इम्मानुएल – परमेश्वर हामीसित

 इम्मानुएल – परमेश्वर हामीसित

इम्मानुएल –
परमेश्वर हामीसित

प्रचारकः
आदर्श जंग गुरूङ

यशैया ७;
मत्ती १:२३

परिचय

इम्मानुएलको
अर्थ के हो? होइन तपाईको जीवनमा, व्यक्तिगतरूपमा इम्मानुएलको अर्थ के हो?

यशैयाको
लागि के अर्थ थियो? मत्तीको लागि के अर्थ थियो? तपाई हामीको लागि के अर्थ छ?

यशैया – आहाज
(यहूदाका राजा) र इस्राएल अनि आरामीहरूको सन्धि। तर कुरा निमल्दा आहाजमाथि इस्राएल
र आरामीहरूको आक्रमण। परमेश्वरले आहाजलाई सान्त्वना दिन यशैया मार्फत वचन।
परमेश्वरमा भरोसा गर्न आग्रह। चिन्ह माग्‍न आग्रह। इम्मानुएलको चिन्ह –
संकष्टपूर्ण समयमा आशाको, विजयको चिन्ह

मत्ती –
यहूदीहरूको लागि आशाको किरण।

उदाहरणः एउटा कलाकारले नक्सा बनाउँदा, एउटा
अँध्यारो रातमा, चिसो मौसममा खिंरिङ्ग परेको रूखहरूको छेउमा एउटा कालो थोत्रो
भत्किन लागेको घर। चारैतिर नष्पट अन्धकार, हावा हुरी चलेको जस्तो। साह्रै
निराशताले भरिएको चित्र बनाएछ। तर अन्त्यमा उनले पहेँलो पेन्ट रङ्ग लिएछ अनि
स्वाट्ट त्यो कालो घरको झ्यालबाट ज्योति निस्केको उनले बनाएछ। त्यति मात्रै के
गरेको थियो पूरै चित्रको भाव अब बदलियो। निराशता होइन तर आशा र सान्त्वनाको चित्र
भयो त्यो। हो मत्तीलाई इम्मानुएलको अर्थ यहि थियो। आशाको किरण, विजयको संकेत।

तपाईको
लागि के अर्थ? मेरो लागि के अर्थ? – अन्धकारमा हराएकाहरू हामी, पाप र अधर्ममा
मरेका हामी, आशारहितहरू हामी, हाम्रो लागि इम्मानुएल पठाइएको छ – ज्योति दिईएको छ;
अन्धकारमा बस्‍नेहरूकालागि ज्योति प्रकट भएको छ, आशाको किरण मिलेको छ! इम्मानुएल –
परमेश्वर हामीसित!

के तपाई
इम्मानुएललाई चिन्‍नुहुन्छ?

करिब २०००
वर्ष अघि परमेश्वरले पापी मानिसहरूलाई पाप क्षमा दिन, हामी पापमा मरेकाहरूलाई जीवन
दिन आफ्नो पुत्र येशू ख्रीष्टलाई मानिस बनी बलि हुन यस संसारमा पठाउनुभयो। हरेक
मानिसमा “ईश्वर हुनुहुन्छ” भन्‍ने ज्ञान परमेश्वरले विवेकमा हालिदिनुभएको छ।
संसारका सारा मानिसको विवेकले यहि गवाहि दिन्छ – ईश्वर हुनुहुन्छ। त्यसैले त कसैले
ईश्वर छैन भन्छ भने ऊ मूर्ख हो। आफ्नै विवेक विरूद्ध उसले बोल्छ। हरेक मानिस
संसारभर युगौं युगदेखि आ-आफ्नै तरिकामा ईश्वरको खोजि गर्दै आएका छन्। कसैले
पहाडहरू, हिमालहरूतिर खोजे, कसैले नदीमा ईश्वर पाए, कतिले सृष्टिका थोकहरूलाई ईश्वर
ठाने, अनि कतिले चाहिँ आफै ईश्वरको प्रतिरूपको अविष्कार गरे – कुनै ढुङ्गाले, कुनै
काठले, अनि कुनै धातुले।

अनि यसरी
नै संसारका मानिसहरू रूमल्लि रहे। समय बित्दै गयो, तर मानिस कसैले पनि साँचो
परमेश्वरलाई चिन्‍न सकेन। सबै भेडाझैं बरालिएका थिए, हराएका थिए, अर्थहिन जीवन
जिईरहेका, अशान्तिबीच शान्तिको छाया खोज्दैथिए, दुखपीरले जेलिएको जीवनमा आनन्दको
दुसपना देख्दै थिए, अनि पापको बन्धन र बोझमनि रहिरहँदा स्वतन्त्रताको भ्रमले
भ्रमित थिए। हालत खराब थियो। आशारहित! अन्धकार रातमा, अन्धकार घरमा, अन्धकार
जीवनमा! तर! यसैबीचमा अचानक – ज्योतिको किरण!

परमेश्वर
मानिस बन्‍नुभयो र मानिसकहाँ आउनुभयो; मानव जातिसँगै रहनुभयो – इम्मानुएल –
परमेश्वर हामिसित! येशू ख्रीष्ट जो परमेश्वर हुनुहुन्छ, उहाँले आफैलाई
होच्याउनुभयो। अन्धकारमा रूमल्लिरहेकाहरू, हराएकाहरूलाई ज्योति दिन, जीवन दिन,
साँचो शान्ति, आनन्द दिन येशू ख्रीष्ट मानिस बन्‍नुभयो। इस्राएलको बेथलेहेम शहरमा मुक्तिदाता
येशू ख्रीष्ट मानिस भई बालकको रूपमा एक कन्याद्वारा जन्मनुभयो। पापको बाक्लो
अन्धकारलाई तोड्दै ख्रीष्टको ज्योति संसारमा चम्क्यो! उहाँले पापरहित जीवन
जिउनुभयो। तपाई र मेरो पापको लागि क्रूसमा बलि हुनुभयो। हामी मर्नु पर्नेमा उहाँ
रगत बहाई मर्नुभयो। हाम्रो पाप येशूले बोक्‍नुभयो। मरेपछि गाडिनुभयो तर मरेको
मर्यै हुनुभएन, तेस्रो दिनमा जीवित हुनुभयो। आज स्वर्गमा विराजमान हुनुहुन्छ।
येशूमा नै तपाई र मेरो पाप क्षमा छ, पापको बन्धनबाट मुक्ति छ। उहाँमा नै प्रत्येक
मानिसको लागि आशा, आनन्द, ज्योति, जीवन छ! यो हो इम्मानुएलको वास्तविक अर्थ!

अब
प्रत्येक अन्धकारमा हराएका मानिसहरूका लागि स्वर्गीय ज्योति उपलब्ध छ! अब फेरि
त्यहि पाप र अन्धकारमा, अशान्ति र निराशामा, प्रताडित जीवन जिउनु पर्दैन!
हेर्नुहोस् इम्मानुएललाई – परमेश्वर हामीसित। अब मानव जातिको लागि आशा छ, अब मानव
जातिको लागि ज्योति उदय भएको छ; परमेश्वर स्वयम् हामीसित वास गर्नुहुन्छ।

अब
स्वर्गसम्म पुग्‍ने बाबेलको धरहरा आवश्यक छैन, परमेश्वरकहाँ पुग्‍नलाई तपाई र मेरो
धर्मकर्मको भर्याङ्ग आवश्यक छैन; परमेश्वरसँग वास गर्ने; परमेश्वरकहाँ पुग्‍ने
मानवीय बेकारका उपायहरू, विचारहरू, धर्मकर्महरू आवश्यक छैन! परमेश्वर स्वयम
स्वर्गबाट पृथ्वीमा झर्नुभएको छ। सुन्‍नुस्, अब परमेश्वर स्वयम् मानिसकहाँ
आउनुभएको छ! मानिस परमेश्वरकहाँ होइन, तर परमेश्वर मानिसकहाँ! हामी कहिल्यै आफ्नो
प्रयासमा परमेश्वरकहाँ पुग्‍ने थिएनौं! हाम्रा उत्कृष्ट प्रयासहरू पनि व्यर्थ, अनि
दुष्टता मात्रै थिए। तर अब इम्मानुएल आउनुभएको छ! ओ इम्मानुएल – कति सुन्दर नाम!
अब इम्मानुएलमा नै हामी हरेकलाई आशा छ, ज्योति छ, जीवन छ – इम्मानुएल – परमेश्वर
हामीसित!

तपाईको
जीवनमा इम्मानुएलको अर्थ के छ? के तपाईले इम्मानुएलको वास्तविक अर्थ बुझ्नुभएको छ?
छैन भने आज तपाईलाई मौका छ।

इम्मानुएल –
आशाको किरण, ज्योति, जीवन

इम्मानुएलको
विषयमा थप विचार गर्दा, पहिलो कुरा – इम्मानुएलले परमेश्वरसँगको मिलापलाई देखाउँछ।

  • परमेश्वरसँगको
    मिलाप

येशू
ख्रीष्ट हाम्रो लागि बलि हुन यस संसारमा आउनुभयो। पापको कारण बिच्छेद सम्बन्ध
जोड्न, हामी पापी मानिसलाई पवित्र परमेश्वरसँग मिलापमा ल्याउन बलि हुनुभयो। परमेश्वरबाट
बिरानाहरू, अब उहाँको नजिकमा आउन सक्छौं।

हिब्रू १०:१९-२५

उदाहरणः
भेट हुने पालमा पूजाहारीहरू बाहेक कोहि पनि आउन नसक्‍ने; बाहिरबाट कसैले हेरेछ,
“ओहो त्यहाँ के छ होला, भित्र जान पाए…” ढोकामा हुनेले – इस्राएली मात्रै जान
पाउँछ, अनि लेवी कुलको हुनुपर्छ; अनि पवित्रस्थानमा जान पूजाहारी हुनुपर्छ;
महापवित्रस्थानमा परमेश्वरको सामु? सपना नदेख; महापूजाहारि मात्रै; होइन त्यहि पनि
वर्षको एक पटक – त्यो अन्यजातिले सोचेछ विचरा म! मेरो आशा छैन। म कहिल्यै
परमेश्वरकहाँ पुग्‍न सक्दिन। त्यो अन्यजाति हामी पो रहेछौं, यो त हाम्रो कथा पो
रहेछ!

हेर्नुहोस्
हामी कोहि पनि पवित्र पवित्र पित्र परमेश्वरको सामु आउने योग्यका थिएनौं। तर
इम्मानुएल यस संसारमा आउनुभयो, बलि हुनुभयो; अब येशूको रगतद्वारा
महापवित्रस्थानभित्र प्रवेश गर्ने हिम्मत, अवसर प्राप्त गरेका छौं।

परमेश्वरलाई
अझ चिन्‍न बाँकी छ भने आज तपाईलाई अवसर छ – पापबाट पश्चताप गर्नुहोस्, येशूको
रगतद्वारा धोइएर तपाई परमेश्वरसँगको मिलापमा आउन सक्‍नुहुन्छ।

अनि हामी
विश्वासीहरू अब हामी परमेश्वरसँगको मिलापमा आएका छौं – हामी उहाँलाई हे पिता, हे
अब्बा भन्छौं। हामीलाई येशूद्वारा पिताकहाँ आउने बाटो मिलेको छ, उहाँको नाजिक जाने
अवसर छ। के तपाई हामी उहाँको नजिकमा गईरहेका छौं? नजिकमा नै छौं? नजिकमा जाऔं, र
निजिकमा नै रहौं!

२५ पद यहि
सन्दर्भमा आएको छ। हामी व्यक्तिगत रूपमा, अनि सामूहिक रूपमा पनि नजिकमा जान
सक्छौं। नजिकमै रहौं न! के आज हामी कोहि टाढामा छौं कि? नजिक झन् नजिक…

इम्मानुएल –
परमेश्वर हामीसित – अब परमेश्वरको मिलाप हामीसित।

इम्मानुएलले
परमेश्वरसँगको मिलापलाई देखाउँछ।

  • परमेश्वरसँगको
    प्रेम

मिलाप राख्‍नु
या सम्बन्ध राख्‍नु एउटा कुरा हो, तर घनिष्ठ प्रेमको सम्बन्ध अझ विशेष छ!

त्यस श्रापित,
कुरूप, घृणित क्रूसको दृश्यमा हामी सबैभन्दा अद्भूत, ईश्वरीय, अगापे प्रेम प्रकट
भएको देख्छौं!

येशू
ख्रीष्ट मानिस हुनुभयो, होचिनुभयो, निर्दोष भएर पनि पीडा, थुकाइ, गिल्ला चुपचाप
सहनुभयो, किन? उहाँको अनुहार कुरूप थियो, कुनै आकर्षण थिएन त्यहाँ! यशैयाले भन्छन्
यशैया ५३मा हामीले आफ्नो मुहार उनीबाट लुकायौं। येशू ख्रीष्टले तपाई र मेरो पाप
बोक्‍नुभयो। पापै नजान्‍नुहुने येशूलाई हाम्रो खातिर पाप बनाइयो। उहाँमाथि हाम्रो
पाप अधर्म राखियो। निर्दोष येशूलाई क्रूसमा चढाइयो।

सेकुलार
इतिहासकारहरू, अविश्वासी इतिहासकारहरूले लेखेका छन् कि रोमीहरूले अपराधीहरू, भगौडा
दासहरू, शत्रुहरूलाई क्रूर दण्ड दिन्थे। क्रूसमा झुण्डाएर मार्थे। यो क्रूसको
मृत्यु साह्रै तुच्छ, अनि पीडादायक हुन्थ्यो। हातपाउमा किल्ला ठोकेर या बाँधेर एक
व्यक्तिलाई झुण्डाइन्थ्यो। बेइज्जतीको लागि नाङ्गो पारिन्थ्यो। अनि त्यस
झुण्डाइएको व्यक्ति तुरून्तै मर्दैनथ्यो। मृत्यु हुन घण्टौं लाग्‍न सक्थ्यो, अनि
कहिले केहि दिनहरू नै लाग्थ्यो। हातपाउ तन्किनथ्यो, फोक्सो तन्किन्थ्यो, सास फेर्न
गाह्रो हुन्थ्यो- विस्तारै विस्तारै हप्याक, हप्याक गर्दै अक्सिजनमो कमी हुँदै
मृत्यु हुन्थ्यो। घण्टौंसम्म रहँदा भोक लाग्थ्यो, तिर्खा लाग्थ्यो, toilet
जाने कुरा पनि
भएन। त्यहिँ फोहोर हुन्थ्यो। अनि झुण्डाउने ठाउँ शहर बाहिर हुन्थ्यो, राति जंगली
जनावरहरू आएर मासु खान्थे पनि भनिएको छ। जिउँदै यसरी पीडा सहि सहि, कति त पीडाले
मर्थे। अनि छिटो मरून् भन्‍नाको लागि कहिले काहिँ खुट्टा भाँचिन्थ्यो। हम्मरले
हानेर भाँच्‍ने हो। येशू चाहिँ परेन, उहाँ पहिल्यै मरिसक्‍नुभएको थियो। उहाँले
कोर्रा सहनुभयो, काँडाको मुकुट शिर रोपियो, श्रापित बनिनुभयो – हरेक जो रूखबाट
झुण्डाइन्छ ऊ श्रापित हो; पिताबाट त्यागिनुभयो।

यो सबै
किन? तपाई र मेरै पापको लागि हो! ती चोटहरूद्वारा हामी निको पारियौं, उहाँ श्रापित
हुनुभयो, हामी आशिषित भयौं, उहाँ मर्नुभयो, हामी जीवित भयौं – यो ईश्वरीय प्रेम
थियो!

यो अद्भूत
प्रेम तपाई र मेरो लागि हो। के तपाईले यो प्रेम बुझ्‍नुभएको छ? के यो प्रेमलाई
स्वीकार्नु भएको छ? आज मौका छ।

अनि हामी
विश्वासीहरू, के हामी दिनहुँ यस प्रेमलाई सम्झना गर्छौं? यस प्रेमले हामीलाई
उहाँको लागि जिउन विवश पार्दछ – २ कोरिन्थी ५:१४-१५

के हामी
उहाँको प्रेममा बढ्दै, उहाँलाई प्रेम गर्दै, उहाँको इच्छा अनुसार, उहाँको महिमाको
लागि जिईरहेका छौं?

मैले म
परमेश्वरलाई प्रेम गर्छु त भनुँला तर त्यस अनुसार विचार, बोलि, व्यवहार छैन भने –
त्यहाँ प्रश्‍न उठ्छ। त्यसरी नै के तपाई हामी हृदयबाट नै अनि व्यवहार परमेश्वरलाई
प्रेम गरिरहेका छौं?

हामी
उहाँलाई प्रेम गर्छौं किनभने उहाँले हामीलाई पहिला प्रेम गर्नुभयो। सबै मानिसको लागि यस प्रेम उपलब्ध छ।

उदाहरणः एक पटक एक नास्तिक बजारकोबीचमा अग्लो ठाउँमा
उभिएर चिच्याएछ – “ल हेर्नुहोस् है दाजुभाइ दिदी बहिनी, आज म तपाईलाई सजिलो
तरिकाले ईश्वर छैन भन्‍ने तथ्य पुष्टि गरिदिन्छु। आउनुहोस्।” सबैजना नजिक नजिक
आएछन्, भीड ओईरेछ। अनि त्यस नास्तिकले भनेछन् – “म ईश्वर छैन भनी भन्छु। यदि
त्यहाँ ईश्वर छ भने मलाई मार भनेर म भन्छु अनि म मर्नेछु, तर मलाई केहि भएन भने
ईश्वर छैन भनी पुष्टि हुन्छ।” अनि उनले भनेछन् आकाशतिर हेर्दै – “ल ईश्वर तिमी छौ
भने ल मलाई ठाउँको ठाउँ मार। ल हेरूँ त म पनि। ल म यहिँ छु”। सबैजना शान्त भएर
हेरेछन्; केहि पनि भएनछ। केहि समय पर्खेपछि त्यस नास्तिकले भनेछ, “कस्तो लाग्यो त
मलाई केहि भएन; साँच्चै ईश्वर त्यहाँ छैन”। सबैजना चुपचाप लागेर फर्कना थालेछन्,
त्यस नास्तिक जितेँ भन्दै गमक्क परेर बसेछ। त्यसैबीचमा भीडबाट एउटा वृद्ध आमा
निस्केछिन् र भनेछन्, “बाबु, तिम्रो छोराछोरीहरू छन्?” त्यस नास्तिकले भनेछन् –
“छन्”; के तिमी उनीहरूलाई प्रेम गर्छौ? – “एकदम”; अनि तिम्रो छोराछोरी मध्ये कसैले
अति मूर्ख भएर बुबा लउनु चक्कु यहाँ छ मलाई मार्नुहोस् भनी भन्यो भने तिमी मार्छौ?
“अवश्य मार्दिन, म उनीहरूलाई धेरै प्रेम गर्छु” आमाले भनिछन् – “ठिक हो बाबु,
तिमीले आफ्नो छोराछोरीलाई गर्ने भन्दा धेरै बढि तिमीलाई परमेश्वरले प्रेम
गर्नुहुन्छ, तिमी जति नै मूर्ख भए पनि”

प्रेमले
हामीलाई उहाँको लागि जिउन विवश पार्दछ। मानिसहरू छक्क पर्छन् यी ख्रीष्टियानहरू
किन यस्तो जोशिलो, किन मण्डली गईरहन्छन्, किन सतावटबीच खडा रहन्छन्, मर्न तयार तर
यो येशूलाई छोड्दैनन्। रहस्य के हो? सायद डलर पाएर होला, सायद अरू केहि प्रलोभन
होला, सायद केहि स्वार्थ छ होला…

उनीहरू
बुझ्‍न सक्दैनन् कि हामीलाई के ले बाँधेको छ – डलरले होइन, कुनै प्रलोभनले होइन –
ती सब फितलो हुन् – तर अति शक्तिशाली ईश्वरीय प्रेमले हामीलाई बाँधेको छ। यस
प्रेमले नै हामीलाई विवश पार्दछ!

यस प्रेमले
प्रभुको लागि जिउन जोशिलो पार्दछ, यसै प्रेमले संकष्ट पीडाबीच सान्त्वनता दिँदछ,
हो यसै प्रेमले दुर्बलतामा सामर्थ्य दिँदछ – रहस्यो यो हो!

इम्मानुएल-  परमेश्वर हामीसित –अब परमेश्वरको प्रेम
हामीसित।

इम्मानुएलले
परमेश्वरसँगको प्रेमलाई पनि देखाउँछ।

  • परमेश्वरसँगको
    निवास्थान

मिलाप र प्रेम मात्रै होइन तर इम्मानुएल –
परमेश्वरहामीसित; हामीसँगै पाल टाँग्‍नुहुन्छ। हामीसँगै रहनुहुन्छ! हामी एक
अर्कालाई चिन्छौं, सम्बन्ध छ, तर प्रेममा रहनु, बढ्नु कति विशेष, तर अझै सँगै बस्‍नु
– ओहो! कति घनिष्ठम सम्बन्ध हो यो!

परमेश्वरसँग
हाम्रो मिलाप मात्रै हुनु – त्यो हाम्रो लागि काफि हुनेथियो, होइन त्यो बढि नै
हुनेथियो। हामी कोहि त्यस मिलापको योग्य छैनौं!

यदि
स्वर्गको सिंहासनमा कोहि मानिस बसेको भए हामी सबै पहिल्यै नरकमा नाश भईसकेका
हुनेथ्यौं तर परमेश्वरलाई धन्यवाद होस् कि आज स्वर्गको सिंहासनमा कोहि मानिस होइन
तर अति प्रेमी, अनुग्रही परमेश्वर हुनुहुन्छ! मिलाप मात्रै होइन तर परमेश्वरले
हामीलाई उहाँको प्रेम प्रकट गर्नुभएको छ। अनि मिलाप गरेर, प्रेम गरेर त्यत्तिकै
टुहुराहरू छोड्नुभएन – तर हामीसँगै रहनुहुन्छ; हरेक पल साथसाथ रहनुहुन्छ

सायद
तपाईको घनिष्ठ मित्रले सधैं साथ नदेला, तपाईको आफ्‍नै परिवारको साथ सधैं नमिल्ला
तर सुन्‍नुहोस् तपाईको परमेश्वर हर समय, हर पल, हर परिस्थिती तपाईसँगै हुनुहुन्छ!
हाम्रो परमेश्वर यात्री परमेश्वर होइन, मौसमी परमेश्वर पनि होइन, भेटघाटको
लागि मात्र आउनुभएको होइन तर सँगै रहन! उहाँ इम्मानुएल हुनुहुन्छ – परमेश्वर
हामीसित!

उहाँको
युगौं देखिको उद्देश्य थियो

पुरानो
नियममा छायाद्वारा यसको संकेत – प्रस्थान २९:४३-४६; लेवी २६:११;

नयाँ
नियममा अब हामी विश्वासीहरू पवित्र आत्माको मन्दिर, उहाँ हामीमा वास गर्नुहुन्छ;

अनि एक दिन
आमनेसामने सँगै रहनेछौं –  प्रकाश २१:३

उदाहरणः सन्डे स्कूलमा सानो केटीलाई
शिक्षकले सोधेछ – स्वर्ग किन विशेष ठाउँ हो? सोचेछ…त्यहाँ सुनको शहर छ, त्यहाँ
सुनको सडक हुन्छ, हिरामोतीहरू हुन्छन्, ठिकै हो; कहिल्यै रोदन हुँदैन, रोग हुँदैन,
वा…कहिल्यै मृत्यु हुँदैन” ठीकै हो तर मूख्य कुरा तिमीले भुल्यौ – स्वर्ग विशेष
छ किनभने त्यहाँ परमेश्वर हुनुहुन्छ।

स्वर्ग
विशेष ठाउँ हुनेछ, हामी त्यहाँ कत्ति रमाउनेछौं – तर यसो विचार गरौं त! स्वर्ग किन
विशेष भएको – परमेश्वरको उपस्थितिको कारण – अनि अब फेरि विचार गर्नोस् त आज पनि
हामीसँग यस पृथ्वीमा परमेश्वरको उपस्थिति छ – त्यसैले हाम्रो जीवन विशेष छ, हामी
उहाँमा रमाउन सक्छौं! स्वर्गको स्वाद हामी आज नै चाखिरहेका छौं!

हामीसँगै
पाल टाँगेर वस्‍नुहुन्छ।

उहाँ
हाम्रो पक्षमा हुनुहुन्छ, आत्तिनु, निराश हुनु पर्दैन।

हो, तपाई
विश्वासी – तपाईको कस्तो कस्तो अवस्था छ अहिले जीवनमा मलाई थाहा छैन, तपाई कस्तो
परिस्थितिहरू भएर गईरहनुभएको छ, तपाईको चिन्ताका विषयहरू के-के छन्, म जान्दिन, तर
म यो जान्दछु, यदि तपाई परमेश्वरको सन्तान हुनुहुन्छ भने; परमेश्वर तपाईसित
हुनुहुन्छ – तपाई कहिल्यै एक्लो हुनुहुन्‍न; तपाईलाई सधैं परमेश्वरको साथ छ;
तपाईलाई उहाँले कहिल्यै त्याग्‍नुहुन्‍न, अफाल्नुहुन्‍न; हरेक परिस्थितिमा तपाई
रमाउन सक्‍नुहुन्छ किनभने इम्मानुएल आउनुभएको छ; इम्मानुएल – परमेश्वर हामीसित!

अब
निष्कर्षमा हामी सबैले बुझ्‍न आवश्यक छ कि इम्मानुएल सबैको लागि दिईनुभएको छ तर
विश्वासद्वारा मात्रै इम्मानुएललाई ग्रहण गर्न सकिन्छ।

यशैया ७:९
– विश्वास गरेनौ भने

यशैया ५३:१
– कसले विश्वास
गरेको छ र?

इस्राएलको
बेथलेहेम शहरमा एक रात इम्मानुएल आउनुभयो – तर धेरैले विश्वास गरेनन्।

के तपाई
विश्वास गर्नुहुन्छ? परमेश्वरसित मिलाप, परमेश्वरसित प्रेम, परमेश्वरसित निवास्थान
– यी सबै आशिषहरू इम्मानुएलमा विश्वासद्वारा उपलब्ध हुन्छन्!

अनि हामी
विश्वासीहरू, के हामी इम्मानुएलको वास्तविक अर्थै बुझ्दै छौं? परमेश्वरसितको
मिलापमा, संगतिमा बढ्दै छौं, प्रेममा गहिरिँदै छौं, अनि उहाँको नजिकमै रहिरहेका
छौं?

इम्मानुएल

– परमेश्वर हामीसित अनि हामी परमेश्वरसित

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *