के मरेका नाबालकहरू स्वर्ग जान्छन्?

 के मरेका नाबालकहरू स्वर्ग जान्छन्?

सुसमचारमा विश्‍वास नगरी के एक मानिस स्वर्गको राज्यको योग्य होला र? आफ्ना पापहरूका पश्‍चताप गरी येशू ख्रीष्टमा मुक्तिको लागि विश्‍वास गर्नेहरूले अनन्त जीवन पाउँछन् भनी बाइबलले प्रष्ट गरी सिकाउँदछ। तर एक सानो नाबालक जसले सुसमचार बुझ्‍न सक्दैन, उसले कसरी पश्‍चताप गर्ला, अनि कसरी येशूमाथि विश्‍वास गर्ला? अनि त्यस नाबालकको मृत्यु भयो भने उसको अनन्तता कता बित्ला, स्वर्गमा कि नरकमा? हरेक मानिस जन्मदै पापी स्वभावमा जन्मदछ (भजनसंग्रह ५१:५; रोमी ५:१२)। हरेक मानिस अनन्त विनाशको योग्य छ। तर के भर्खरै जन्मेको नाबालक या धेरै सानो उमेरको बालक मृत्युपछि अनन्त विनाशमा जाँदछ?

बाइबलले यस विषयमा धेरै कुराहरू प्रकट गरेको छैन तर बाइबलका सत्यताहरूलाई नियाल्दा केहि महत्वपूर्ण सिद्धान्तहरू पाउन सकिन्छ। भजनसंग्रह १३९:१६, १७ अनुसार आमाकै गर्भमा मृत हुने बालक या बालिका पनि एक पूर्ण व्यक्तिको रूपमा गनिन्छ। पेटबाट बाहिर निस्कन अघिनै त्यस बालक एक व्यक्तिको रूपमा गनिन्छ। तसर्थ त्यस बालक या बलिकाको पनि आत्मा हुन्छ र अनन्तता स्वर्ग या नरकमा हुँदछ।

यूहन्‍ना ९:४१ मा येशूले भन्‍नुभयो, “तिमीहरू अन्धा भएको भए तिमीहरूसँग पाप हुनेथिएन…” यसको अर्थ के होला? येशूले अझै भन्‍नुभयो, “…तर अब हामी देख्छौं भनी तिमीहरू भन्छौ, यसकारण तिमीहरूको पाप रहिरहन्छ।” फरिसीहरू आफूलाई आत्मिक रूपमा ठीक छौं भनी सम्झन्थे जबकि उनीहरू अधर्मी थिए। उनीहरूले सत्यता पाएका थिए, तरै पनि देख्छौं भनी सम्झेर इन्कार गरेका थिए।

यस खण्डमा एउटा महत्पूर्ण सिद्धान्त उल्लेख भएको देखिन्छ। मानिसहरू अविश्‍वासको पापको कारणले नरकको अनन्त विनाशतर्फ जाँदैछन्। येशू ख्रीष्टको मुक्तिको प्रबन्धलाई इन्कार गर्नु र उहाँमाथि विश्‍वास नगर्नु अनन्त विनाशको कारक हो। रोमी १ अध्याय अनुसार, सुसमचार कहिल्यै नपुगेका ठाउँहरूका मानिसहरूलाई पनि वाहाना छैन। तर नाबालकहरू जो असल र खराब छुट्याउने भईसकेका छैनन्, जो “जवाफदेही उमेर”का भईसकेका छैनन् उनीहरूले अविश्‍वास गरेका छैनन्। यस अर्थमा उनीहरू अन्धा नै छन्। यस सिद्धान्तले नाबालकहरू मृत्यु पछि स्वर्गमा जाने संकेत गर्दछ।

योना ४ः११ मा “दाहिने हात र देब्रे हात छुट्याउन नसक्‍ने एक लाख बीस हजारभन्दा बढी मानिसहरू” छन् भनी परमप्रभुले भन्‍नुभयो र उनीहरुप्रति दया देखाउनुभयो। यसले नाबालकहरूको संकेत गर्दछ र कतिले यसमा मानसिक अपाङ्ता भएकाहरू पनि समेट्ने गर्छन्। यर्मिया १९ः४ मा होमबलि दिईएका नाबालकहरूलाई “निर्दोषहरू” भनी उल्लेख गरिएको छ। यशैया ७ः१५, १६ मा “खराबलाई इन्कार गर्न र असललाई चुन्‍न जान्‍नुभन्दा अघि” भनेर नाबालकको विषयमा बताईएको छ।

साथै २ शमूएल १२:२३ अनुसार जब दाउदले आफ्नो नाबालक गुमाए, उनले यो तथ्यमा सान्त्वना पाए कि एकदिन उनले त्यस नाबालकलाई भेट्नेछन्। यस घटनाले पनि नाबालकहरू मृत्यु पछि स्वर्ग पुग्‍ने संकेत दिँदछ।

अनि परमेश्‍वरको चरित्रलाई विचार गर्दा पनि हामी यहि निष्कर्षमा आउँछौं। कि एक धर्मी र न्यायी परमेश्‍वरले के सधैं न्यायी काम गर्नुहुन्‍न र? अनन्ततामा हाम्रा सबै प्रश्‍नहरूको प्रष्ट जवाफ मिल्नेछ नै तर आज पनि हामी परमेश्‍वरको न्यायी र धर्ममय चरित्रमा ढुक्‍क हुन सक्छौं, सान्त्वना र ढाडस पाउन सक्छौं।

इतिहासभरि अनि संसारभर प्रभुका जनहरू जसले आफ्ना सन्तान गर्भमै या नाबालक अवस्थामा गुमाएका छन्, यहि तथ्यद्वारा सान्त्वना पाएका छन् कि एकदिन स्वर्गमा सुखद पुनर्मिलन हुनेछ।

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *