के बप्तिस्मा नलिइकन कुनै मानिसले स्वर्ग जान सक्दैन? स्वर्ग जानलाई बप्तिस्मा नै लिनुपर्छ?
– रमेश कुमार सुनुवार
बप्तिस्मा नलिइकन मानिस स्वर्ग जान सक्छ। किनकि मानिस विश्वासद्वारा बचाइन्छ, कामद्वारा होइन। तैपनि एउटा ईशाईले बप्तिस्मा लिन्छ जुन ख्रीष्टसँगको उसको मृत्यु र पुनरुत्थानको स्वीकार हो। लूका २३:३९-४३ को खण्डमा येशू ख्रीष्टसँगै क्रूसमा टङ्गाइएको एक अपराधीले क्षमा पाउँदछ र ख्रीष्टले उनलाई त्यही दिन नै उहाँसँगै ऊ पनि स्वर्गलोकमा हुनेछ भनी भन्नुहुन्छ। त्यस अपराधीले क्रूसबाट ओर्लेर बप्तिस्मा लिने अवसर त पक्कै पाएन। यो उदाहरणले पनि यस सत्यतालाई बुझ्न सजिलो पार्दछ कि साँच्चै पाप क्षमाको लागि बप्तिस्मा आवश्यक छैन। बप्तिस्माले मुक्ति दिँदैन। यसको मतलब बप्तिस्माको महत्व छैन भनेको भने होइन। बप्तिस्मा महत्वपूर्ण छ किनभने प्रभुले यसको आज्ञा गर्नुभयो र यसबाट हामी ख्रीष्टसँगको हाम्रो मृत्यु, गढाइ र बौरीउठाइको सार्वजनिक गवाहि दिन्छौं। तर हामी प्रष्ट हुनु आवश्यक छ कि कुनै पनि कामद्वारा मुक्ति कहिल्यै पाइँदैन। मुक्ति परमेश्वरको सित्तैको उपहार हो। यो त अनुग्रहको वरदान हो।