उचालिएका हातहरूको जीवन
प्रस्थान १७ अध्यायमा हामी एउटा विशेष घटना पाउँदछौं। उजाडस्थानमा यात्रा गरिरहेका इस्राएलीहरूलाई अमालेकीहरूले आक्रमण गर्दछन्। मोशाले यहोशूलाई लडाईको नेतृत्व गर्न निर्देशन दिन्छन् र आफूचाहिँ डाँडाको टुप्पोमा जान्छन्। अनि त्यस लडाईमा साह्रै अनौठो घटना हुन पुग्छ। जब मोशाले आफ्ना हातहरू उचाल्थे तब इस्राएलीहरू लडाईमा विजयी हुन्थे तर जब गलेर मोशाका हातहरू तल झर्थे तब इस्राएलीहरू हार्थे।
मोशाका उचालिएका हातहरूको अर्थ के हो? आफ्नो हात उचालेर के उनले परमेश्वरमाथिको भरोसा देखाइरहेका थिएनन् र? मोशाका उचालिएका हातहरूले इस्राएलीहरूको भरोसा, बल, विजय परमेश्वरमा छ भनी देखाइ रहेको थियो। इस्राएलीहरू आफ्नै बलमा त्यस लडाईमा विजय हुन सक्ने थिएनन्। परमेश्वरद्वारा विजय सम्भव हुनेथ्यो। परमेश्वरमा भरोसा गर्नुपर्थ्यो।
आज हाम्रो जीवनको अवस्था पनि यहि हो। के तपाई उचालिएका हातहरूको जीवन जिईरहनु भएको छ? अर्थात् पूर्ण रूपमा परमेश्वरमाथि भरोसा राख्ने जीवन। यो प्रकारको जीवनमा मात्रै विजय छ। जब मोशाका हातहरू तल हुन्थे, यहोशू र इस्राएलीहरूले तल वेसीमा जति जोडसाथ लडे पनि विजयी हुन सक्दैनथे। अनि यदि मोशाको हात उचालिएका थिए भने अमालेकीहरू जति नै बलिया भए पनि इस्राएलीहरूले जित्थे। साँच्चै विजय परमेश्वरको हो। उचालिएका हातहरूको जीवन नै विजयी जीवन हो!