के मण्डली महासंकष्टकाल भएर जानेछ होला?

संसारमा हामीलाई संकष्ट हुनेछ भनी येशू ख्रीष्टले भन्नुभयो (यूहन्ना १६:३३)। साँच्चै आज संसारमा संकष्ट र विपत्तिहरू प्रशस्त छन्। यी सब संकष्ट र विपत्तिहरू महासंकष्टकालको समयमा उत्कर्षमा पुग्ने देखिन्छ। बाइबलले महासंकष्टकालको सात वर्षको अवधिमा भयानक विपत्तिहरू पृथ्वीमा हुने बताएको छ। प्रकाशको पुस्तकमा जब हामी यस सम्बन्धि विवरणहरू पढ्दछौं हामी बुझ्छौं कि आजको विपत्ति त केहि पनि होइन। अब प्रश्न यो आउँछ के विश्वासीहरू, के मण्डली त्यस महासंकष्टकालको समयमा पृथ्वीमा नै हुनेछन्?
यस सम्बन्धि विभिन्न विचारहरू र बुझाइहरू छन्। कतिले महासंकष्टकाल पछि मात्रै मण्डलीको उठाइ लगिने (rapture) कार्य हुन्छ भन्छन् (Post-Tribulation)। कतिले चाहिँ महांसकष्टकालको बीचमा मण्डली उठाइनेछ भनी बुझ्छन् (Mid-Tribulation)। अनि कतिले चाहिँ महांसकष्टकाल अघि नै मण्डली उठाइने छ भनी विश्वास गर्छन् (Pre-Tribulation)। यी तीन मध्ये कुन चाहिँ बाइबलीय हो त?
केहि बाइबलीय आधारहरू हेर्दा हामी निष्कर्षमा आउन सक्छौं।
१. महासंकष्टकालको समयलाई याकूबको संकटको दिन भनिएको छ। (यर्मिया ३०:७)
यो समय परमेश्वरले मण्डलीसँग भन्दा पनि इस्राएलसँग व्यवहार गर्ने समय हुनेछ।
२. मण्डली परमेश्वरको क्रोधबाट बचाइने प्रतिज्ञा दिईएको छ। (१ थेस्सलोनिकी १:९, १०; ५:९)
मण्डलीलाई अब क्रोधको आज्ञा छैन। महासंकष्टकालको समय यस संसारमा परमेश्वरको क्रोध खनिने समय हुनेछ।
३. पवित्र आत्मा महासंकष्टकाल अघि नै लगिनुहुने संकेत छ। (२ थेस्सलोनिकी २:५-८)
आज पवित्र आत्माले क्रोध खनिनबाट रोकिराख्नुभएको छ। जब उहाँ हट्नुहुन्छ तब क्रोध खनिनेछ। मण्डली उहाँसँगै लगिने छ।
४. महासंकष्टकालमा हुने परमेश्वरका जनहरू त्यस समयमा पश्चताप गरेकाहरू हुन सक्छन्। (प्रकाश १४:६)
महासंकष्टकालमा पनि केहि परमेश्वरका जनहरू पृथ्वीमा हुने संकेत छ। यी जनहरू त्यस समयमा पश्चताप गरेकाहरू हुन सक्छन् किनकी यस समयमा पनि पश्चतापको सन्देश दिईनेछ। दुई साक्षीहरू हुनेछन्, साथै १,४४,००० यहूदि प्रचारकहरू पनि।
५. मण्डली उठाइ लगिने (Rapture) तत्काल हुने घटना हो। (१ थेस्सलोनिकी ४:१७; ५:१२; लूका १७:३४-३७)
मण्डलीको उठाइ लगिने कार्य अब जुन सुकै बेला हुन सक्छ भनी बाइबलले सिकाउँदछ। राति चोर आएझैं अथवा थाहा नभएको समयमा, अचानक उठाइ लगिने कार्य हुनेछ। यसको अर्थ महासंकष्टकाल अघि नै यो हुनेछ। किनभने यदि महासंकष्टकाल पछि मात्रै मण्डली उठाइ लगिने हो भने उठाइ लगिने समय अनुमान गर्न सकिनेछ; महासंकष्टकालको बीचमा हुने हो भने पनि समय अनुमान गर्न सकिनेछ। महासंकष्टकाल सुरूभएको सात वर्षपछि उठाइ लगिने हुनेछ भनी अनुमान गर्न सकिनेथ्यो। तर उठाइ लगिने समय अनुमान गर्न सकिँदैन, कसैलाई थाहा हुँदैन।
यसरी यी केहि बाइबलीय आधारहरू विचार गर्दा हामी बुझ्छौं कि मण्डली महासंकष्टकाल भएर जाँदैन। महासंकष्टकाल अघि नै मण्डली उठाइ लगिने देखिन्छ। तथापि आज मण्डलीलाई संकष्टहरू हुनेछ। संसार झन् खराब झन् खराब हुँदै गईरहेको छ। तसर्थ मण्डलीले ख्रीष्टको आगमनको प्रतिक्षा गर्दै, स्थिर भई ख्रीष्टको साक्षी कायम गर्नुपर्दछ।