ख्रीष्ट जस्तै हुनु
- Short Devotion
- March 14, 2021
- 0
- 1226
- 1 minute read
हाम्रो जीवनको उद्देश्य के हो? हामी यस संसारमा किन छौं? धेरै मानिसहरू संसारको व्यर्थतामा उद्देश्यहीन भई रूमल्लिरहेका हुन्छन्। जब परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो उहाँले सिद्ध बनाउनुभयो। मानिस परमेश्वरको स्वरूपमा बनाईएको थियो। तर पापले कुरूपता ल्यायो। येशू ख्रीष्टको बलिदानद्वारा अब फेरि मानिस परमेश्वरसँगको मिलापमा आउन सक्छ र हरेक मुक्ति पाएकालाई “आफ्नै पुत्रको रूपमा ढाल्न” परमेश्वर चाहानुहुन्छ (रोमी ८:२८, २९)।
परमेश्वरले हामी हरेकलाई ख्रीष्ट जस्तै बन्ने उद्देश्य राखिदिनुभएको छ। कति महान् उद्देश्य! के हामी यस उद्देश्यमा सहमत छौं? कि हामी आफ्नै उद्देश्य, योजना, आकांक्षा पूरा गर्न चाहान्छौं? हामी कुन उद्देश्यमा अघि बढिरहेका छौं? हाम्रो उद्देश्य ख्रीष्ट हुनुपर्दछ!
धेरै मानिसहरू निम्न उद्देश्य लिएर जिईरहेका हुन्छन् – डक्टर बन्ने, ईन्जिनिएर बन्ने, पैसा धेरै कमाउने, आदि। जीविकाको लागि कुनै पेशा हुनु राम्रो हो तर हाम्रो जीवनको उद्देश्य महान छ! हामी ख्रीष्ट जस्तै बनिँदै जानु छ! ख्रीष्टको कोमलता, नम्रता, सत्यताको लागि साहास, पिताप्रतिको आज्ञाकारिता, पवित्र, दोषरहित जस्ता चरित्रहरू हामीमा क्रमश विकास हुनुपर्दछ। येशूलाई बाइबलमा हेर्दै हामी बद्लिँदै जान्छौं (२ कोरिन्थी ३:१८)। हिजोभन्दा आज, आजभन्दा भोलि बद्लिँदै हामी ख्रीष्ट जस्तै बनिँदै जान्छौं।
हाम्रो जीवन लक्ष्यहीन, उद्देश्यहीन छैन। खानु, पिउनु, रमाइलो गर्नु र एकदिन मर्नु – यति मात्रै हाम्रो जीवन होइन! हाम्रो जीवनको उद्देश्य ठूलो छ, अद्भूत छ – ख्रीष्ट जस्तै हुनु!