गोठालाको सोर सुन्नु र पछ्याउनु

 गोठालाको सोर सुन्नु र पछ्याउनु

के परमेश्वर आज पनि बोल्नुहुन्छ? के तपाईसँग बोल्नुहुन्छ? यूहन्ना १० को २७ लाई दाबी गर्दै, यसको आधारमा हामी ढुक्क भएर भन्न सक्छौं, कि हो परमेश्वर आज पनि बोल्नुहुन्छ। हो, परमेश्वरको सोर आज पनि सुन्न सकिन्छ। अनि आफ्नो भावना, आफ्नो कल्पनालाई आधार मानेर हामी भन्न सक्दैनौं। तर परमेश्वरको वचनको आधारमा। यदि तपाईले भन्नुहुन्छ, ‘खोइ मलाई थाहा भएन प्रभु बोल्नुहुन्छ बोल्नु हुन्न? मलाई त बोल्नु हुन्न जस्तो लाग्छ’। तपाई र मलाई त्यस्तो लाग्ला तर तपाई र मेरो भावना, तपाई र मेरो अनुभव ठूलो कि परमेश्वरको वचन ठूलो? जब परमेश्वरको वचन र तपाई र मेरो अनुभव मिल्दैन त कुनलाई सच्याउने होला? परमेश्वरको अकाट्य वचन त कहिले पनि सच्याउनु पर्दैन, मिल्दैन तर हाम्रो बुझाईमा त्यहाँ कमी भएको हामी बुझ्छौं। हेर्नोस् त यूहन्ना १० को २७ मा कति प्रष्ट छ – “मेरो भेडाहरूले मेरो सोर सुन्छन् अनि म तिनीहरूलाई चिन्छु। र तिनीहरुले मलाई पछ्याउँछन्।”

प्रभु बोल्नुहुन्छ कि बोल्नु हुन्न भन्ने कुरा होइन, प्रभु बोल्नु हुन्छ नै! आज पनि बोल्नुहुन्छ तर हामी उहाँको सोर सुन्छौं कि सुन्दैनौं? यदि उहाँको भेडाहरू हौं भने त सुन्नु पर्ने हो। २७ पदको पहिलो भाग हेर्नुस त फेरि। “मेरा भेडाहरूले मेरो सोर सुन्छन्” भनेर लिखिएकोछ। सुनेरै छाड्छन्। तर कुरा त के हो म उहाँको भेडा हो कि होइन? उहाँ बोलिरहनु भएको छ। उहाँको इच्छा प्रकट गरिरहनु भएको छ। उहाँको आवाज, उहाँको सोर मैले आज सुनिरहेको छु त? अनि त्यति मात्र हैन, अझ लेखिएको छ २७ पदमा – “अनि म तिनीहरुलाई चिन्छु”। उहाँले चिन्नुहुन्छ हामीलाई! “प्रभु, प्रभु, हामीले तपाईको नाममा आश्चर्य कर्महरू गर्यौं! तपाईको नाममा धेरै धेरै सेवा गर्यौं! “म तिमीहरुलाई चिन्दिन!” के उहाँले चिन्नु हुन्छ तपाई र मलाई आज? आफ्नोलाई उहाँले चिन्नु हुन्छ। साँचो उद्धार मुक्ति पाएकाहरू, नयाँ गरी साँचो रूपमा जन्मेकाहरू, उहाँका भेडाहरू उहाँको बगालमा आएका छन्। अनि उहाँ जो असल गोठाला हुनुहुन्छ, उहाँले कसरी आफ्ना भेडालाई बिर्सनु हुन्छ र? सबैलाई चिन्नुहुन्छ नै, अनि तेस्रो भागमा के छ २७ पदमा? “र तिनीहरूले मलाई पछ्याउँछन्।” पछ्याउँछन् नै! तपाईले पछ्याउँनु भएको छ कि छैन? पछ्याउँदै हुनुहुन्छ गोठालोलाई? मेरो जीवनको हरेक कदममा हरेक निर्णयमा हरेक पाइलामा के म प्रभुलाई पछ्याइरहेको छु? यदि तपाई परमेश्वरको भेडा हो भने उहाँ तपाईको गोठालो हो भने तपाई उहाँको सोर सुन्नुहुन्छ नै! अनि उहाँले हामीलाई चिन्नु हुन्छ नै! अनि उहाँलाई हामी पछ्याउँछौं नै! यदि त्यो भएको छैन भने त्यहाँ केहि समस्या छ!

आउनोस् आज हाम्रा प्रिय गोठाला प्रभु येशू ख्रीष्टको सोर सुनौं र उहाँलाई नै पछ्याऔं! उहाँको वचनद्वारा आज हामीलाई डोर्याउनुहुन्छ। उहाँको वचन विपरित या बाहिर उहाँले कहिल्यै डोर्याउनुहुन्न। आज संसारमा धेरै विराना सोरहरू छन्। उहाँको भेडाहरूले विरानालाई पछ्याउँदैनन्। सामाजिक संजाल अनि एआईले साँचो गोठालाको सोरलाई छोप्न खोज्छ तर सतर्क रहौं! सबै हो-हल्ला र अनौठा आवाजहरूबीच पनि साँचो गोठालाको मीठो, प्रेमिलो, जीवनमा डोर्याउने सोर सुनौं र उहाँलाई पछ्याऔं! उहाँले नै हामीलाई शान्त पानीनिर डोर्याउनुहुन्छ। उहाँलाई पछ्याउने एउटै भेडा पनि हराएका छैनन्, विनाशमा परेका छैनन्। उहाँले नै जीवनमा, अझ प्रशस्तताको जीवनमा, अनन्त जीवनमा डोर्याउनुहुन्छ!

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *