येशू कस्तो प्यारो मित्र

 येशू कस्तो प्यारो मित्र

भजन इतिहासः “येशू कस्तो प्यारो मित्र”

जोसेफ स्क्रिभेन सन् १८१९ मा आयरल्यान्डमा जन्मेका थिए। लन्डनको ट्रिनिटि कलेजबाट यूनिभर्सिटि डिग्री पाएपछि उनी एक शिक्षकको रूपमा कार्य गर्न थाले। उनले एक विश्वासी जवान महिलालाई चिने र विवाह गर्न तयार भए। तर विवाह हुन एकदिन अघि दुख लाग्दो दुर्घटना भयो। उनको श्रीमतिको डुबेर मृत्यु भयो। शोकले डुबेका स्क्रीभेन आफ्नो देश छोडेर क्यानाडामा आए। त्यहाँ उनी नयाँ जीवन शुरू गर्न चाहान्थे। क्यानाडाको राइस लेक भन्‍ने ठाउँमा उनी बस्‍न थाले। त्यहाँ बस्‍ने क्रममा एलाइजा राइससँग उनको परिचय भयो र समय बित्तै जाँदा उनीहरू विवाह गर्न तयार भए। तर उनीहरूको विवाह गर्न केहि हप्तामात्रै बाँकी हुँदा, एलाइजा अचानक बिरामी भइन् र केहि हप्तामै उनको मृत्यु भयो।
सिसाको कचौरा भुईमा चकनाचुर भएझैं गरी चकनाचुर भएका स्क्रिभेन आफ्ना सबै सम्पत्ति त्यागी परमेश्वरको वचन अध्ययन र खाँचोमा परेकाहरूलाई सहायता गर्न अघि बढे। २५ वर्षको स्क्रिभेनले गरीबीको वाचा बाँधे। अर्थात् अब कहिल्यै धन नथुपार्ने र आफ्नो सबै जीवन गरीब र खाँचोमा परेकाहरूलाई सहायता गर्ने उनले अठोट गरे। उनी जहाँ जहाँ गरीब र खाँचोमा परेकाहरू हुन्थे त्यहाँ जान्थे र उनीहरूलाई सहायता गर्थे। कहिले उनीहरूको दाउरा चिरेर, त कहिले खेतिपातीमा सहायता गरेर।


दश वर्षपछि स्क्रिभेनले आफ्नो आमा बिरामी भएको खबर पाउँछन्। उनी यति गरीब थिए कि आफ्नो सिकिस्त आमालाई भेट्न जान उनीसँग बाटो खर्च थिएन। आफ्नो आमालाई सान्त्वना दिन उनले आफ्नो अनुभव मिसिएको कविता लेखेर पठाए। यसै कवितालाई चार्ल्स कनभर्सले धुन हाले र यो एक प्रख्यात भजनको रूपमा प्रसिद्ध भयो। आज पनि संसारभर यस भजनले विश्वासीहरूलाई उत्साह र सान्त्वना दिईरहेछ!


कविता यस्तो थियोः
“येशू कस्तो प्यारो मित्र, पापको भार उठाउनुभो
दुख-सुख ईश्वरकहाँ ल्याउनु, हामीलाई वरदान कत्रो
कति शान्ति सुख गुमाउँछौ कति दुख व्यर्थैमा
कारण ईश्वरकहाँ हामी सब ल्याउँदैनौं प्रार्थनामा।

चारैतिरबाट आउँछ, संकट क्लेश र परीक्षा
लौ हरेस खानु पर्दैन, ख्रीष्टलाई भनौं प्रार्थनामा
हाम्रो सबै दुखमा भागी, यस्तो मित्र कहाँ पाऔंला
हर कमजोरी येशू बुझ्‍छन्, ख्रीष्टलाई भनौं प्रार्थनामा।

हामी छौं कि निर्बल दुखित, चिन्ता बोझले लादेका
हाम्रो आश्रय खाली येशू, ख्रीष्टलाई भनौं प्रार्थनामा
साथीले के गर्छन् हेला, ख्रीष्टलाई भनौं प्रार्थनामा
उनले रक्षा गर्छन् हाम्रो, उनमा पाउँछौं सान्त्वना।”

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *