ख्रीष्टको बौरीउठाइ
- Short Devotion
- April 12, 2021
- 0
- 1064
- 1 minute read
के साँच्चै येशू ख्रीष्ट बौरीउठ्नु भएकै हो? के मानिस मरेपछि बौरीउठ्न सक्छ र? येशू बौरीउठ्नुभएको प्रमाणहरू के छ? के कसैले उहाँ बौरीउठेको देखेको छ र? हामी मृत्युको छाँया जिउने मानिसहरूको लागि यस्ता प्रश्नहरू स्वभाविक र जाहेज लाग्न सक्दछ। तर बाइबलले प्रष्ट पार्दछ कि येशू बौरिउठ्नुभएकै हो!
रोमी ४:२५ मा लेखिएको छ, “जुन प्रभु येशू हाम्रा अपराधहरूका निम्ति सुम्पिइनुभयो, र हाम्रा धार्मिकताका निम्ति बौराइनुभयो।” यस पद अनुसार येशू हाम्रा ‘धार्मिकताका’ निम्ति बौराइनुभयो। अर्को शब्दमा भन्दा, येशू बौराइनुभएको हुनाले हामी धर्मी ठहरिन सम्भव भएको हो। यदि उहाँ बौराइनु नभएको भए हाम्रो धर्मी ठहराइ हुने थिएन। एक विश्वासीको धर्मी ठहराइ ख्रीष्टको बौरीउठाइमा आधारित हुँदछ। के साँच्चै ख्रीष्ट बौरीउठ्नुभएको हो त? यो प्रश्नको उत्तरको लागि अर्को प्रश्न गरौं – के साँच्चै तपाई धर्मी ठहरनुभएको छ त? के साँच्चै तपाईले नयाँ जीवन पाउनुभएको छ त?
एक ख्रीष्टियनको परिवर्तित जीवन ख्रीष्ट बौरीउठाइको महत्वपूर्ण र ठूलो प्रमाण हो। तपाई र मेरो नयाँ जीवन नै ख्रीष्ट बौरीउठाइको एक अचूक पुष्ठी हो। हामी एक समय पाप र अधर्ममा मरेकाहरू कसरी आफै नयाँ जीवनमा प्रवेश पायौं? कसरी नयाँ सृष्टि भयौं त? यो मानवीय कुरा होइन। ख्रीष्टको मृत्यु, गडाइ अनि बौरीउठाइद्वारा यो सम्भव भएको हो। मानिसहरू भन्लान् – “मरेर को जीवित भएको छ र?” उनीहरू प्रमाण खोज्छन्। प्रमाण हामी हौं! हामी मरेर बौरीउठेका छौं! ख्रीष्टसँगै मर्यौं, गाडियौं र नयाँ जीवनमा बौरी उठेका छौं। त्यसैले आज परमेश्वरले कुनै मरेकालाई जीवित पारेर संसारमा प्रमाणको लागि पठाउनु पर्दैन, पठाउनु हुन्न; संसारमा लाखौं प्रमाणहरू छन् – मरेकाबाट जीवित पारिएकाहरू धेरै छन् – उनीहरू नै प्रमाण हुन् – तपाई र म, हामी नै प्रमाण हौं! संसारले आज प्रमाण मागिरहेको छ। के तपाईको जीवनबाट प्रमाण देखिएको छ? गालिलका मछुवाहरूको जीवनबाट यति बलियो प्रमाण देखियो कि हजारौंले मुक्ति पाए। उनीहरूको जीवनबाट प्रमाणित भयो कि उनीहरू मरेको येशूलाई होइन तर जीवित येशूलाई पछ्याउँथे। आज यस संसारमा ख्रीष्ट बौरीउठाइको तपाई र म नै प्रमाणहरू हौं, साक्षीहरू हौं। के हाम्रो दैनिक जीवनबाट प्रमाण प्रस्तुत भईरहेको छ?