको लागि प्रार्थना गर्ने क्रममा तपाईको सेवाको बोझ मिल्ने व्यक्तिको लागि प्रार्थना गर्न उचित हुँदछ। विवाह गर्ने व्यक्तिको बारेमा जान्न सकिने कुराहरू विवाह पूर्व जान्नु राम्रै हो। तथापि विवाह पूर्व नै अति घनिष्ठ भएर परीक्षाहरूमा पर्ने अवस्था आउन दिनु बुद्धिमानी हुँदैन। परमेश्वरको सहायतामा सहि सन्तुलन हुन जरूरी छ। विवाहको विषयमा निर्णय गर्न हामीलाई सहज हुँदछ यदि विवाह गर्न लागेको व्यक्ति हाम्रै चर्च या हाम्रो चर्चसँग संगतीमा रहेका मण्डलीहरूको सदस्य हुनुहुन्छ। साथै मण्डलीका अगुवाहरूको बुद्धिमानी सल्लाह र सुझावहरूलाई लिनुपर्दछ। एउटै शिक्षाका युवालाई विवाह गर्नु अपरिहार्य छ।
एक ख्रीष्टियन युवाले समयमै विवाह गर्नु व्यवहारिक रूपमा उचित देखिन्छ। परमेश्वरको समयमा विवाह गर्न तयार रहनुपर्दछ। युवा अवस्थाकै जोश र बलमा नानीहरू जन्माउने र हुर्काउने गर्दा सहज हुने पक्का छ। साथै अभिलाषाहरूले पापमा पुर्याउने खतराबाट बच्न पनि समयमै विवाह सहि देखिन्छ। समयमै विवाहको लागि समयमै तयारी हुनुपर्दछ। ‘मेरो उमेर नै पुगेको छैन’ भन्दै बस्दा ढिलो भए पछि मात्रै होश आउन सक्छ र त्यहाँ चुनौतीहरू आउन सक्छन्। बरू हाम्रो अठोट यो होस् – ‘विवाह असल हो र परमेश्वरले अगुवाइ गर्नुभए अनुसार म पवित्र विवाहमा अघि बढ्न चाहान्छु, म तयार छु उहाँको समयमा विवाह गर्न!’
कानुनी रूपमा पनि हाम्रो देशमा २० वर्ष भएपछि विवाह गर्न मिल्ने व्यवस्था छ। त्यसो त २० वर्ष देखि नै या २० वर्ष हुन केहि समय अघि देखि नै पवित्र सहयोगीको लागि प्रार्थना गर्न थाल्नु बुद्धिमानी हो। व्यक्ति तोकेरै प्रार्थना नगरे पनि ‘सहि व्यक्ति दिनुहोस्’ भनेर प्रार्थना गर्न सकिन्छ। अनि आफ्नो समयमा परमेश्वरले त्यो व्यक्ति देखाउनुभयो भने नाम तोकेरै पनि प्रार्थना गर्न सकिन्छ तर याद गरौं प्रभुको इच्छामा खुसी हुनुपर्दछ। तपाईले चाहाँदैमा त्यस व्यक्ति तपाईको लागि परमेश्वरबाटको जीवन साथी नहुन सक्छ। तसर्थ साह्रै समझ र परमेश्वरको अगुवाइको खोजि आवश्यक पर्दछ। जब दुवै पक्षलाई पवित्र विवाहको विषयमा पूर्ण शान्ति मिल्दछ तब आफ्ना आमाबुबा, या अभिभावकहरूलाई बताउन सकिन्छ। उहाँहरूलाई पनि शान्ति भएपछि मण्डलीका अगुवाहरूलाई जानकारी गराउन सकिन्छ। उहाँहरूलाई पनि शान्ति भएपछि सोधनी, मगनी हुँदै पवित्र विवाहमा अघि बढ्न सकिन्छ। यी सबै प्रक्रियामा ईश्वरीय अगुवाइ नितान्त आवश्यक छ। यो प्रक्रियामा कुनै पक्षलाई अशान्ति भएमा पुनर्विचार र धेरै प्रार्थना गर्नुपर्दछ। अन्तत सबै कुरा परमेश्वरकै अगुवाइमा हुनुपर्दछ। हरेक जोडीको कथा फरक फरक हुँदछ। तर ख्रीष्टियन पवित्र विवाहको लागि सधैं तरिका एउटै हुन्छ – परमेश्वरको प्रष्ट अगुवाई! त्यसैले यस प्रक्रियामा संलग्न हुने सबै पक्ष परमेश्वरको भय र अगुवाइमा जिउनेहरू हुनुपर्दछ – यसो नहुँदा कठिनाइ र चुनौतीहरू हुनेछन्।
या त तपाईसँग एक्लो रहने परमेश्वरबाटको विशेष दान हुनुपर्यो नत्र एक न एक समय विवाह गर्नै पर्ने हुँदछ। यदि एक दिन विवाह गर्ने नै हो भने समयमै परमेश्वरको अगुवाइमा पवित्र विवाह गर्नु बुद्धिमानी हो। टिनेजर समयदेखि नै तपाईले पवित्र विवाहको लागि तयारी गर्नुपर्दछ। पवित्र विवाहका लागि तयारीका केहि पक्षहरू यस्ता हुन सक्छन्-
१. पापबाट साँचो पश्चताप गरी मुक्ति पाउने
२. मुक्तिको सार्वजनिक गवाही स्वरूप बप्तिस्मा लिने
३. मण्डलीको विश्वासयोग्य सदस्य भई सेवामा लाग्ने
४. पवित्र विवाहको लागि प्रार्थना गर्न थाल्ने
५. आफ्नो पढाइ र आम्दानीको विषयलाई ठीक-ठाक पार्ने
६. वचनमा बढ्ने र ख्रीष्टमा हुर्कदै आत्मिक रूपमा बलियो व्यक्ति बन्ने
७. विवाहको सम्बन्धमा तयारी छु भन्ने कुरा आमा-बुबा, अभिभावक र मण्डली अगुवाहरूलाई जानकारी गराउने
मोटा-मोटीमा यी नै कुराहरू तयारीमा पर्दछन्। अनि तपाई यो प्रकारले तयारी हुनुभएपछि यहि प्रकारले तयारी भएका जीवन साथीको लागि प्रार्थना गर्नुपर्दछ। पवित्र विवाहको लागि खोजिने व्यक्ति यस्तै प्रकारका हुँदछन्, जुन माथिका ७ बुँदाहरूले जनाउँछन् – मुक्ति पाएको, बप्तिस्मा लिएको, एउटै शिक्षाको मण्डली सदस्य भएको र सेवा गर्ने, प्रार्थनामा प्रभुको अगुवा खोजेको, पढाइ र आम्दानीको विषयमा तयारी भएको, विश्वासमा बलियो भएको र आमाबुबा र अगुवाहरूसँग एक मन भएर विवाको विषयमा अघि बढेको – यो कति सुन्दर! हरेक ख्रीष्टियन युवाले यो प्रकारको तयारी पूरा गरेका र यो प्रकारका योग्यता भएका सहयोगी पाए भने कति ठूलो आशिष!
तर हामी यो प्रकारको तयारी चाहिँ आफ्नो जीवनमा गर्दैनौं तर यहि प्रकारको जीवन साथी चाहिँ खोज्छौं – यो कुरा जाहेज हुँदैन। तपाईले आफूलाई पहिला यहि प्रकारले तयारी पार्नोस् अनि यहि प्रकारको जीवन साथीको लागि प्रार्थना गर्न सुहाउँछ। प्रत्येक ख्रीष्टियन युवा पवित्र विवाहको तयारीमा हुनुपर्दछ। मेरो उमेर भएको छैन भनी भन्नु उचित हुँदैन। तपाईले उमेर नपुग्दै विवाह गर्ने होइन तर तयारी त गर्न सकिन्छ नि। तपाई पवित्र विवाहको तयारीको क्रममा कुन चरणमा हुनुहुन्छ?
तयारी अहिलेसम्म सुरू नै गर्नुभएको छैन भने तपाई पछि पर्ने पक्का छ। तरै पनि आजैबाट पवित्र विवाहको तयारीमा लाग्ने निर्णय गर्न सक्नुहुन्छ। पवित्र विवाह भनेको विवाह भोज या विवाहको एकदिने कार्यक्रम होइन तर पवित्र रहिरहने विशेष सम्बन्ध हो यो। यति ठूलो कुराको लागि ठूलो तयारी हुनुपर्दछ।
ख्रीष्टियन युवाहरू हो, संसारको भ्रम र जीवनशैलीलाई नहेरौं तर परमेश्वरलाई हेर्दै पवित्र विवाहको लागि तयार होऔं! हाम्रा पवित्र विवाहहरूद्वारा हाम्रा पवित्र परमेश्वर प्रशन्न हुनुभएको होस्!!