पुरानो नियमको इस्राएल भूभाग

परमेश्वरले इस्राएलीहरूलाई कनान देश उनीहरूको पैतृक सम्पत्तिको रूपमा दिनुभएको थियो। अब्राहामलाई कल्दीहरूको देश ऊरबाट बोलाएर उहाँले उनलाई कनानमा ल्याउनुभयो। अब्राहामबाट परमेश्वरले नयाँ जाति शुरू गर्नुभयो र त्यस नयाँ यहूदि जातिलाई कनान देश दिनुभयो।

पुरानो नियमको इस्राएल भूभागको मूख्य विभाजनहरू यस प्रकारले राख्‍न सकिन्छः

१. आराम

२. फिनिसिया

३. माथिल्लो गालिली

४. गालिली

५. सामारिया

६. पलिस्तिया

७. यहूदा

८. बाशान

९. गिलाद

१०. अम्मोन

११. मोआब

१२. एदोम

पुरानो नियमको इस्राएल भूभागको मानचित्र

आरामः आरामीहरूलाई सिरियालीहरू भनेर पनि चिनिन्छ। आरामीहरूको राजधानी दमस्कस बाइबलका प्रख्यात ठाउँहरूमध्ये एक हो। यो भूभगा इस्राएलको उत्तर पूर्वतिर पर्दछ

फिनिसियाः फिनिसया एक सामुद्रिक किनारमा भएको भूभाग हो। यहाँका मानिसहरू सामुद्रिक व्यापारमा निपुण मानिन्थे। पानी जहाजमा एक ठाउँदेखि अर्को ठाउँमा सामानहरू ओसार पसार गर्दै व्यापार गर्नमा उनीहरू निकै सिपालु थिए। उनीहरूले मलमलका कपडाहरूदेखि लिएर दाखमद्यहरू लगायत विभिन्‍न बहुमूल्य थोकहरूको व्यापार गर्थे।

गालिलीः यस भूभागलाई दुई भागमा राख्‍न साकिन्छ – माथिल्लो गालिली र तल्लो गालिली (या गालिली मात्र)। बाइबलमा गालिली भूभागको ठूलो महत्व छ, विशेष गरी नयाँ नियममा। नासरत शहर यहिँ पर्दछ। नासरतमा येशू हुर्कनुभयो। येशूका चेलाहरू पनि गालिलीबाट कै थिए। यस भूभागको गालिल समुद्र (ठूलो तलाउ हो) निकै प्रख्यात छ। गालिल समुद्रमा चेलाहरूले माछा मार्ने काम गर्थे। गालिल समुद्रमा येशू ख्रीष्ट पानीमाथि हिँड्नुभयो, आँधीबेहेरीलाई शान्त पार्नुभयो, र थुप्रै शिक्षाहरू दिनुभयो। गालिलीका मानिसहरू अनपढहरू हुन्छन् भन्‍ने भनाइ थियो। साँच्‍चै येशूका चेलाहरू प्राय अनपढहरू नै थिए। तर संसारका साना कुराहरूलाई आफ्नो महान उद्देश्यको लागि ठूलो तरिकामा प्रयोग गर्न परमेश्‍वर मन पराउनुहुन्छ।

सामारियाः यो ठाउँ इस्राएलको मध्य भागतिर पर्दछ। सामारिय भूभागभित्र सामारिय शहर पर्दछ। इस्राएल राज्य दुई भाग हुँदा यहि सामारिया शहर उत्तरी राज्यको राजधानी थियो। पुरानो नियममा विशेष महत्वको साथमा लिइने यस भूभगा नयाँ नियममा घृणित सामारीहरू बस्‍ने ठाउँको रूपमा परिचित हुन गयो।

पलिस्तियाः यो भूभाग पिलस्तिहरू बस्‍ने भूभाग हो। पलिस्ति र यहूदिहरूको द्वन्द लामो समय रह्‍यो। पलिस्तीहरूका पाँच राजकीय शहरहरू यहिँ पर्दछन्।

यहूदाः यहूदा इस्राएलको दक्षिणतिर पर्ने भूभाग हो। यस भूभागमा इस्राएलका महत्वपूर्ण ठाउँहरू पर्दछन्। जस्तो – बेथलेहेम, यरूशलेम, बेथेल, आदि। इस्राएल राज्य दुई भाग हुँदा, यस भूभाग दक्षिणी राज्य बन्यो।

बाशानः यर्दन नदीपारीको ठाउँहरूमध्ये बाशान एक हो। गालिलीको पूर्वपट्टि पर्ने यस ठाउँ उर्वर भूमि र हृष्टपुष्ट गाइवस्तुको लागि प्रख्यात थियो। यहाँ खेतीपाति राम्रो हुन्थ्यो। बाशानको गाइवस्तु भनेपछि मोटोघाटो र स्वास्थ्य मानिन्थ्यो।

गिलादः बाशानको दक्षिणतिर पर्ने यस भूभाग ठूला ठूला रूखहरू र वनस्पतिको लागि प्रख्यात थियो। गिलादको जडिबुटि राम्रो मानिन्थ्यो। 

अम्मोनः लुतको कान्छी छोरीबाट जन्मेको छोरा अम्मोनबाट अम्मोनी जातिको शुरूवात भयो। यी अम्मोनीहरू बस्‍ने यस भूभागलाई अम्मोन भनेर चिनिन्थ्यो।

मोआबः लुतको जेठी छोरीबाट जन्मेको छोराबाट मोआबीहरूको शुरूवात भयो। यी मोआबीहरू बस्‍ने भूभागलाई मोआब भनेर चिनिन्थ्यो। मोआबको बेसीमा परमेश्वरले मोशालाई गाड्नुभयो।

एदोमः एसावको सन्तानहरू बस्‍ने ठाउँलाई एदोम भनिन्थ्यो। एदोमको अर्थ “रातो” भन्‍ने हुन्छ। रातो चट्टानहरू यहाँ पाइन्थ्यो। एदोम चट्टानहरूको भूभाग हो। एदोमीहरूले चट्टानहरूमा आफ्ना बासस्थान बनाएका थिए। हेरोद राजा एदोमी थिए। एदोमीहरू सधैं याकूबका सन्तान इस्राएलीहरूको विरूद्धमा हुन्थे।